१३,६६९ तरकारीका नमुनामा ६९ मात्र खान अयोग्य

Image
प्रेम सिंह काठमाडौं – आर्थिक वर्ष २०७९/८० मा ६९ तरकारीका नमुनामा खान अयोग्य भेटिएका छन् । केन्द्रीय कृषि प्रयोगशालाका अनुसार वर्षभरीमा गरिएका १३ हजार ६६९ नमुना परीक्षणमा उक्त संख्यामा खान नमिल्ने परिमाणमा विषादी भेटिएको हो । जुन परीक्षणको शून्य दशमलव ५० प्रतिशत हो । परीक्षणमा खान नमिल्ने वर्गलाई प्रयोगशालाले रातो संकेत दिने गरेको छ । विषादी जाँच हुने कालीमाटी, बुटवल, नेपालगन्ज, अत्तरिया, बिर्तामोड, पोखरा र सर्लाही एकाइमा यो अवधिमा गरिएको परीक्षणमा ३४ नमूना रोकेर खान मिल्ने अथवा पहेलो वर्गमा परेका छन् । प्रयोगशालाका अनुसार एकाइमा अर्गानोफस्फेट र कार्बामेट गरी दुई समूह अन्तर्गतका विषादी जाँच हुन्छ । यो परीक्षणले एसिडाइल कोलिन्स्ट्रेन इन्जाइमको रोकावट दर पत्ता लगाउँछ । सामान्यतया इन्जाइमको रोकावट प्रतिशत ३५ प्रतिशतसम्म खानयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा माथिको तरकारी तथा फलफूल उपभोग गर्न नमिल्ने बुझिन्छ। जसलाई क्रमशः हरियो, पहेँलो र रातो गरी तीन समूहमा छुट्ट्याउने गरिन्छ । यो अवधिमा सबैभन्दा बढी नमुना जाँच गरिएको कालीमाटीमा रातो समूहको परिणाम २६ छ । प्रयोगशालाका बाली संरक्षण अधिकृत विवेक सुनारले कालीमाटीमा यो अवधिमा २५३३ नमुना जाँच गरिएको बताए । उनले कालीमाटी पछि धेरै जाँच भएको अत्तरियामा १६ नमुना रातो समूहमा छ, जहाँ २५६१ नमुना परीक्षण गरिएको थियो । सर्लाहीमा यो अवधिमा खान नमिल्ने विषादी शून्य भेटिएको छ भने बुटवलमा खान अयोग्य विषादीको मात्रा एउटा नमुनामा भेटिएको छ । यो अवधिमा सर्लाहीमा १२९७ र बुटवलमा २०६० नमुना परीक्षण भएको थियो । यो अवधिमा पोखराको एकाइमा १४२७ नमुना जाँच गरिएकोमा १२ ओटा खान अयोग्य भेटिएको छ । त्यस्तै, १०९५ नमुना जाँच भएको नेपालगञ्जमा १० नमुना खान अयोग्य भेटिएका छन् । २६९६ नमुना परीक्षण भएको नेपालगञ्जमा ४ ओटा नमुना खान अयोग्य भेटिएको सुनारले बताए । अघिकृत सुनारले प्रयोगशालाले परीक्षण गरिने अर्गानोफस्फेट र कार्बामेट मानव स्वास्थ्यको लागि अन्यभन्दा घातक भएको र जसलाई नेपालमा प्रतिवन्ध लगाइएको बताए । ‘धेरै थोरैभन्दा पनि प्रतिबन्ध लगाइएको विषादी भेटिनु गम्भीर कुरा हो, परीक्षणको उद्देश्य त्यस्ता विषादीको प्रयोग शून्यमा झार्न पहल गर्नु हो,’ उनले भने । यो बाहेकका विषादी पनि जाँच गर्न आवश्यक देखिए पनि प्रविधि, जनशक्ति र लगानीका कारण संभव नभएको र प्रयोगशालाले अन्य विषादी जाँचको योजना बनाइरहेको बताए ।
Tags: