‘छोरा तिमी यस्तो बन्नु’

Image

विष्णु भट्टराई ‘तैंले कुरा मनमा नै राख्न जान्दिनस् के’, ‘तिमीले अलिअलि ढाँट्न जान्दिनाै के’, कुरा बनाउन पनि जान्दिनौं’, ‘तिमी अलि सोझी नै हौ के’,‘तिमी त देखेको बोल्दिन्छाै’, ‘तिमी त जसले जे भनेनी पत्याइहाल्छौ’, ‘यिनी त स्याङ्जाली जस्ती पनि छैनन’,‘तिमी छिट्टै विश्वास गर्छौ,‘अल्लि छिटो आत्तिनुहुन्छ,’ ‘अलिअलि कुरा बनाउन पनि जान्नुपर्छ’.......... यी र यस्ता कैयांै सुझाव दैनिकीका दौरानमा आइरहन्छन् । साथीभाइ र इष्टमित्रबाट कतिपय सुझाव र कति सुभेच्छाका रुपमा आएका यी कुराले मलाइ पटक पटक घोत्लाइ रन्छन् । यी सुझावले मलाइ बदल्ने प्रयास नगरेका होइनन्, तर पूर्ण रूपमा लागू गर्न सकेको छैन । ‘उहिले उहिलेको जमाना र अहिलेको जमानामा त आकाश पातालको फरक छ नि नानी,’ यो वाक्य यात्राको क्रममा भेटिएकी एक आमाको भनाइ हो । सोंचे, ‘हो नि साँच्ची नै, धेरै नै फरक छ, म हुर्किएको परिस्थिति र मेरो छोरा हुर्किरहेको समाज र समय ।’ मेरो बाल्यकाल र मेरो छोराको बाल्यकालमा आकाश जमीनको अन्तर छ भन्दा फरक नपर्ला । हामी आफ्ना आमाबुवा इष्टमित्र तथा आफन्तलाई गरिने व्यवहारका साथै सत्कारमा पनि अन्तर छ । पहिले पहिले घरमा पाहुना आउँदाको सत्कार छुट्टै थियो । सम्मान दिनुपर्ने, पाहुनालाई खुट्टैमा शिर निहुराई दर्शन गर्नुपर्ने, सँगै घरका सबैलाई पालैपालो दर्शन गर्नुपर्ने, शान्त बस्नुपर्ने, पाहुनाका अगाडि चित्त नबुझेपनि बुवाआमालाई प्रश्न गर्न नपाउने, पाहुनाले खाना खाइसकेपश्चातमात्र खाना खानुपर्ने, पाहुनालाई खाना खाने समयमा तामाको अम्खोरामा पानी भरेर, ‘खाना खान जानुस् अरे, भान्साबाट आमाले बोलाउनुभएको छ,’ भन्नुको पनि संस्कारैै अलग्गै । अहिलेका बालबालिका को आओस ?, को जाओस ?, उहासँग मेरो के नाता ?, कस्तो नातेदार ?, को आफ्नो ? को विरानो ? आफ्नो गृहकार्य गर्यो, फुर्सद भए मोबाइल चलायो, वा टिभी हेर्यो बस्......। ‘खुर्सानी चोर पनि चोर नै हो र लाख चोर्ने पनि चोर हो, चोर त चोर नै हो, यदि चोरी गरेको थाहा पाएँभने दुवै हात भाँचिदिन्छु,’ सानामा बुवाले सम्झाउनुहुन्थ्यो, ‘फलानाका छोराछोरीले यस्तो गलत काम गरे, भन्ने सुनें भने, म मेरा छोराछोरी पनि भन्दिन है ।’ यि माथिका वाक्य मेरो छोरा जस्तै म बालखै हँुदा आएका मेरा बुवामा यी सुझाव थिए कि तर्साएर सिकाउन खोजेका संस्कार थिए ? तर जे थिए मलाई सही बाटोमा हिँडाउने अस्त्र थिए । के ति सबै संस्कार अहिलेको समयमा पनि मैले दुरुस्तै लागु गर्छु भनेर लागू गर्न सकिएला ? तर एउटा कुरा पक्का हो, मैले संस्कारको रूपमा ग्रहण गरेका बुवाका सुझाव मेरालाई आदर्श वाक्य हुन्, जुन जीवनमा कति यात्रामा सचेत गराएका छन्, अहिलेसम्म ती शब्द कचक्क कुल्चिएर हिँड्ने दुस्साहन पनि गर्न सकिदैन, नानी देखि लागेको बानी’ न त हो । ‘झुठो बोल्नु अधर्म सराबर, अर्काको कुभलो सोच्नु पाप बराबर,’ बुवाआमाको वचन आशिर्वाद सरह लिइन्थ्यो । बाटोमा हिँडेको बटुवासँग पनि दुईपाइलासँगै हिँड्दा कति आत्मियता साटासाट गरिन्थ्यो । घोत्लन्छु, ‘ वर्तमानमा वर्षौसम्मसँगै बसेको साथी पनि विश्वासिलो मान्न नसकिने यो संसारमा खै कस्तो संस्कार दिएर हुर्काउने होला हाम्रा सन्तान ?’ धर्म, कर्म, पढाइ, लेखाइका साथै द्रुतगतिमा अघि बढिरहेको बदलिँदो विश्वव्यापीकरणका साथै कलियुगको वर्चश्व भइरहेको यो मोहजालमा के हाम्रा सन्तान हामीले भोगेजस्तो संस्कार र व्यवहारबाट जीवन जिउन सक्षम होलान् ? सत्यभन्दा झुठ धेरै बिक्छ, सामाजिक व्यवहार र सहयोगभन्दा आर्थिक लेनदेन धेरै टिक्छ, यो प्रतिष्पर्धात्मक समयमा नकारात्मक विकिरणले पार्ने शारीरिक र मानसिक असर र त्यसबाट सृर्जित परिवर्तनलाई के हाम्रो जस्तो आध्यात्मिक संस्कारले धान्ला त ? त्यसैले संस्कार भुल्नु हुँदैन र यहि नै हाम्रो संस्कार भनि सिकाएका कुनैपनि सही या कुनै गलत पनि हुनसक्छ । ‘संस्कारमा हुर्किएका हाम्रा छोराछोरीलाई पनि उस्तै सिकाउन खोज्दा दिन दुईगुणा र रात चारगुणाले परिवर्तित समयमा हाम्रा छोराछोरी हामी जस्तै सोझा र संस्कारी बनाउदा भविश्यमा झन दुःख त पाउदैनन् ?,’ यो एन्गलबाट सोंच्दा गलत होला र ? सही संस्कार सिकाउनपर्छ यो यथार्थ र सत्यपनि हो, हामी सबैले आफ्ना सन्तानलाई आफू गलत भएपनि सही संस्कार दिनुपर्छ भन्ने मान्यता राख्छौं, तर हाम्रै संस्कारमा रहिरहने समय छ त ? सबै बदलिँदा हाम्रो संस्कार, सोंच, परिस्थिति, व्यवहार पनि परिवर्तन भए होलान् नि ? त्यसैले त भन्न मन लाग्छ, ‘छोरा, तिमिले देखेको तिम्रा बुवाआमाको जस्तो सरल, सहज, सौहार्द र पारिवारिक जीवन सृजना गर्न तिम्रा आमाबुवाले सयौं हन्डर र ठक्कर पश्चात मात्र प्राप्त भएको हो । पैसा चाहियो, एटीएमबाट झिक्यो, सामान चाहियो, पसलमा गयो र ल्यायो, जस्ता सरल लाग्ने तिम्रा आमाबुवाका दैनिकी त्यति सहज छैनन्, यो त तिमीले महसुस गर्न पनि सक्छौ, तिमीले योभन्दा पनि उत्कृष्ट जीवनको कल्पना गरेका हौला, तर त्यसका लागि तिमीले आफ्ना आमाबुवाले खाएको ठक्करभन्दा हजारौं हण्डर र लाखा ठक्कर खानुपर्ला । हाम्रा आदर्शवान संस्कारले तिमीलाई सफल बनाउन सहजता प्रदान त अवश्य गर्ला तर मेहनत तिम्रो हातमा हुनेछ ।’ तिमो उर्जावान शरीरमा शारीरिक बल अवश्य होला, तर तिमी मानसिक रूपमा पनि स्वस्थ हुनुपर्नेछ र रहिरहनुछ, त्यसका लागि तिमीले, ‘खुशी आफ्नो हेर्नु अरुको खुशी नखोस्नु, ‘सम्पति र सुखमा सुख रोज्नु’,‘सहकार्य सबैसँग गर्नु, तर विश्वास कसैलाई नगर्नु’,‘संस्कार बचाउनु तर अन्धविश्वासी नबन्नु,’‘मन र मन्तिष्कको दन्द चलिरहँदा मनको कुरा सुन्नु,’‘नचोर्नु’,‘नढाँट्नु, तर “सोझो नबन्नु”आध्यात्मिकता र संस्कार अवश्य पालना गर्नु, ध्यान गर्नु, सकारात्मक र ऊर्जावान हुनु, ‘धनको सोझो गर्नु, तर मनको सोझो कहिलै नहुनु ।’  

Tags: