रमेश खड्काको ‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’

Image
काठमाडौं – लेखक, अनुसन्धाता तथा सम्पादक रमेश खड्काको ‘थाइल्याण्डमा नेपालीहरूको इतिहास’ पुस्तक लोकार्पण गरिएको छ । बिहीवार काठमाडौँमा आयोजित कार्यक्रमकाबीच प्रमुख अतिथि डा. जगमान गुरुङलगायतले सो पुस्तकको सामूहिक लोकार्पण गरेका हुन् । थाइ नेपाली संघ, थाइल्याण्डले आयोजना गरेको सो कार्यक्रममा संघका अध्यक्ष वासना राईको सभापतित्व रहेको थियो । कार्यक्रमको अतिथिका रूपमा प्रा.डा. श्रीरामप्रसाद उपाध्याय, थाइल्याण्डका लागि नेपाली निवर्तमान राजदूत गणेशप्रसाद ढकाल, समीक्षक डा. दिनेश भट्टराई, समीक्षक प्राध्यापक रामाकृष्ण रेग्मी, इन्स्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारी, संघका पूर्वअध्यक्ष तथा संरक्षक कुमार कार्की, कलाकार मिथिला शर्मा, गायक दीप श्रेष्ठ लगायत रहेका थिए । थाइल्याण्डमा नेपाली आप्रवासीहरूको इतिहासदेखि वर्तमानसम्मको कथा समेटिएको खड्काको यो पुस्तक नेपाली र अंग्रेजी दुवै भाषामा एकैसाथ प्रकाशित गरिएको छ । साथै १२६ ओटा फोटो स्टोरीको अर्को पुस्तक पनि सँगै लोकार्पण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. जगमान गुरुङले खड्काले अनुसन्धान गरेर थाइल्याण्डमा बस्ने नेपालीको इतिहास उजागर गरेकोमा बधाई दिए । उनले थाइल्याण्डको प्राचीन नाम संस्कृतको शब्द श्यामबाट सियाम रहेको उल्लेख गरे । थाइल्याण्डमा धेरैले बौद्ध धर्म माने पनि अधिकांश व्यक्तिका नाम भने हिन्दू र संस्कृतमा आधारित भएकोले समीश्रण रहेको उनले उल्लेख गरे । ‘पहिले पहिले ताइ भने पनि अहिले थाइ भनिएको र ताइको अर्थ स्वतन्त्र वा स्वच्छन्द हुने भन्ने हुन्छ,’ उनले भने । कार्यक्रमका अतिथि तथा इन्स्ट्रा फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले यो पुस्तकले थाइल्याण्ड र म्यानमारका नेपाली अन्यत्रबाट नभइ नेपालबाटै गएको पुष्टि गरेको बताए । पुस्तकले विश्वभरिका प्रवासी नेपालीलाई जोड्ने भन्दै नेपाल र नेपालीलाई एकरुपता ल्याओस्, समानता होस्, सम्मान होस् भन्ने कुरा पुस्तकले बोलेको उल्लेख गरे । इतिहासबाट वर्तमानले धेरै कुरा सिक्न सक्ने भन्दै उनले यो पुस्तकले पनि अहिलेका पुस्तालाई सिक्ने मौका भएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै कलाकार मिथिला शर्माले यो पुस्तक नेपाल र नेपालीलाई जोड्ने कोशेढुङ्गा भएको उल्लेख गरिन् । थाइल्याण्डमा बसोबास गरेका नेपालीको चिनारी पनि पुस्तकले प्रस्तुत गरेको उनको भनाइ थियो । यो थाइल्याण्डको इतिहास पुस्तकले अघिल्लो पुस्तालाई सम्मान गर्दै अहिलेको र अगामी पुस्तालाई जोड्ने बताइन् । कलाकार दीप श्रेष्ठले विश्वभरि छरिएर रहेका नेपाल र नेपालीलाई संगीत, कला, साहित्य, भाषा, संस्कृतिले जोड्ने बताउँदै प्रवासमा त्यसको विकासका लागि आफूले सकेको सहयोग गर्न तत्पर रहेको बताए । थाइल्याण्डका लागि नेपाली निवर्तमान राजदूत गणेशप्रसाद ढकालले लेखक खड्का थाइल्याण्डका नेपालीको इतिहासलाई लिपिबद्ध गरेर बधाईको पात्र बनेको उल्लेख गरे । यो पुस्तकले दुई देश र दुई देशका नागरिकबीचमा पुलको काम गर्ने उनले बताए । प्रा.डा. श्रीरामप्रसाद उपाध्यायले नेपालको शान्ति क्षेत्र प्रस्तावलाई थाइल्याण्डले पहिलो समर्थन गरेको उल्लेख गरे । पुस्तकले नेपाल र नेपालीको इतिहासलाई जोडेको पनि उनले बताए । पुस्तकको समीक्षा गर्दै डा. दिनेश भट्टराईले यो पुस्तकले थाइल्याण्डका नेपालीहरुको इतिहास र वर्तमानलाई जोडेको उल्लेख गरे । उनले ९ भागमा विभाजित पुस्तकले थाइल्याण्डमा लुकेर रहेको नेपालीको इतिहासलाई उजागर गरेको बताए । पुस्तक खोजमूलक रहेको भन्दै उनले हराउन लागेका सन्दर्भलाई लेखक खड्काले खोजेर लिपिबद्ध गरेको बताए । ‘यो पुस्तकमा नेपालीको रगत र पसिनाले भिजेको पिलोकको वस्तुस्थिति उल्लेख छ’ उनले भने । अर्का समीक्षक प्राध्यापक रामाकृष्ण रेग्मीले यो पुस्तकको कन्सेप्टदेखि प्रिन्टसम्म ल्याउन धेरै रिसर्च गरिएको उल्लेख गरे । मान्छेको माटोसँगको सम्बन्ध उजागर गर्न यस्ता पुस्तक चाहिने भन्दै नेपालीले थाइल्याण्डमा गरेको दुख र नेपालीको परिचय पुस्तकमा पाइने बताए । पुस्तकमा थाइल्याण्डको पिलोक भन्ने ठाउँमा नेपाली कसरी पुगे ? कसरी दैनिकी गुजारा गरे ? र अहिलेको अवस्था के छ ? जस्ता कुरा खोतलिएकोले पुस्तकको नाम नै पिलोक राख्न पनि सकिने उनको भनाई थियो । ‘पुस्तकले पुर्खाले हिँडेको बाटो देखाएको छ । आफ्ना कला, भाषा, साहित्य, संस्कृतिको कसरी संरक्षण भएको छ भन्ने कुरा देखाउको छ’ उनले भने । थाइल्याण्डका नेपालीको नेपालीपन देखाउने पुस्तक भन्दै उनले प्रशंसा गरे । लेखक खड्काले पुस्तक प्रकाशन गर्ने ठूलो अवसर दिएकोमा थाइ नेपाली संघप्रति धन्यवाद ज्ञापन गरे । नेपालको सीमाना मेची–महाकाली मात्रै नभएर विश्वका कुनाकुनासम्म फैलिएको उनले उल्लेख गरे । पुस्तकमा थाइल्याण्डका ३–४ सय जना मानिससँग प्रत्यक्ष भेटेर मौखिक इतिहासलाई समेटिएको उनले बताए । ‘नेपालीले थाइल्याण्डसम्म हिडेर गएर ४० वर्षसम्म अनागरिक बनेको दुःख पुस्तकमा समेटेको छु’ उनले भने । नेपालीले पिलोकमा खानी उत्खनन् गरेपछि नै थाइ सरकारले खानी विभाग स्थापना गरेको सन्दर्भ पनि उनले उल्लेख गरेका थिए । कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष तथा थाइ नेपाली संघकी अध्यक्ष वाड्सना राईले निक्कै मिठो थाइ लवजमा नेपाली भाषामै सम्बोधन गरेकि थिइन् । उनले यो पुस्तक थाइल्याण्डबासी नेपालीको इतिहास भएको बताइन् । इतिहास मेटिए हामी मेटिन्छौं भन्दै उनले हाम्रा पुस्ता कसरी थाइल्याण्ड पुग्नुभयो भन्ने कुरा पछिल्लो पुस्तालाई जानकारी दिन यो पुस्तक सफल हुने बताइन् । थाइल्याण्डमा भएका नेपालीहरुको विगत र वर्तमान जान्न पनि यो पुस्तक पढ्न उनले सबैलाई आग्रह गरिन् । थाइल्याण्डमा भएका सबै नेपाली एक पटक आफ्नो पितृभूमि नेपाल आउन चाहेकोले सहज गरी आउने वातावरण बनाइदिन पनि उनले नेपाल सरकारसँग आग्रह गरिन् ।
Tags: