सरकारसँग नेपाल खाद्यका कर्मचारीका गुनासै गुनासा, सचिवले झपारे,‘ कुरा मात्र होइन काम गर्नुस् सबै मिल्छ’

Image
काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतवार आयोजना गरेको कम्पनीको चौथौं वार्षिकोत्सव कार्यक्रममा कर्मचारीहरूले व्यापार गर्न जिम्मा दिएर सरकारले सुविधामा उपेक्षा गरेको गुनासो गरेका छन् । कर्मचारी युनियनका अध्यक्ष देवेन्द्र राईले विनियमावली अन्तर्गत कर्मचारीका सेवा सुविधालाई समेट्न नसकेको बताए । बीमा लगायतका सेवा सुविधा कटौती भएको उनको गुनासो थियो । उनले भने, ‘यसले कर्मचारीलाई हौसला मिल्न सकेको छैन, जिम्मेवार अधिकारी हल मै हुनुहुन्छ सुनुवाई होस् ।’ टे«ड युनियन कर्मचारी संगठनका अध्यक्ष घनश्याम अर्याल कम्पनी के का लागि स्थापना भएको हो भन्ने मै अन्यौलता देखिएको बताए । उनको प्रश्न थियो,‘ ४४ ओटा संस्थान मध्ये हामी स्रोत र साधनमा बलियो छौं तर किन नाफामा गएनौं ?’ उनले नेशनल ट्रेडिङसँग रहेको मदिरा र बहुमुल्य धातु हिरा लगायत भण्डारमा नष्ट भएर गएको तर सरकारले चासो नदेखाएको आरोप लगाए । उनले भने,‘यस्तो देख्दा हाम्रो मन पोल्छ,तपाईंहरूलाई छुँदैन ? माननीय मन्त्री ज्यू, श्रीमान सचिव ज्यू १५ मिनेट समय निकालेर अनुगमन गरिदिनुस् ।’ उनले सरकारले कम्पनीले डेढ अर्ब रकम शोध भर्ना नगरेको र सञ्चालन खर्च नपुग्ने अवस्थामा आएको बताए । ‘व्यापार गर भन्नुहुन्छ, कहिले चामल खरिदको, कहिले सहुलियत मूल्य पसलको घाटा छ, त्यसलाई अगाडि बढ्नुस् भन्नुहुन्छ, शोध भर्ना हुँदैन, ’ उनले भने । उनले स्थापनाको ४ वर्ष पुग्दा समेत साधारण सभा नभएको प्रति कम्पनीको अध्यक्ष समेत रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीतर्फ संकेत गर्दै भने, ‘साधारणसभा कहिले गर्नुहुन्छ, तपाईहरूलाई नियम लाग्दैन ?’ उनले कर्मचारीलाई दिन ठिक्क पारिएको भक्ता काटिएकोमा पनि गुनासो गरे । त्यसबीचमा बोल्ने पालो आएका कम्पनीमा प्रमुख कार्यकारी अधिकृत मोहन प्रकाश चन्द र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल कर्मचारीका सवालमा केही बोलेनन् । अध्यक्षता गरेका सचिव मरासिनी अन्तिम वक्ताको रूपमा कर्मचारीको प्रश्नमा बोले । उनको आरोप थियो, ‘काम राम्ररी गर्नुस् , सरकारको कम्पनी हो, सेवा सुविधा दिने कुरामा सरकारले सोच्छ ।’ उनले कर्मचारीले अडिट नगरेकै कारण साधारणसभा रोकिएको दावी गरे । उनले भने, ‘जे पनि सञ्चालक समितिले गरेन भन्ने हो ? तपाईहरूले के गरेर तलब भत्ता खाइरहनुभएको छ, अडिट गर्नु पर्दैन, अडिट तत्काल सकाउनुस्, साधारण सभा हुन्छ ।’ उनले नेशनल ट्रेडिङको सम्पत्ति व्यवस्थापनका विषयमा पनि सञ्चालक समितिले आवश्यक निर्णय गरिसकेको बताए । ‘निर्णय के भएको छ, आफै खोज्ने लिने, अफ्ठ्यारो परेको अवस्थामा सञ्चालक समिति गुहार्ने, कि यति काम पनि सञ्चालक समितिले गर्दिनुपर्छ ?’
Tags: