एमबिबिएस अध्ययन गर्न १० लाख छात्रवृत्ति

Image
दार्चुला – मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९/८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई रु १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने भएको हो । गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भएको, गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेको एक उत्कृष्ट विद्यार्थीलाई एमबिबिएसमा छात्रवृत्ति उपलब्ध गराइने छ । गाउँपालिकाले स्तरोन्तति भएर १० शैय्याको अस्पतालको रुपमा स्तरवृद्धि भएको लटिनाथ स्वास्थ्य चौकीमा अढाई वर्षभित्र भवन निर्माण गर्ने भएको छ । गाउँपलिकाभित्रका स्वास्थ्य चौकी भवन दुई वर्षभित्र निर्माण सम्पन्न हुने नीति तथा कार्यक्रममा उल्लेख छ । अस्पतालको प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टललगायत सुविधा सुदृढीकरण गर्दै लग्ने उल्लेख छ । हरेक गाउँमा विशेषज्ञसहितको घुम्ती सेवा सञ्चालन गरिने गाउँपालिकाले नीति लिएको छ ।
Tags: