डा. कर्टको धन्दामा धक्का, काउन्सिलको निर्देशन, ‘योग्यता अनुसार तोकिएको काम गर’

Image
दीपा रेग्मी, काठमाडौं – डाक्टर कर्टका नामले परिचित डा. दिलजान मन्सुर र उनको क्लिनिकले गैरव्यावसायिक र स्थापित वैज्ञानिक मान्यता विपरित काम गरेको नेपाल मेडिकल काउन्सिलले ठहर गरेको छ । काठमाडौंको मैतिदेवीमा ‘एफडीएच क्लिनिक’ सञ्चालन गर्दै आएका डा. कर्टको सेवा प्रभावकारी नभएको भन्दै उजुरी परेपछि उनी छानविनमा तानिएका थिए । मैतीदेवीमा एफडीएच नामको क्लिनिक सञ्चालन गर्दै आएका डा. मनसुरले चिकित्सक तथा डाइटिसियन भनेर गैरव्यावसायिक काम गरिरहेका भन्ने उजुरीका आधारमा नेपाल मेडिकल काउन्सिलले खाद्य विज्ञकोरूपमा काम नगर्न आधिकारिक निकायले तोकेको काम गर्न र सोही अनुसार शुल्क तोक्न निर्देशन दिएको छ । उनले उपचारमा आएका सबैबिरामीलाई एउटै कक्षमा राखी स्थापित वैज्ञानिक मूल्य मान्यता विपरित एकै प्रकारको परामर्श गरेको, सबै प्रकृतिका बिरामीको लागि एउटै भोजन योजना ( डाइट प्लान) दिएको, अन्य चिकित्सकले सिफारिश गरेका औषधिहरू बिना तथ्य घटबढ गरेको ठहर काउन्सिलको छ । उनले काउन्सिलले जारी गरेको प्रिस्केप्सन गाइडलाइन पालना नगरेको, निज चिकित्सकले गरेका उपचारमा कुनै स्थापित वैज्ञानिक सिद्धान्त अनुरुप नरहेको, सबै बिरामीलाई शारीरिक तौल घटाउन स्थापित बिधी किटो डाइट सिफारिश गरेको, दीर्घ रोगीको औषधि रोकिनाले क्षति हुनसक्ने देखिएको र निजको उपचार विधीले विरामीलाई अपुरणीय क्षति हुने सम्भावना देखिएको विज्ञको रायका काउन्सिलले ठहर गरेको छ । काउन्सिलले डा. मन्सुरलाई वैज्ञानिक मूल्य मान्यता अनुरुप उपचार गर्न गराउन, गैरवैज्ञानिक उपचार पद्दति रोक्न, सामूहिक नभइ व्यक्तिगत परामर्श दिन, बिरामीलाई दिएको निर्देशन अभिलेखिकरण गर्न समेत निर्देशन दिएको छ । उनले आफ्नो क्लिनिकमा २५ देखि ३० जना एकै ठाउँ जम्मा गरेर १ घण्टा क्लास दिने र त्यसकै आधारमा डाइट प्लान सिफारिश गर्दै आएका थिए । पीडितहरूले उनको परामर्श पछि झनै डरलाग्दो स्वास्थ्य समस्या देखिएको बताउँछन् । उनले परामर्श वापत प्रतिव्यक्ति १० हजार रुपैयाँ र ल्याब टेस्टको ६ हजार लिने गरेका थिए ।
Tags: