एफटीटीएचमा टेलिकमको द्रुत सेवा, हजार एमबीपीएसको गति

Image
काठमाडौं – नेपाल टेलिकमले १ जीबीपीएस (१००० एमबीपीएस)सम्म गति भएको एफटीटीएच इन्टरनेट सेवा शुरू गरेको जनाएको छ । यसअघि कम्पनीले १०० एमबीपीएससम्म गति भएको एफटीटीएच सेवा दिइरहेको थियो । हाल कम्पनीले जीपोन प्रविधिमार्फत उपलब्ध गराइरहेको एनटी फाइबर इन्टरनेटमध्ये सबैभन्दा उच्च गति १०० एमबीपीएस रहेकोमा अब एक्सजीपोन प्रविधिमा आधारित उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएको हो । सो सेवा ५०० एमबीपीएस र १ जीबीपीएस गरी दुई ओटा प्याकेजमा उलपब्ध हुनेछ भने यसको डाउनस्ट्रिम क्षमता १० जीबीपीएस र अपस्ट्रिम क्षमता २।५ जीबीपीएस हुनेछ । प्रिमियम एफटीटीएच ५०० एमबीपीएस अन्तर्गत टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ३५० मिनेट कल गर्न सकिनेछ । यो प्याकमा ०।५ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिने छ । प्रिमियम एफटीटीएच १ जीबीपीएस अन्तर्गत नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिनेछ भने अन्य नेटवर्कमा प्रतिमहिना ५ सय मिनेट कल गर्न सकिनेछ । यो प्याकमा १ टीबी डाटा प्रतिदिन प्रयोग गर्न सकिनेछ । दुवै प्याकेजमा एउटा आईपीटीभी, सीपीई र सेटटप बक्स तथा ३०० मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ । ५०० एमबीपीएसको ‘प्रिमियम एफटीटीएच ५०० एमबीपीएस’ प्याकेज वार्षिक ८० हजार रुपैयाँ र १ जीबीपीएसको ‘प्रिमियम एफटीटीएच १ जीबीपीएस’ प्याकेज वार्षिक १ लाख १० हजार रुपैयाँमा उपलब्ध हुनेछ । यो सेवा वा अन्य एफटीटीएच सेवा प्राप्त गर्न चाहनेले मुलुकभरका सेवाग्राहीहरूले १९८–१ ९१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी० मा डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा जडान तथा मर्मतका लागि दर्ता गर्न सकिने व्यवस्था छ । हालका लागि काठमाडौं उपत्यकामा यो सेवा उपलब्ध गराइएको छ ।
Tags: