जनसहभागितामा फरक मोडलमा काम गर्छौं : अध्यक्ष थापा

Image
काठमाडौं महानगरपालिका देशकै संघीय राजधानी भएको स्थानीय तह हो । धेरै जनसंख्या, नागरिकका धेरै अपेक्षा र व्यवस्थापनका चुनौतीका बीच स्थानीय तहले काम गरिरहेको छ । काठमाडौं महानगरमा ३२ ओटा वडा छन् । जसले स्थानीय तहले पाएको अधिकारलाई प्रयोग गर्दै काम गरिरहेका छन् । त्यसैमध्ये एक हो । महानगरको ३२ नम्बर वडा । वडाको नेतृत्व गरिरहेका अध्यक्ष प्रेम थापा महानगरको ठूलो वडाको रूपमा रहेको ३ नम्बर वडालाई नमुना वडा बनाउने गरी काम गर्दै आएको बताउँछन् । सबल नेपालकर्मी दीपा रेग्मीले थापासँग वडा सञ्चालनका विभिन्न सवालमा रहेर कुराकानी गरेकी छिन् ।
  •  गएको एक वर्ष वडामा के के उल्लेखनीय काम भए ?

हामी निर्वाचित भएर आएपछि गत आर्थिक वर्ष २०७९/८० मा हाम्रो वडालाई पूर्वाधार निर्माणमा सवल र सपन्न बनाउनुपर्छ भनेर अभियान सञ्चालन गरेका थियौं, अभियानमा लगभग सफल पनि भएका छौं । यो अवधिमा हामीले १६० पूर्वाधारका योजना सम्पन्न गरेका छौं । जसमा सडकमा ढल हाल्ने, सडक कालोपत्र, खानेपानी योजना, सडक बत्ति, सडक हरियाली बनाउनको लागि वृक्षरोपण लगायतका काम सम्पन्न गरेका छौं । हामीले यस वर्षको लागि शिक्षा, स्वास्थ्य र वातावरणका सवाललाई प्रमुखताका साथ प्राथमिकतामा दिन्छौं । यस वर्ष केन्द्रीयस्तरका योजना र वडास्तरका योजना गरी करीब १०० योजना अगाडि बढाउँदै छौं । जसको कार्यान्वयन प्रक्रियाका लागि भदौ महीनामा टेण्डर प्रक्रियामा गएर लैजान्छौं ।
  • विकासमा समुदायको सहभागितालाई कसरी सुनिश्चित गर्नुभएको छ ?

हामीले हिजोभन्दा फरक मोडलमा वडामा काम गर्छौं भनेर मतदाता माझ गएका थियौं र त्यसै अनुसार गर्यौं पनि । विशेष गरी वडाको विकासमा लागि समुदायको राय लिने र समुदायको सिफारिसका आधारमा योजना अगाडि बढाउने अवधारणा ल्याएका थियौं । त्यसै अनुसार योजना अगाडि सारेर अधिकांश काम पूरा गरेका छौं भने केही पूरा हुने चरणमा छन् । वडास्तरमा योजना ८० प्रतिशत काम सम्पन्न गरेका छौं । केन्द्रीयस्तरका योजनामा टेण्डर प्रक्रिया लगायतका जटिलतामा कारण केही ढिलिन पुगेका छन् ।
  • महानगरभित्रको वडा भएका कारण काम गर्ने चुनौती कति महसुस गर्नुभएको छ ?

महानगरपालिका ३२ ओटा वडा छन् , जसलाई सानो, मझौला र ठूला वडा गरेर वर्गीकरण गरिएको छ । हामी ठूलो वडाको प्रतिनिधित्व गर्छौं । हामीले खासै गाह्रो अनुभूति गरेका छैनौं । ठूलो वडा र जनसंख्या पनि धेरै छ र एरिया पनि ठूलो छ । नागरिकले सुविधा लिने संस्थाको रूपमा रहेका २२ ओटा अस्पताल हाम्रो वडामा छन् । ३८ ओटा स्कूल कलेजहरू छन् । यसैलाई आधार मानेर हामीले काम अगाडि बढाइरहेका छौं ।
  • महानगरको मेयर स्वतन्त्रबाट प्रतिनिधित्व गर्नुहुन्छ, यहाँहरू दलबाट, समन्वयमा केही अफ्ठ्यारा छन् ?

स्वतन्त्र र पार्टीबाट निर्वाचित हुनु भनेको निर्वाचित हुँदाका प्रक्रिया मात्र हो । निर्वाचित भइसके पछि हामी सबै स्वतन्त्र भएर जनताको सेवा गर्ने हो, हामीले त्यही गर्दै आएका छौं । मेयर ज्यू स्वतन्त्रबाट भएपनि हामीलाई काम गर्न गाह्रो छैन । सबैकुरा योजनावद्ध हिसावले अगाडि बढेको छ । हामीले बोर्डमा छलफल गर्छौं, म आफू पनि विपत् व्यवस्थापन समितिको संयोजक, बजेट कार्यक्रम तथा तर्जुमा समितिको सदस्य समेत भएको नाताले बजेट योजना बनाउँदा दफावार छलफल भएर सर्वसम्मत पारित गरेका छौं । मेयरसँग सुमधुर सम्बन्ध कायम भएको छ । कुनै खालको मनमुटाव छैन ।
  • कतिपय अवस्थामा नागरिकको आक्रोश पनि देखिन्छ,जस्तो भ्रखरै सामाखुसी खोलाको केसमा पनि त्यस्तै देखियो, यस्ता काम स्थानीयसँग समन्वय गरेर किन हुन्नन ?

हामीले स्थानीयहरूसँग सल्लाहा गरेर सामाखुसीको मुख्य सडकको स्ल्याब हटाएर सफा गरेका हौं । खोलामा ढल बग्ने भयो, दुर्गन्धित भयो भनेर स्थानीय कै मागको आधारमा हामी अगाडि बढेका हौं । अभियान शुरूगर्दा वर्षा लागेको थिएन तर बीचमा केही कानूनी जटिलता आएको हुनाले एक महिना काम रोकियो र अहिले काम शुरू गर्दा वर्षा लाग्यो र केही जटिलता देखिएको हो । हामीले नगर प्रमुखसँग दशैपछि गर्ने कि भन्ने प्रस्ताव राखेका थियौं तर उहाँले काम शुरू भइसकेको छ, जतिसक्दो यसलाई सकाएर सामाखुसीको वृहत्तर विकासको अवधारणा अनुसार अगाडि बढ्नुपर्छ, त्यसलाई सुधारका काम अगाडि बढाउनुपर्छ भन्ने सल्लाहाका आधारमा काम भएको हो । अहिले डीपीआर तयार हुँदै छ अहिले स्थानीयले गाली गरेपनि योजना सम्पन्न भएपछि ताली पनि पाइन्छ भन्नेमा हामी ढुक्क छौं ।
  • वडाले विकासका कुन कुन कुरालाई प्राथमिकता दिँदै आएको छ ?

हामीले निर्वाचनका समयमा यस क्षेत्रको पूर्वाधार विकासको कुरालाई जोड दिएका थियौं । यो क्षेत्र हाइड भएको र गहिरो भागको रूपमा रहेको छ । वर्षायाममा सामाखुसीको पानीले दुःख दिँदै आएको छ । विकासको पूर्वाधार कमजोर भएका क्षेत्रमा त्यसको व्यवस्थापनकोे पाटो हाम्रो पहिलो प्राथमिकता हो र यो क्षेत्रका कान्ति, मनमोहन, टिचिङ, गंगालाल जस्ता २२ ठूला अस्पताल भएकोले ती अस्पतालमा हाम्रा नागरिकको सहज पहुँच कसरी पुर्याउने भन्ने हाम्रो अर्को प्राथमिकता हो । त्यस्तै भएका ३८ शैक्षिक संस्थामा वडावासीको पहुँच स्थापित गर्ने, वडालाई हरियाली वडाका रूपमा स्थापित गर्ने योजना पनि छ, अहिले हामीले विभिन्न स्थानमा १४ सय रुख बिरुवा समेत रोपेका छौं । युवा महिलालाई आकर्षण हुने काम गरिरहेका छौं । वडाले दिने सेवामा पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशिलता लागू गरेका छौं ।
  • स्रोतको व्यवस्थापन कसरी भएको छ, वडाको आफ्नै स्रोतको अवस्था कस्तो छ ?

संघीय सरकारले उपलब्ध गराएको स्थानीय व्यावसायि करलाई वडाले नियमानुसार उठाउँदै आएको छ । गएको वर्ष हामीले विभिन्न शिर्षकमा साढे २२ करोड रुपैयाँ कर उठाएका थियौं । चालू आर्थिक वर्षका १७ करोड वडास्तरीय बजेट तर्जुमा भएको छ भने २५ करोड रुपैयाँ बराबर केन्द्रीयस्तरका योजना छन् । ३० करोड रुपयाँ बराबरका अगाडि देखिका योजना छन् । जुन यसै वर्ष पनि सकिँदैछन् ।
  • विकासका बजेट समयमै नसकिने प्रवृत्ति छ, यसलाई सुधार्न वडाका योजना के छन् ?

हामीले बजेट समयमै खर्चिँदै आएका छौं । हामीले असारे बजेटमा विस्वास गर्दैनौं । भदौदेखि नै हामी बजेटको कार्यान्वयनमा लाग्छौ । वडाले आफ्नो तजविजमा अगाडि बढाउने योजनाको हकमा सक्रिय रहँदै ठूला टेण्डरअन्तर्गतका योजनामा पनि सक्रियताका साथ काम गर्छौं । अर्को वर्ष समयमै काम सकिएन भन्ने र असारमा बजेट खर्चिने काम भयो भन्न अवस्था आउन्न ।
  • वडामा महिला र युवा लक्षित के के काम भएका छन् ?

महिलाको आयआर्जनमा वृद्धि गर्न सीपमूलक कार्यक्रम अगाडि सारेका छौं । विगतमा पनि हामीले त्यस्ता काम गर्दै आएका थियौं । महिलालाई नेतृत्व तथा क्षमता विकाशका तालिम, महिलाका उत्पादनको बजारीकरणलाई प्राथमिकता दिँदै आएका छौं । यूवालाई खेलकुदमा आकर्षित गर्न खेलकुदसम्बन्धी कार्यक्रम र खेल मैदान निर्माणलाई प्राथमिकता दिँदै आएका छौं । वडावासीलाई रोजगारको सृजना कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिएका छौं ।
  •  शिक्षा क्षेत्रमा के गर्दै हुनुहुन्छ ?

शिक्षामा महानगरले अगाडि सारेका शैक्षिक योजनालाई प्राथमिकता दिएर काम गरिरहेका छौं । हाम्रो वडाका विद्यार्थीलाई छात्रवृत्तिमा सुविधा दिन सिफारिश गर्दै आएका छौं ।
  • भएका कामको अनुगमन कसरी भएको छ ?

महानगरस्तरीय अनुगमन समिति छ, त्यसमा विज्ञ, प्रहरी, कर्मचारी सम्मिलित हुुनुहुन्छ, त्यस्तै ३२ ओटै वडामा त्यो संरचना छ, त्यसमार्फत पनि अनुगमन तथा निरिक्षणका काम भइरहेका छन् । पूर्वाधार योजनाका निरिक्षण, उपभोक्ता र खाद्यान्नसँग जोडिएका व्यवसायमा गरिने अनुगमनलाई वडाले प्राथमिकता दिँदै आएको छ ।
  • वडाको सेवाबाट नागरिक कति सन्तुष्ट भएको पाउनुभएको छ ?

हामीले अनलाइन र कम्प्युटराइज्ड प्रविधिबाट सेवा दिइरहेका छौं । नागरिकलाई सिघ्र र सहज सेवा दिँदै आएका छौं । जसको निरन्तर अनुगमन हामीले गर्दै आएको भएर नागरिक खुसी हुनुहुन्छ जस्तो लाग्छ ।
  • तपाईको आफ्नै भिजन के छ ?

हामीले निर्वाचन मै परिवर्तनका नारालाई प्राथमिकता दिँदै आएका छौं । परिवर्तन व्यक्तिमा, सोचमा, काम गर्ने शैलीमा परिवर्तन हुनुपर्छ । नागरिकले महसुस गर्ने गरि काम गर्नुपर्छ भन्ने मैले मान्यता राख्छु । पूर्वाधार विकासलाई यो वर्ष पहिलो प्राथमिकता दिने र अर्को वर्ष देखि शिक्षा र स्वास्थ्यका सफ्टव्यरका पाटामा काम गर्ने हाम्रो योजना छ ।

फोटोमा वडाका गतिविधि

   
Tags: