मनहरिको नदीउकास क्षेत्रमा नरिवल खेती

Image
मकवानपुर । मकवानपुरको मनहरि गाउँपालिकाले नदीउकास क्षेत्रको सार्वजनिक जग्गामा नरिवल खेती शुरू गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम तथा गाउँपालिकाको संयुक्त पहलमा मनहरि–४ वनकरिया खेलमैदान नजिकै एक हजार ३६० नरिवलको बिरुवा रोपण गरिएको हो । नदीउकास क्षेत्रको सार्वजनिक जग्गा संरक्षण गर्न, वातावरण हरियाली बनाउन तथा स्थानीयलाई आयआर्जनसँग जोड्न नरिवल खेती थालनी गरिएको गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताए । ‘नरिवल खेतीलाई निरन्तरता दिने गरी गाउँपालिकाको नीति तथा कार्यक्रममै समेटेर अगाडि बढेका छौं,’ उनले भने । गाउँपालिकाले आर्थिक वर्ष (आव) २०८०÷८१ को नीति तथा कार्यक्रममा वन, वातावरण तथा विपद् व्यवस्थापन शीर्षकमा सामुदायिक वन तथा डिभिजन वनको सहयोगमा नदी उकासपर्ती जमीनमा आर्यआर्जन गर्ने गरी नरिवलको बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । गाउँपालिका अध्यक्ष कालाखेतीले नरिवल रोपेर नदीउकास जमीनको संरक्षण हुनुका साथै बस्ती जोगाउन र आयआर्जनमा जोड्न सहयोग पुग्ने विश्वास लिएको बताए । मनहरि–४ को रू. तीन लाख बजेटमा करीब दुई बिघा १० कठ्ठा सार्वजनिक जग्गामा नरिवल खेती गरिएको हो । प्रधानमन्त्री रोजगार कार्यक्रमको रू. ६ लाख ५० हजारमा तारजाली, घेराबार र खेतीको संरक्षण गर्न दुई कर्मचारी नियुक्त गरेर संरक्षणको जिम्मा दिइएको छ । मनहरि–७ मा लिची र अम्बा तथा वडा नं ८ मा एभोकाडोको बिरुवा रोप्ने तयारी रहेको उनले जानकारी दिए । नदीउकास जग्गा अतिक्रमणमा पर्ने सम्भावना बढ्दै गएपछि संरक्षणसँगै वडा र गाउँपालिकाको आयआर्जनका लागि स्रोत बढाउने लक्ष्यसहित नरिवल खेती सुरु गरिएको वडा नं ४ का अध्यक्ष प्रकाश थापाले बताए । उनले भने, ‘अहिले परीक्षणका लागि लगाएका छौँ, नरिवल खेतीको गोडमेल, संरक्षणलगायत काम वडा कार्यालयबाटै हुन्छ ।’ रासस
Tags: