अर्थतन्त्रलाई चलायमान बनाउन सक्रिय अर्थमन्त्री, लगाउलान् त पार ?

Image
काठमाडौं – अर्थतन्त्रलाई चलायमान बनाउन पछिल्लो समय अर्थमन्त्री डा. प्रकाशशरण महतको दौडधुप बढ्दो छ । उनले आफ्नो एकमात्र अर्जुनदृष्टि देशको अर्थतन्त्रलाई चलायमान बनाउनु रहेको बताउँदै आएका छन् । निजी क्षेत्रसहित सबै क्षेत्रसँग हातमालो गरेर देशको अर्थतन्त्रमा थप सुधार ल्याउन अर्थमन्त्री डा. महत प्रयासरत देखिन्छन् । पछिल्लो समय अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारका लागि गर्नुपर्ने कामबारे निजीक्षेत्र, दातृ निकाय तथा वैदेशिक लगानीकर्ता, नियामक निकाय तथा कर्मचारी संयन्त्रसँग निरन्तर छलफल गर्दै आएका छन् । राजश्व संकलनमा देखिएको समस्या समाधान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन कहाँ समस्या छन् त्यसलाई पहिल्याउन मन्त्री डा. महत निरन्तर लाग्दै आएको देखिन्छ । उनले देशदौडाहामा निस्किएर राजश्व र भन्सार कार्यालय निरीक्षण अनुगमन गर्दा राजश्व संकलनमा देखिएका समस्या समाधानकालागि तुरुन्त कदम चाल्न आवश्यक निर्देशन दिँदै आएका छन् । आइतवार मात्रै निजी क्षेत्रका तीनओटा संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल राष्ट्र बैंकका गर्भनर र नेपाल बैंकर्स संघसँग छलफलमा मन्त्री डा. महत जुटे । मन्त्री डा. महतले आज(सोमवार) वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)हरूलाई अर्थ मन्त्रालयमा छलफलका बोलाएर समग्र बैंकिङ प्रणालीमा देखिएको समस्या र अहिले तरलता सहज हुँदा पनि कर्जाको माग बढ्न नसक्नुको कारणबारे जानकारी लिए । उनले अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रले कसरी सहयोग गर्न सक्छ र त्यसका लागि नेपाल राष्ट्र बैंक र सरकारले के सहयोग गर्नुपर्ने हो भनेर सीइओहरूलाई जिज्ञासा राखेका थिए । आइतवार भन्सार विभागद्वारा आयोजित भन्सार व्यवस्थापन कार्यशालामा कर्मचारीलाई निर्देशन दिँदै कर्मचारीले सोचमा परिवर्तन गर्न ढिलो गर्न नहुने बताए । जिम्मेवारीमा सम्झौता नगरी काममा व्यवसायिकता, सम्मान र समर्पण हुनुपर्नेमा उनको जोड थियो । कसरी देशको अर्थतन्त्रलाई लयमा ल्याउने, वैदेशिक लगानी कसरी भित्र्याउने, निजी क्षेत्रको लगानी कसरी वृद्धि गर्ने र राजश्व संकलनमा कसरी लक्ष्य भेट्टाउने योजनाको कार्यान्वयमा उनको व्यस्तता बढेको देखिन्छ । मन्त्री डा. महतले यसपटकको बजेटमा युवाहरुलाई मध्यनजर गरेर युवा उद्यमशीलता (स्टार्टअप), आइटी र रिसर्चमा ठूलो रकम विनियोजन गरिएकोले यसका लागि आवश्यक सूचना सम्बन्धित निकायबाट लिएर युवाहरुले देशमै स्वरोजगार बन्न आग्रह गरे । गत शुक्रवार मन्त्री डा. महतले अमेरिकी सहयोग नियोग (युएसआईडी)बाट सञ्चालित आयोजनाको प्रगति समीक्षामा घनीभूत छलफल गरेका थिए । अनुदान रकम बढाउन, जलवायू परिवर्तनलाई सम्बोधन गर्ने गरी सहयोग दिन, नेपाली जनताको जीविकोपार्जनका लागि ग्रामीण पूर्वाधारका आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल हुने क्षेत्रमा लगानी गर्न दातृ निकायहरुसँग मन्त्री डा. महत निरन्तर छलफलमा छन् ।
Tags: