‘सामाजिक संस्थामार्फत उद्यमशीलतामा सहयोग गर्दै आएका छौं’-कुन्तीदेवी पोख्रेल
कुन्तीदेवी पोख्रेल राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य हुन् । विकासवादी सोच र समाज रुपान्तरणलाई आफ्नो अभियान बनाएकी नेतृ पोख्रेलको पहिचान राजनीति मात्र होइन, व्यवसाय र समाजसेवा पनि जोडिएको छ । राजनीति, व्यवसाय अथवा समाजसेवा, जहाँबाट भएपनि नागरिककले सुविधा पाउनुपर्ने र नागरिकका दुःखमा साथ दिने उनको मान्यता छ । पोख्रेलले १० वर्ष अगाडि सामाजिक संस्था तारा मण्डल महिला सशक्तिकरण अभियान स्थापना गरेर सामाजिक काम गर्दै आएकी छिन् । गतवर्ष मात्रै उनले ‘कुन्तीदेवी फाउण्डेसन’स्थापना गरेर सोमार्फत पनि सामाजिक काम गर्दै आएकी छिन् । पोख्रेलको सामाजिक कर्म र उनले स्थापना गरेर सामाजिक संस्थाका विषयमा केन्द्रित रहेर सबल नेपालले कुराकानी गरेको छ । यहाँँले स्थापना गर्नुभएको ‘तारा मण्डल महिला सशक्तिकरण अभियान’ र यसको स्थापनाको पृष्ठभूमि बताइदिनुस् न । तारा मण्डल महिला सशक्तिकरण अभियान नामको संस्था १० वर्ष अगाडि मैले स्थापना गरेको हुँ । महिलाको बाध्यता के देखिने भने महिलाले केही गर्न खोज्दा घरको मान्छे बाधक बन्ने र बाहिर आउँदा बाहिरका व्यक्ति बाधक बन्ने प्रवृत्ति छ । जस्तो घरमा बुहारी केही गर्न खोज्दा सासु बाधक बन्दिने र बुहारी केही अगाडि आउन सक्ने अवस्थामा सासुलाई वृद्धाआश्रममा लगेर राख्ने गरेको अवस्था देखियो । यही अवस्थलाई देखेर मैले तारा मण्डल महिला सशक्तिकरण अभियानको स्थापना गरेको हुँ । मैले केही गरेर अगाडि बढौं भन्ने मानसिकता भएका र समाजमा हिंसामा परेका महिलाको क्षेत्रमा काम गर्ने उद्देश्यले मैले यो संस्थाको स्थापना गरेको हुँ । संस्थाले के के काम गर्दै आएको छ ? यो संस्थाले महिलाको आत्मनिर्भरतामा विकास गर्ने अवधारणामा काम गर्दै आएको छ । महिलालाई उद्यमशील बनाउने र उद्यममार्फत अगाडि ल्याउँदा उनीहरू मात्र होइन घर परिवार देखि समर्गमा राष्ट्रलाई नै यो कुराले फाइदा पुर्याएको हुन्छ । त्यो सँगै संस्थाले समुदायमा सरसफाई, स्वास्थ्य शिविर, रक्तदान, खाद्यान्न सहयोग लगायत गर्दै आएको छ । महिलालाई उद्यमी बनाउने दशक लामो अभियानको निष्कर्षलाई कसरी हेर्नुहुन्छ ? मेरो १० वर्ष यो क्षेत्रमा काम गरेको अनुभवले के भन्छ भने, नेपाली महिलाहरू उद्यमशीलतामा आउन सक्छन् । उनीहरूमा त्यो खालको उत्साह, क्षमता, चासो, संम्भावना सबै छ तर उद्यमबाट उत्पादन गरिसकेपछि त्यसलाई बजारमा ल्याउन र बजार पाउन सक्ने अवस्था साह्रै कम छ, उहाँहरूले उद्यमशीलतामार्फत गरेका उत्पादन आफ्नो व्यक्तिगत प्रयोजनको लागि खर्चनुपर्ने बाध्यता छ । यसैबीचमा पनि कति महिलाले गर्नुपनि भएको छ । म उद्यमशीलताको विकासमा सहयोग गर्ने उद्देश्यका साथ धेरै जिल्लामा गएको छु । धेरै घरेलु उत्पादनमा लागिरहनु भएको छ । उहाँहरूको सीपलाई हेर्दा के देखिन्छ भन्ने थप तालिम तथा काममा निखारता ल्याउने वातावरण बनाइदिने हो भने उहाँहरूले धेरै गर्न सक्नुहुन्छ । घरेलु उत्पादनको ‘रेस्पोन्स’ बजारमा कस्तो छ ? अहिले महिला उद्यमले दुःख गरेर दिनमा एक÷दुई जोर जुत्ता बनाएर बजारमा ल्याउनुहुन्छ, त्यतिबेलासम्म बजारमा सस्तो र फिनिसिङ राम्रो भएका जुत्ता बाहिरबाट आइसकेको हुन्छ । आम उपभोक्ताको मान्यता घरेलु उत्पादनलाई प्राथमिका दिनुभन्दा पनि बाहिरबाट आएका सामानलाई सस्तो र राम्रो मानेर प्रयोग गर्ने प्रचलन छ । कतिपय अवस्थामा आफूले प्रयोग गर्ने सामान हेर्दा राम्रो र सस्तो प्रयोग गरुँ भन्नेपनि होला तर हाम्र्रा उत्पादनका केही गुण पनि राम्रो छन् कि भन्ने कुरामा कोही पनि गम्भीर बनेको पाइदैन । चिप्स, अचार लगायतका खाद्यान्न उत्पादन भइरहेका छन् तर यसले बजार पाउन सकेको छैन । हामीले अचारसँगै चाउचाउ, कपडा, जुत्ता, खेलौना लगायत कृषिसम्ममा काम गरिरहेका छौं । आफ्नो अभियानबाट कति सन्तुष्ट हुनुुहुन्छ ? अहिलेसम्म हामीले ४० जिल्लामा काम गरिसकेका छौं । महिलालाई माइतीमा रहँदा पनि बिहे गरेर जाने हो भन्ने मान्यताका साथ दबाएर राखिन्छ तर बिहे गरेर गइसके पछि घरको काम गरेर बस्ने हो भन्ने मान्यता राख्ने गरिन्छ । त्यो समस्या बरु गाउँमा सहज बन्दै गएको छ तर शहरमा अझै बढी समस्या छ । हामीले गरेको सहयोगका कारण धेरै महिलाको जीवनस्तरमा सुधार आएको छ । हामीले संस्थागत रुपमा पनि उद्यमशीलतामा मात्र होइन, हामीले सहयोग गर्दै आएका महिलाका बच्चाको पढाइलेखाइमा पनि सहयोग गर्दै आएका छौैं । कहिलेकाँही म सोच्छु, ‘मेरो सानो प्रयासले पनि धेरै सहयोग भएको छ ।’ बाहिर जिल्लाबाट स्वास्थ्य समस्या लिएर आउनुहुन्छ । स्वास्थ्यसम्बन्धी क्लिनिक चलाएर सहयोग गर्दै आएका छौं । उहाँहरूलाई आफै खर्च दिएर हुन्छ कि अस्पतालसँग समन्वय गरेर हुन्छ कि हामीले धेरैजनाको निशुल्क स्वास्थ्य उपचार गर्दै आएका छौं । दुर्गम जिल्लामा स्वास्थ्यसम्बन्धी हेल्थ क्याम्प गर्दा महिलालाई प्राथमिकता दिँदै आएका छौं । संस्थाले फण्डको व्यवस्थापन कसरी गर्दै आएको छ ? एनजीओको रूपमा दर्ता गरेपनि बाह्य सहयोग लिएका छैनौं । दाताबाट सहयोग लिएर काम गर्दै आएका अन्य एनजीओको कार्यशैली मलाई चित्त बुझेको छैन । तालिम दिने, पैसा खर्च गर्ने तर त्यसको प्रभावकारितालाई ध्यान दिएको पाइन्न । हामीले तालिम दिने भनेको सीप हस्तान्तरणको लागि हो । सीप सिकाएर सामाग्री पनि उपलब्ध गराउँदै आएका छौं । हाम्रा व्यवसायबाट आएको नाफाको ५० प्रतिशत सामाजिक काममा खर्चदै आएको छु ।