नागछाँगाको प्रवद्र्धन गर्न मेला

Image
भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल नागछाँगाको प्रवर्द्धनका लागि मेला लगाइने भएको छ । पर्याप्त प्रचार–प्रसार नहुँदा अनौठो प्राकृतिक स्वरुप रहेको यो स्थान ओझेलमा परेसँगै यसको प्रवर्द्धन गर्नका लागि मेला लगाउन लागिएको हो । वडा नं २ धोद्लेखानी र वडा नं ६ को सिमनामा पर्ने यो स्थानमा यही भदौ ४ गते मेलाको आयोजना गरिएको हो । प्रत्येक वर्षको नागपञ्चमीका दिन मेला लगाउने निर्णयसहित यो वर्षको लागि मेलाको तयारी गरिएको रामप्रसादराई गाउँपालिका–६ का वडाध्यक्ष एकराज आचर्यले जानकारी दिए । यहाँका दुई वडालाई समेटेर नागछाँगा संरक्षण एवं मेला व्यवस्थापन समिति गठन गरिने वडाध्यक्ष आचार्यको भनाइ छ । यहाँसम्म पुग्ने बाटोलाई श्रमदानमार्फत मर्मत तथा सरसफाइ गरिने वडाध्यक्ष आचार्यले बताए । नागछाँगा, गङ्गाखोला, गोल्मेभिर, थामडाँडा लगायतका धार्मिक र पर्यटकीयस्थलको प्रचार–प्रसारमा वडा कार्यालयले काम गरिएको उनको भनाइ छ । नागछाँगाको किंवदन्तीको खोज तथा अनुसन्धान गरिरहेको वडाध्यक्ष आचार्यको भनाइ छ । ‘परापूर्वकालमा सक्कली नाग बस्ने गरेको किंवदन्ती पनि छ,’ उनले भने, ‘नजिकै रहेको गोल्माराजा गोल्मा रानीको भिरको राक्षस आएर मार्न खोजेपछि नाग अलप भएको बूढापाकाले बताउने गरेका छन् । यसको किंवदन्तीको खोजीमा लागेको छौँ । ढुङ्गाभरि नागको चित्र देख्न सकिने यो ठाउँमा दर्शन गरे मनोकाङ्क्षा पूरा हुने स्थानीयको भनाइ छ । ढुङ्गाभरि जेलिएका नागको चित्र देखेर जो–कोही पनि अचम्मित हुने गरेका छन् । हेर्दा नै अनौठो लाग्ने यो ठाउँले सबैको मन लोभ्याउने गरेको छ । गाउँपालिकाले यसको विकाससँगै यसको अन्य तथ्यको विषयमा खोजी गर्ने जनाएको छ । स्थानीयको धार्मिक आस्थाको ठाउँ रहेकाले नागछाँगालाई धार्मिक पर्यटकस्थलका रूपमा विकास गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए । नागछाँगा सरमुकामबाट करिब एक दिनको पैदल दूरीमा अवस्थित छ । यो छाँगाको उचाइ करिब ६० मिटर रहेको गाउँपालिकाले जनाएको छ ।
Tags: