अमेरिकी सहयोगका आयोजनाको प्रगति समीक्षा

Image
काठमाडौं – अर्थ मन्त्रालय र अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) बीच अमेरिकी सहायतामा सञ्चालित आयोजनाको प्रगति समीक्षा बैठक सम्पन्न भएको छ । बैठकको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, लोकतन्त्र र सुशासनका क्षेत्रमा अमेरिकाले निरन्तरता दिइरहेको द्विपक्षीय सहयोगको प्रशंसा गरे । उनले वर्षौंदेखिको नेपाल–अमेरिका साझेदारीको स्मरण गरे । मन्त्री महतले नेपाली जनताको जीविकोपार्जनकालागि ग्रामीण सडक, खानेपानी र सुधारका लागि प्रत्यक्ष सहयोग गर्ने ग्रामीण पूर्वाधार आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल गर्न अमेरिकी सहयोग परिचालन गर्नुपर्नेमा जोड दिए । त्यस्तै अमेरिकी राजदूत डीन थम्पसनले विकासका विभिन्न क्षेत्रमा नेपाल–अमेरिकाबीच लामो समयदेखि साझेदारी रहेकोमा सन्तुष्टि व्यक्त गरेका थिए । यूएसएआईडीको सहयोग सम्झौताअन्तर्गत सञ्चालित आयोजनाको हालसम्मका उपलब्धिहरू, कोष प्रवाह, स्थानीय संस्थाहरूको उपयोगमा बजेटमा बढेको जोड साथै यस अवधिमा भूमिका र जिम्मेवारीहरू स्पष्ट गर्दै नेपाल अमेरिकाबीच साझेदारीलाई सुदृढ पार्नु यस समीक्षा बैठकको उद्देश्य रहेको थियो । बैठकमा अर्थमन्त्री डा. महत, अर्थ सचिव अर्जुनप्रसाद पोखरेल, नेपालका लागि अमेरिकी राजदूत थम्पसन, युएसएआईडीका मिसन निर्देशक सेपिदेह किभनशाद, मन्त्रालयका अधिकारीहरू, युएसएआईडीका पदाधिकारीहरू लगायतको उपस्थिती थियो । विकास उद्देश्य सम्झौताबाट गत वर्ष नेपाल र अमेरिकाबीच भएको द्विपक्षीय छाता सम्झौतामा पाँच वर्षको अवधिमा ६५ करोड ९० लाख अमेरिकी डलर उपयोग गर्ने उद्देश्यले नेपालको बजेट प्रणालीबाट अमेरिकी सहायता प्रयोग गर्ने व्यवस्था छ ।  
Tags: