अचार उत्पादनबाट मनग्य आम्दानी

Image
टीकापुर – कैलालीको टीकापुरमा व्यावसायिक रूपमा मस्यौरा र गुन्द्रुक उत्पादन गर्दै आएका महिला उद्यमीले अचारसमेत उत्पादन थालेका छन् । उनीहरूले यसपटक आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन् । यसका साथै उनीहरु तामा, निउरो, हरियो खुर्सानी, करेला, मेथी, कुखुरा र सिद्राको अचार उत्पादनमा व्यवस्त छन् । यसरी दैनिक ५० किलो अचार उत्पादन हुने गरेको महिला उद्यमी कल्पना जैशीले बताउनुभयो । ‘आँपको अचार सबै विक्री भयो,’ उनले भनिन्, ‘दैनिक ५० किलो अचार उत्पादन गर्छाैं, मागअनुसारका अचार उत्पादन गर्ने गरेका र्छौं ।’ चाँडै अनुमतिपत्र पाएपछि उत्पादन बढाएर अन्य जिल्ला पठाउने जैशीको योजना छ । उनले भनिन्, ‘दैनिक २०÷२५ महिलालाई रोजगारी दिने योजना छ ।’ यहाँ उत्पादन भएको अचार, सिन्की र गुन्द्रुक काठमाडौँ, नेपालगञ्जजस्ता सहरदेखि बर्दिया, सुर्खेत, कञ्चनपुर र टीकापुरका विभिन्न मार्टमा बिक्री हुने गरेको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर गत मङ्सिरदेखि मालिका उद्यमी कम्पनीमार्फत मस्यौरा र गुन्द्रुक उत्पादन थालेका छन् । उनीहरूले आठ क्विन्टल मस्यौरा उत्पादन गरिसकेका छन् । हालसम्म झण्डै पाँच क्विन्टल विक्री भइसकेको जैशीले बताइन् । यसैगरी दुई क्विन्टल गुन्द्रुक र साढे तीन क्विन्टल सिन्की उत्पादन भएको छ । सिन्की र गुन्द्रुक सबै विक्री भइसकेको छ । पहिलोपटक उत्पादन शुरू गरिएका कारण मागअनुसार सिन्की र गुन्द्रुक उत्पादन गर्न नसकिएको सिर्जना पण्डितले बताइन् । “शुरुआत भएका कारण कच्चा पदार्थ जुटाउन नसक्दा मागअनुसार उत्पादन गर्न सकेनौं,’ उनले भनिन्, ‘सिक्दैछौं, उत्पादन बढाउँदै जान्छौं ।” गुणस्तरमापनका लागि उनीहरूले खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीमा पठाउने गरेका छन् । मस्यौरा बनाउनका लागि मेसिन प्रयोग हुन्छ । पिडालु छिल्ने, पिडालु मसिनो बनाउने, मास पिस्ने, पिडालु र मास मिक्स गर्ने र तयार भएको मस्यौरा सुकाउने गरी पाँच मेसिन भारतको दिल्लीबाट ल्याएका हुन् । मस्यौरा तयार गर्ने मेसिनमा रू. १३ लाख बढी खर्च भएको छ भने सिन्की परम्परागतरूपमै तयार गर्ने गरिएको छ । सत्र महिलाले रू. एक–एक लाख लगानी गरी उद्योग सञ्चालन गरेका हुन् । महिलाले उद्योग सञ्चालन गरेपछि यस क्षेत्रका किसानको मुला, पिडालु र मासले मूल्य पाएको छ । यसपटक मुला उत्पादक किसानले सोचेभन्दा राम्रो नाफा कमाउन सफल भएका छन् । विगतमा तरकारी खेती गरेर बजारको समस्या भोगेका जानकी गाउँपालिकाको सुवर्णपुरका चित्रबहादुर चौधरीले तरकारीको मूल्य न्यून पाए पनि बजारको समस्या नभएको बताए । महिलाले उत्पादन गरेका सामान व्यापार महासंघले बजारीकरण गरिदिने भएको छ । उद्योगमा लगानी बढाउने, धेरै उत्पादन गर्ने, ठूला उपकरण थप्ने महिला उद्यमीको योजना छ ।’ रासस
Tags: