तस्करीको सात करोडको सामान समातियो

Image
भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र प्रहरी बल ९ नं गण कार्यालयले जानकारी दिएको छ । महोत्तरी - सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको रू. सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ । गत आर्थिक वर्ष (आव) २०७९/८० मा जिल्लाका विभिन्न नाका हुँदै भन्सार छलेर ल्याइएका सामान बरामद गरी भन्सारलाई बुझाइएको हो । भन्सार छलेर सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय भिठ्ठामोरलाई बुझाइएको सशस्त्र प्रहरी बल ९ नं गण कार्यालयले जानकारी दिएको छ । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक लेखनाथ खनालका अनुसार गत आव २०७९÷८० मा भारतसँग सीमा जोडिएका जिल्लाको करीब ३९ किलोमिटर क्षेत्रमा विभिन्न नाकाबाट भन्सार छलेर ल्याउन लागिएको सामान नियन्त्रणमा लिई भन्सार कार्यालयलाई बुझाएको हो । भन्सार छलीका सामानमा सबैभन्दा बढी सवारीसाधन रहेका छन् । बरामद गरी भन्सारलाई बुझाइएका २२० सवारीसाधन रू. ३ करोड ४३ लाख मूल्यबराबरका रहेका छन् । यसैगरी रू. २३ लाख ८२ हजारको पशुचौपाया तथा रू. ३ करोड २३ लाख मूल्यबराबरका अन्य सामान बरामद गरी भन्सार दाखिला गरिएको एसपी खनालले जानकारी दिए । बरामद गरिएका अन्यमा रू. एक करोड ९ लाख मूल्यबराबरका किराना र कस्मेटिक सामग्री, रू. ९१ लाख ६० हजारका कपडा, रू. २८ लाख ३० हजारका चौँरी गाईका पुच्छर, रू. २५ लाख ६३ हजारका इलेक्ट्रोनिक्स सामानलगायत छन् ।
Tags: