सकियो मुगुमा सरकारी चामल, बजारको महंगो चामलको भर

Image
राज्यश्वोर मल्ल मुगु –मध्य वर्षा, बाढी पहिरोको डर । त्यसमाथि भोक छेक्ने खाद्यान्न नै नभए पछि नागरिकको दैनिकी कस्तो होला ? मुगुका नागरिक यही अवस्थामा छन् । अनुदानमा खाद्यान्न वितरण गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामलको अभाव देखाउँदै विक्री वितरण रोक लगाएको छ । कम्पनीले एक सातादेखि चामल वितरणमा रोक लगाएसँगै खाद्यमा चामल खरिदका लागि पुगेका उपभोक्ता रि क्तो हात फर्कन बाध्य भएका छन् । खाद्यसँग अहिले ६८० क्वीन्टल चामल मौज्दात रहेको खाद्य मुगुका प्रमुख पुस्कर भाम बताउँछन् । ‘अहिले हामीसँग ६८० क्वीन्टल चामल मौज्दात छ, वर्षाको समय भएको कारण पर्नसक्ने अत्यावश्यकीय आवश्यकतालाई ध्यानमा राखेर विक्री वितरण गर्न असमर्थ भएका हौं,’ उनले भने । प्रमुख भामका अनुसार जिल्लाका अन्य डिपोमा चामलको शुन्य मौज्दात छ । उनले अहिले भएको चामल अघिल्ला वर्षको मौज्दात भएको र यस वर्षको चामल ढुवानीका लागि टेन्डर भएको बताउँछन् । मुगुका खाद्यले अघिल्लो वर्ष १२ हजार क्वीन्टल चामल विक्रीको लक्ष्य राखेकोमा लक्ष्य अनुरुप चामल पुगेको उनको भनाइ छ । कर्णालीका जिल्लामा चामल र नुनको सँधै पिरलो हुन्छ । भौगौलिक विकटताका कारण खाद्यान्न उत्पादनमा कमी हुने भएकाले यो समस्या वर्षेनी दोहोरिने गर्छ । प्रमुख भामले खाद्यमा चामल अभाव भएपनि बजारमा चामल रहेको बताउँछन् । ‘केही महंगो होला तर बजारमा चामल पर्याप्त छ, हाम्रो चामल भदौको दोस्रो सातासम्म आउन सक्छ ।’
Tags: