‘हराएकी मिस’

Image

-प्रेम पुन्थोकी मिसले शालिकेको गालामा चड्कन लगाई । ऊ केवल हाँसिरह्यो, मिसले गालामा चड्कन लगाइरही । “तँ हाँसीमात्र राख्छस् ?” पिट्दा पिट्दा थाकेकी मिस कराई, “शालिके ! म तँलाई सम्झाउन नसक्ने भएँ । यति ठूलो भएर पनि तैंले आफ्नो बानी सुधारेनस् । भाइबहिनीजस्ता साथीभाइलाई तैंले गर्ने व्यवहार यस्तै हो ?” शालिकेसँग केही जवाफ थिएन । ऊ ङिच्च दाँत देखाएर हाँसीमात्र रह्यो । “मिस मलाई शालिकेले पछाडि बसेर जिस्क्याउँछ, कपाल तान्छ र चुन्नी थुतिदिन्छ । अनि गालामा चिमोट्छ पनि,” सुनिताले उजुरी थपी । “अँ हो, मिस यसले मलाई पनि त्यसै गर्छ,” विनिताले कर्तुत खोली । मिस फेरि आवेशमा आई । शालिकेको कपाल समाती । गालामा चड्कन लगाई । शालिके मलिन देखियो । केटीहरू न्याय पाएको आभाष गर्दै बाहिरिए । शालिके कतै नहेरी थचक्क बस्यो । मिसले अन्तिम चेतावनी दिई, “शालिके म तेरो व्यवहार सहिरहन सक्दिनँ, बूढो भएर पनि तेरो बानी सुध्रिएन । ख्याल गरेको छस् तँ कति उछृंखल भइस् ? तँलाई अब स्कुलबाट निकाल्नुको विकल्प छैन, बुझिस् ?” बरबराउँदै मिस निस्किई । शालिकेले घोप्टो मुण्टो लगायो, कतै नहेरी भुइँ कोट्याइरह्यो । के सोच्यो कुन्नि– जुरुक्क उठ्यो, ब्याग टिप्यो र सरासर घरतिर लाग्यो । ० ० ० शालिके स्कुल नगएको आज एक हप्ता भइसकेछ । जहिले स्कुल भन्दा हुरुक्कै हुने शालिके घरमै बसिरह्यो । पटक पटक बाबुआमाले स्कुल जान भने, उसले टेरेन । पिँढीमा बस्थ्यो, उसको कानमा मिसका शब्दहरू दोहोरिएर आउँथे, “तँ कति उछृंखल भइस् ? तँलाई अब स्कुलबाट निकाल्नुको विकल्प छैन ।” उसले मनैमन भन्यो, “म बूढो भएँ, साथीहरूमाझ नसुहाउने भएँ, मैले मिसलाई दुःख दिएँ, त्यस्तो स्कुलमा म किन जाने ?” उसले आफैंलाई प्रश्न गर्यो । फेरि सोच्यो, “साँच्चै मिसले हान्दा मलाई किन नदुखेको रु किन मलाई मिसले हानिरहे हुन्थ्यो जस्तो लागेको ?” उसलाई मिसको झल्कोले सतायो । “मिसका हात कति नरम छन्, बोली कति मिठो छ । मिसका हात मेरो शरीरमाथि माया बनेर स्पर्श गर्न सक्दैनन् ? थुइक्क म ! मसँगै पढ्न सुरु गरेकी ऊ मिस बनेर आई तर म ।।। !” मनमा अनेक तर्कना खेले । स्कुल जाने बाटोतिरै हेरिरह्यो । सोच्यो, “साँच्चि म स्कुल नजाँदा साथीहरूलाई कति आनन्द भयो होला , मिसलाई पनि आनन्द भयो होला , अहँ, अब म स्कुल कहिल्यै जान्नँ । जसले गाली गरे पनि जान्नँ । मिसले आएर फकाए पनि जान्नँ ।” ० ० ० हाजिरी रजिस्टरमा उसको नामछेउ धेरै दिन खाली देखियो । एकदिन मिसका आँखा परे । हप्ता दिनदेखि उसले शालिकेका उजुरी सुनेकी थिइन । “शालिके आएको छैन रु” उसले कक्षमा सोधी । “अहँ आएको छैन,” कसैले जवाफ दियो । उसले खै के सोची, कक्षा सकाएर बाहिर निस्किई । मनैमन सोची, “शालिके, मेरो गालीकै कारण स्कुल नआएको त हैन रु गाली त म दिनदिनै गर्थें, कहिल्यै त्यसो गरेन ।” मिसको आँखामा शालिके घुमिरह्यो । अन्तिम दिन उसले पिट्दा र गाली गर्दा टाउको निहुराएर बसेको शालिकेको बिम्ब आँखामा घुमिरह्यो । उसको गालीले टाउको निहुराएको पहिलो पटक थियो त्यो दिन । नत्र त शालिकेले कहिल्यै गाली र पिटाइलाई सजाय मानेन, जहिल्यै मुखमा हेरेर एकाहोरो हाँसिरह्यो । सायद त्यस हाँसोभित्र मिसको सन्तुष्टि थियो, उसको मनले ठम्याउन सक्दैन । अर्को मनले ‘अँ हो’ भन्न पनि सक्दैन । उसले शालिकेको अनुहारमा अरु विद्यार्थीहरूको जस्तो कौतूहल र जिज्ञासा भेटिन । न त आफूले शालिकेमाथि अरु विद्यार्थीलाई जस्तो जिम्मेवारी नै निभाई । उसले सोची, “शालिकेको नियत गलत छ, सोच गलत छ । उसले कक्षामा केटी जिस्क्याउँछ । केटीहरूलाई सताउँछ र तर्साउँछ । केटी जिस्क्याउने त्यसको त्यत्रो आँट रु केटी नै जिस्क्याउने भए उसले मलाई किन जिस्क्याउन सकेन रु आखिर म पनि त केटी हुँ ।” उसको मनभित्र कतै काउकुती लाग्यो र लाज लाग्यो । फनक्क घुमी र छिरी अर्को क्लासमा । ० ० ० “हामीले भनेको मानेन माड्साब, यसलाई जसरी हुन्छ काबुमा लिनुस्,” शालिकेका बाबुले कान समातेर हेडसरको अगाडि पुर्याए । “किन ? के भएर स्कुल नआएको शालिके ?” हेडसरको प्रश्नमा शालिके बोलेन । “तँलाई कसैले पिट्यो ?” ऊ बोलेन । “तँलाई कसैले गिज्यायो ?” ऊ बोलेन । “तँलाई पढ्न मन नलागेको हो ?” शालिकेले ‘हो’को संकेतमा टाउको हल्लाएको मात्र के थियो, उसका आँखा सिधा अगाडि बसेकी मिससँग ठोक्किए । आमाबाबुको अर्तिले टेरेन, हेडसरको आग्रहले मानेन तर मिसका आँखा देखेर ऊ एकाएक डरायो । ठूलै अपराध गरेर अदालतको कठघरामा उभिएको अभियुक्त जस्तै भयो ऊ । थरर काँप्यो । मूर्तिझैं ठिंग उभिइरह्यो । उसले कल्पना ग¥यो– अब मिस आक्रोशित भएर ऊमाथि खनिन्छे, कपाल लुच्छे, कान बटार्छे र गालामा झापड हान्छे । ऊ हाँसी मात्र रहनेछ । मिस थकित मुद्रामा थचक्क बस्नेछे र भन्नेछे, “शालिके १ तँलाई मैले सकिनँ, तँ नसुध्रने भइस्, तँलाई अब स्कुलबाट निकाल्नुको विकल्प छैन ।” ऊ मुसुक्क हाँस्यो । मिस उसैलाई हेरेको हे¥यै थिई । उसले टाउको झुकायो । मिसले शालिकेतिर हेरेर भनी, “शालिके १ अब तँ स्कुल नआउने ?” शालिकेले शब्द त निकालेन तर थरथर काँप्दै टाउको हल्लायो र संकेत ग¥यो, “आउँछु ।” शालिके चुपचाप उभियो । मिस मुसुक्क हाँसी र शालिकेलाई हातमा समातेर कक्षातिर लगी । स्कुल छुट्टी भयो । मिसले शालिकेलाई डो¥याएर परको चौरमा लगी । आफू कोखैमा टाँसिएर बसी । शालिकेको कपाल समाती मायाले । सधैं कठोर बनेर हिर्काउने हातले उसका गाला सुमसुम्याई । सधैं आक्रोशित मिसका आँखामा शालिकेले भावुकता भेट्यो । झापड दिँदा पनि हाँसीरहने शालिके आज मिसको स्पर्श र भावुकताले गल्यो । मिस सुस्तरी बोली, “मैले दिएको सजायले तँलाई खुब पीडा दियो है ?” शालिकेले प्रतिकृया नदिँदै फेरि थपी, “शालिके १ मैले तेरो कुभलो सोचेर हानेकी हुँ त ? म तँलाई हान्थें तर मलाई दुख्थ्यो । तैंले कुनै दिन मलाई पनि त्यस्तै जिस्क्याउँथिस् । कपाल र गाला सुम्सुम्याउँथिस् तर आज तैले मलाई मिस भन्छस् ।” शालिके केही बोलेन, मिसलाई हेरिरह्यो । मिसले शालिकेको हात सुम्सुमाई । कपाल र गाला मुसारी । ऊ शालिकेको झनै नजिक पुगी । शालिकेको मौनताभित्र झनै जिज्ञासा र सम्भावना भेटी । “तँ हिजो मेरो साथी थिइस्, आज मेरो विद्यार्थी भइस् । म हिजो तेरी साथी थिएँ तर आज तेरी मिस बनें । मैले हिजो तँलाई तँ भन्थें, आज पनि तँ नै भनिरहेछु । तैंले मलाई हिजो तँ भन्थिस्, आज तपाईं भन्छस् । सम्मान गर्छस् । मैले तँभित्र हिजो खोजिरहेकी छु, हिजोकै शालिके खोजिरहेकी छु ।” शालिकेका आँखा टम्म भरिए । मिसले झनै नजिक तानी । शालिकेमाथि घोप्टिएर तप्प आँशु चुहाई । उसका आँखाबाट पनि आँसु चुहिए । मिसले शालिकेको सर्टले आँशु पुछी । शालिकेले चुन्नीको फेरोले आँशु पुछ्यो । ० ० ० दुई दिन भयो मिस स्कुल नआएको । अचम्म ! दुई दिनदेखि शालिके पनि हाजिर छैन । शालिकेको मतलबै भएन, मिस नआएको खबर एकाएक कान–कान हुँदै मैदानसम्म पुग्यो । खोजी चर्कियो । मिस घरमा पनि थिइन । संयोगले शालिके पनि दुई दिनदेखि घरमा थिएन । एकाएक विस्ताराबाट हराएकी मिस र त्यसै रात अर्को दैलोबाट हराएको शालिकेलाई कसैले भेट्टाउन सकेन । वर्षौं बिते । हराएकी मिस र हराएको शालिके अझै भेटिएका छैनन् ।

Tags: