अस्पताल आउने सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या

Image
काठमाडौं – पछिल्लो समय देशैभरी आँखा पाक्ने समस्या (कन्जंग्टिवाइटिस) फैलिएको छ । देशैभरका अधिकांश आँखा अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको चाप बढिरहेको छ । अहिले आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामीमा आँखा पाक्ने समस्या देखिएको हो । नेपाल नेत्रज्योति संघअन्तरगतका आँखा अस्पतालमा आँखा जाँच गराउन आउने बिरामीमध्ये सरदर ५० प्रतिशत बिरामी कन्जंग्टिवाइटिसको उपचारका लागि आइरहेको संघका कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र बताउँछन् । ‘सुरुवातमा भारतको सिमावर्ती क्षेत्रमा मात्र कन्जंग्टिवाइटिसको समस्या देखिएको थियो तर अहिले देशैभरी यो समस्या फैलिरहेको छ, हाम्रो नेटवर्कका सबै अस्तालहरुको सोमबारसम्मको डाटा हेर्ने हो भने करिब दैनिक आँखा जाँच गराउने बिरामीको ५० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ, अहिलेको संक्रमण दर हेर्दा यो अझै बढ्ने जस्तो देखिन्छ,’ डा. मिश्रले भने । देशैभरी अहिले कन्जंग्टिवाइटिसको प्रकोप बढिरहेकाले यसमा केन्द्रित भएर सेवा प्रवाह गर्न संघ अन्तरगतका अस्पताल तथा उपचार केन्द्रलाई निर्देशन जारी गरिसकिएको बताउँछन् नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्द । नेपाल नेत्रज्योति संघको तथ्याङ्क अनुसार अहिले दैनिक आँखा जाँच गराउन आउने बिरामीमध्ये दाङको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा करिब ८० प्रतिशत, गेटा आँखा अस्पताल धनगढीमा ७० प्रतिशत, गौर आँखा अस्पताल गौरमा २५ प्रतिशत, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, भैरहवामा ३० प्रतिशत, किर्तिपुर आँखा अस्पतालमा ४५ प्रतिशत, हिमालय आँखा अस्पताल, पोखरामा ६० प्रतिशत, फत्तेवाल आँखा अस्पताल, नेपालगञ्जमा २० प्रतिशत, बिनोद निता कण्डेल आँखा अस्पताल, नवलपरासीमा ६० प्रतिशत, विराटनगर आँखा अस्पताल, विराटनगरमा २२ प्रतिशत, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, पाल्पामा ५० प्रतिशत र सगरमाथा चौधरी आँखा अस्पताल,लहानमा २० प्रतिशत बिरामीमा कन्जंग्टिवाइटिसको समस्या देखिएको छ । आँखा पाक्ने समस्या भएका बिरामीहरुमा अकस्मात आँखा रातो हुनु,आँखाको डिल सुनिएर हेर्न समस्या हुनु,आँखाबाट पानी बगिरहनु , आँखा चिलाउने, पोल्ने र बिझाउने हुनु, आँखामा पहेंलो चिप्रा आउनु, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनु आदि जस्ता लक्षण देखिने चिकित्सकको भनाइ छ । हरेक वर्ष बर्खाको समयमा आँखा पाक्ने समस्या देखिने गरेको भएतापनि यो पटक भने यो समस्या प्रकोपकै रुपमा फैलिरहेको चिकित्सकहरु बताउँछन् । सुरुवातमा भारताको सिमावर्ती क्षेत्रमा देखिएको यो समस्या अहिले देशैभरी फैलिएको छ । नेपाल नेत्रज्योति संघ, लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थानका मेडिकल डाइरेक्टर प्रा.डा ज्ञानेन्द्र लामिछानेका अनुसार आँखा पाकेको समयमा जथाभावी औषधीको प्रयोग गर्दा थप जटिलता समेत आउन सक्छ । ‘यो एडिनो भाइरसका कारण लाग्ने रोग हो, यस्ता समस्या देखिएका बिरामीहरुले नआत्तिइ सावधानी अपनाउनु पर्दछ चिकित्सकको सुझाव बिना जथाभावी आषधीको प्रयोग गर्नु हुँदैन यसले थप जटिलता निम्त्याउन पनि सक्छ’, प्रा.डा लामिछानेले भने । समाजमा कन्जंग्टिवाइटिसको समस्या भएका बिरामीहरुको आँखामा हेर्दैमा सर्छ भन्ने गलत मान्यता रहेको बताउछन् डा.लामिछाने । यस्तो समस्या देखिएका बिरामीहरुको आँखाबाट आएको आँसु मिसिएको वस्तु तथा सामानको प्रयोगबाट मात्र यो रोग सर्ने बताउँछन् उनी । यस्तो समस्या देखिएका बिरामीहरुले आँखा चिसोले तथा बरफले सेक्ने, सफा पानीले आँखा सफा गर्ने, घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने, संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने गर्न र बढि समस्या देखिए नजिकैको आँखा अस्पताल वा उपचार केन्द्रमा गई आँखा परिक्षण गर्नुपर्ने उनको सुझाव छ ।  
Tags: