टाइगर प्यालेस रिसोर्टमा नयाँ व्यवस्थापन

Image
काठमाडौं– रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाइगर प्यालेस रिसोर्ट अब हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले सञ्चालन गर्ने भएको छ । गैरआवासीय नेपालीहरूले अष्ट्रेलियाली कम्पनीको सिल्भर हेरिटेज लिमिटेडको सम्पूर्ण स्वामित्व लिई नयाँ व्यवस्थापनका साथ रिसोर्ट सञ्चालन गर्न लागेका हुन् । यसअघि रिसोर्ट अष्ट्रेलियाली कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडले लगानी गरी सञ्चालन गर्दै आएको थियो । सो अष्ट्रेलियाली कम्पनीले यो रिसोर्ट सञ्चालन गर्न तथा क्यासिनो व्यवसाय गर्ने क्रममा नेपालमा करीब रू. ५ अर्ब लगानी गरेको बताइएको छ । रिसोर्ट र यसमा सञ्चालित क्यासिनोमा करीब एक हजार नेपालीले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ । प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालन भएको यो रिसोर्ट बन्द हुने अवस्थामा पुगेकोले सबै शेयर खरीद गरी नयाँ व्यवस्थापनका साथ रिसोर्ट सञ्चालनमा ल्याइएको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकका अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए । कम्पनीका सञ्चालक दीपकदत्त गौतमले अब नयाँ व्यवस्थापनसहित टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न लागेको बताए । बन्द हुने अवस्थामा पुगेको रिसोर्ट विदेशिएका नेपालीले जन्मभूमिप्रतिको दायित्वबोध गरी खरीद गरेको उनको भनाइ छ । पर्यटनको प्रचुर सम्भावना भएर पनि टाइगर प्यालेस रिसोर्ट जस्ता ठूला लगानीका पर्यटन उद्योग धराशयी उन्मुख हुनु राष्ट्र, पर्यटन क्षेत्र र लगानीकर्ताका लागी सुखद नभएको अध्यक्ष सुवेदीले बताए । उनले भने, ‘नेपालको आर्थिक विकासका लागि पर्यटन उद्योगको ठूलो भूमिका भएकाले हामी केही गैरआवासीय नेपालीले यो रिसोर्टमार्फत पर्यटन क्षेत्रको विकासमा एउटा इँटा थप्न चाहेका छौं ।’ टाइगर प्यालेस रिसोर्ट सञ्चालन गर्न आफूहरूलाई अनुमानित रू. ४ अर्बको दायित्व वहन गर्नुपर्ने अवस्था आएको सञ्चालक गौतमले जानकारी दिए ।
Tags: