आँट भरिएका जाँगरिला महिला जसले उत्पादन गर्न थाले ‘फेन्सी चप्पल’

Image
म्याग्दी – ग्रामिण महिला घरमा बसेर गृहणीको रुपमा काम गर्ने मात्र होइन सामान्य अवसर पाउँदा पनि आफूलाई व्यावसायिक बनाउन सक्छन् । यो कुराको चरितार्थ गरेका छन् म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाहरूले । उनीहरूले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादन सुरुआत गरेका हुन् । बेनी नगरपालिकाको ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका उनीहरू अहिले चप्पल उत्पादन थालेका छन् । पहिलो चरणमा नगरपालिकाबाट आधारभूत तालिम लिएका महिलालाई पुनः आमा समूहकै पहलमा थप १५ दिने विशेष तालिम दिएपछि महिलाले व्यावसायिक चप्पल उत्पादन सुरु गरेको समूहका उपाध्यक्ष विन्दु कार्की पुर्जाले जानकारी दिइन् । उनका अनुसार आमा समूहकै भवनमा महिलाले चप्पल उत्पादन गर्न थालेका छन् । बजारमा बाहिरबाट आयात गरेका चप्पलको खरिद विक्री हँुदै आएकामा आमा समूहले नै व्यावसायिकरूपमा चप्पल उत्पादन सुरु गरेपछि स्थानीय बजारमा स्थानीय उत्पादनकै सामग्रीको उपलब्धता गराउने योजना रहेको समूहका सचिव निसा जिसीले जानकारी दिइन् । फेन्सी चप्पलको माग बढी हुने भएकाले व्यावसायिकरूपमा उत्पादन सुरु गरिएको चप्पल बनाउने व्यवसायबाट महिलाको आयआर्जनमा समेत टेवा पुग्ने लक्ष्य राखिएको उनले बताइन् । महिलाले फेन्सी चप्पल सामूहिकरूपमा बनाउन सुरु गरेको उद्योगको सोमवार प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले शुभारम्भ गरेका थिए । कार्यक्रममा प्रजिअ पौडेल, बेनी नगरपालिकाका प्रमुख सुरत केसी र वडाध्यक्ष चक्रबहादुर केसीले स्थानीय बजारमा स्थानीय उत्पादनकै सामग्रीको उपलब्धता गराउन सकेमा यसले महिलाको उद्यमशीलताको प्रवर्द्धन गर्नेमा जोड दिए । सो अवसरमा गलेश्वर मन्दिर परिसरमा शनिवार राखिएको घुम्ती प्रदर्शनी कक्षबाट ५९ जोर चप्पल विक्रीसमेत भएको समूहले जनाएको छ । सो समूहले उत्पादन गरेका चप्पलको गलेश्वरमा बिक्रीकक्षसमेत सञ्चालन गर्ने योजना बनाएको समूहका अध्यक्ष फूलकुमारी रोकाले जानकारी दिइन् ।रासस
Tags: