साउन २५ देखि २७ सम्म ‘राष्ट्रिय युवा सम्मेलन’

Image
काठमाडौं – नेपाल युवा परिषद्ले अन्तरराष्ट्रिय युवा दिवसको अवसर पारेर साउन २५ देखि २७ सम्म तीनदिने ‘राष्ट्रिय युवा सम्मेलन’ गर्ने भएको छ । सम्मेलनको साउन २५ मा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने र समापन पसभामुख इन्दिरा रानामगरले गर्ने कार्यक्रम छ । सम्मेलनमा राज्यका उच्च पदस्थ राजनीतिज्ञ, युवा संसद, लब्ध प्रतिष्ठित उद्यमी, युवा अभियन्तालगायतले विभिन्न विषयवस्तुमा युवाको भूमिका र सरोकारमा आधारित सम्बोधन कार्यक्रम तय गरिएको छ । काठमाडौंको मध्य¬¬बानेश्वरस्थित ग्लोवल कलेज अफ म्यानजमेन्टमा हुने सम्मेलनमा ‘ युवाका लागि हरित दक्षता ः दिगो भविष्यतर्फको यात्रा ‘ नाराका तय गरिएको बताइएको छ । सम्मेलनमा मुख्य गरी युवाको लागि दिगो विकास लक्ष्यहरु, जलवायु परिवर्तनको लागि पहल , लैंगिक समानता, युवा उद्यमशीलता, निर्वाचनना युवा र सुशासन गरी ६ वटा प्रमुख पक्षमा विषयविज्ञको प्रस्तुति तथा सहभागीद्धारा अन्तरक्रिया र गहन छलफल गरिने बताइएको छ । सम्मेलनमा देशभरका ७७ वटै जिल्लाबाट १ जना पुरुष र १ जना महिला गरी १५४ जना र विशिष्ट लैङ्गिक अभिमुखिकरण तथा विशिष्ट क्षमता भएका ६६ जना युवाहरु गरी जम्मा २२० जनाले सहभागिता जनाउने छन् । आयोजकले सम्मेलनमा सहभागिताको लागि आह्वान गरेकोमा देशभरबाट ११११ जनाको आवेदन परेकोमा आफ्नो स्थायी बसोबास रहेको पालिकामा सामाजिक कार्य, व्यापार–व्यवसायजन्य क्रियाकलापहरुमा संलग्न रहेको स्थानीय तहबाट सिफारिसपत्र पेश गरेका सक्रिय, ऊर्जावान तथा कम्तीमा पनि प्रविणता तह उत्तिर्ण गरेको युवाहरुमध्ये निष्पक्ष मूल्याङ्कन गरी सहभागिताका लागि २२० जना युवाहरु आयोजकले छनोट गरेको आयोजकले जानकारी दिएको छ । सम्मेलनमा विभिन्न समुदायको सांस्कृतिक पहिचान तथा विविधता झल्किने ‘ सांस्कृतिक साँझ ‘ समेत आयोजना गरिने कार्यक्रम राखिएको छ ।
Tags: