यात्रुलाई सास्ती : प्लेन आउने समयमा मौसम बिग्रन्छ, मौसम खुल्दा प्लेन आउन्न

Image
राज्यश्वोर मल्ल मुगु – मुगुम कार्मारोङकी हिमा बुढा पाँच दिनदेखि रारा विमानस्थलमा थिइन् । नेपालगञ्ज झर्न विमानस्थल पुगेकी उनीसँग हवाई यात्रको विकल्प थिएन । उनी सात महिनाकी गर्भवती हुन् । मुगुम कार्मारोङको पुलु स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी समेत रहेकी बुढाले भनिन्,‘पाँच दिन भयो कुरेको अझै टुंगो छैन ।’ सकसमा उनी मात्र होइन अहिले रारा विमानस्थल लगायतका दुर्गम जिल्लाबाट यात्रा गर्ने सबै यात्रु मर्कामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णाली लगायत दुर्गम जिल्लामा दिउँसो १२ बजेपछि उडान नगर्नेे निर्णय गरेपछि कर्णालीका यात्रु मर्कामा परेका हुन् । बुढाले भनिन्, ‘बिहाना मौसम खुल्दैन, १२ बजे पछि मौसम खुलेको हुन्छ, जहाज आउँदैन ।’ यो समस्याले यात्रु दुर्गमाका विमानस्थलमा अलपत्र परेका छन् । नेपालगञ्ज तथा सुर्खेतबाट दैनिक उडान हुने डोल्पा, सिमिकोट, रारा, बाजुरा लगायतका दुर्गमका जिल्लाका यात्रु यो व्यवस्थाले मारमा परेका छन् । प्राधिकरणले दुर्गमका विमानस्थलमा वर्षातका समयमा हवाई दुर्घटना हुन सक्ने भन्दै साउन १४ गतेबाट दिउँसो उडानमा रोक लगाएको छ । कर्णालीका जिल्लामा अझैपनि भरपर्दो सडक छैन । कर्णाली प्रदेश पर्यटन उद्यमी समाजका अध्यक्ष देविकृष्ण रोकाया यसक्षेत्रको लाइफलाईन हवाईमार्ग मार्ग भएकाले यो निर्णय सच्चाइनुपर्ने बताउँछन् । यो निर्णय सँगै मगुको रारा विमानस्थलमा आजसम्म ३ वटा मात्र हवाई उडान भएका छन दुर्गम जिल्लामा बिहान मौसम नखुल्ने र मौसम खुल्ने समयमा विमान सञ्चालन नहुने भएकाले यहाँका लागि यो निर्णय उपयुक्त नभएको रोकाया बताउँछन् । गन्तव्यमा पुग्ने यात्रु वर्षातको समय हिलाम्य सडक ठाउँ ठाउँमा पहिरोले सडक अवरुद्ध हुने भएका कारणले जहाजको पर्खाइमा हुन्छन् । जहाज नै नआउने हो भने बिरामी लगायत अन्य सर्वसाधरण अफ्ठ्यारोमा परेका हुन् ।  
Tags: