‘हरेक क्षेत्रमा युवालाई नेतृत्व गर्न दिए चामत्कारिक सुधार हुन्छ’

Image

-जनक खड्का जोइन्ट सेक्रेटरी ग्लोबल युथ पार्लियमेन्ट जनक खड्का छोटो समय मै अन्तरराष्ट्रिय प्लेफर्ममा स्थापित गराउन सक्षम युवा हुन् । अन्तरराष्ट्रिय रूपमै युवाको क्षेत्रमा काम गर्दै आइरहेको संस्था ग्लोबल युथ पार्लियमेन्टको सचिवको रूपमा रहेका खड्का नेपालका मात्र नभएर विश्वभरका युवाका समस्या र सम्भावनालाई बोकेर हिँड्नुपर्ने मान्यता राख्छन् । हाल युएईमा रहेका खड्काले आफू सम्वद्ध संस्था र युवा केन्द्रित रहेर सबल नेपालसँग कुराकानी गरेका छन् । ग्लोबल युथ पार्लियामेन्ट के हो र यसले के काम गर्दै आएको छ ? ग्लोबल युथ पार्लियमेन्ट अन्तरराष्ट्रियस्तरको युथ संगठन हो । जसमा विश्वका ८५ ओटा संस्था आबद्ध छन् । युवालाई राजनीति र नेतृत्वमा लैजानको लागि संस्थाले त्यसको पहिचान, क्षमता विकासका योजनामार्फत काम गर्दै आइरहेको छ । नेतृत्वको कुरा गर्दा अन्तरराष्ट्रिय रूपमै विभिन्न सबाललाई उजागर गर्नको लागि संस्थाले काम गर्दै आएको छ । संस्थाले प्राथमिकता दिने भनेकै विश्वव्यापि रूपमा योगदान दिन सक्ने युवाको पहिचान नै हो, जसले कुनै न कुनै रूपमा आफ्नो क्षमता प्रदर्शन गरेर काम गर्दै आएका छन् । यो संस्थामा तपाईको भूमिका के छ ? म ग्लोबल युथ पार्लियमेन्टका धेरै राष्ट्रिय, अन्तरराष्ट्रिय कार्यक्रम सहभागी हुँदै आएको छु । यी कार्यक्रम कतिपय संस्थाका आफ्नै कार्यक्रम छन् त कतिपय संस्थागत सहभागितासँग जोडिएका कार्यक्रम पनि छन् । मैले अहिले अन्तरराष्ट्रिय सचिवको रूपमा जिम्मेवारी पाएको छु । म अगाडिदेखि नै धेरै सामाजिक काममा जोडिदै आएको हुँ । पछिल्लो समय मेरो आफ्नै व्यस्तताले सामाजिक काममा जोडिन पाएको थिएन । सामाजिक सेवालाई अब पूर्णरूपमा समय दिएरै ग्लोबल युथ पार्लियमेन्टमार्फत अगाडि बढिरहेको छु । ग्लोबल सिनारियोलाई हेर्दा नेपाली युवाको स्टाटस कहाँ छ ? कमजोर छैन । तर पनि हरेक क्षेत्रमा नेतृत्व गर्ने कुरामा नेपाली युवा पछाडि छन्, कतिपय अवस्थामा यो अवसरको कमी हो त कतिपय अवस्थामा युवाको आफ्नै सक्रियता र चासोको विषय पनि कारण होला । हामीले अन्तरराष्ट्रिय रूपमा गर्ने सम्मेलन तथा गोष्ठीहरूमा आआफ्नो देशको नेतृत्व गरेर युवाहरू आउनुहुन्छ । उहाँहरूसँग तुलना गर्दा केही कुरामा हामी अगाडि छौं, जस्तो नेपाली युवामा राजनीतिक र सामाजिक चेतनाको स्तर धेरै माथि छ । केही सवालमा बोल्न सक्ने र आवाज उठाउने कुरामा नेपाली युवाबाट अरुले सिक्नुपर्ने धेरै कुरा छन् । विश्व परिभेषमा हेर्दा हरेक सेक्टरमा मूख्य नेतृत्वमा पुरुष छन् तर हाम्रोमा शुरूआत त केही भएको छ तर त्यसलाई निरन्तरता दिने कुरामा र युवाको नेतृत्वमाथि विश्वास गर्ने कुरामा अझै पनि धेरै सुधार गर्नुपर्ने छ । हाम्रो ग्लोबल युथ पार्लियमेन्टको कुरा गर्दा पनि त्यसको नेतृत्व नेपालीले गर्नुभएको छ भनेपछि हामी कमजोर त पक्कै होइनौं, तर यसको व्यवस्थापन र विस्तार जरूरी पक्कै हो । नेपाली युवाका समस्या के हुन ? रोजगारीको अभाव र अन्य कमजोर सम्भावनाका कारण नेपाली युवाको देश छाड्ने क्रम बढ्दो छ । युवाको सीप र क्षमता विस्तारलाई प्राथमिकता दिने साथै उनीहरूको सीप र क्षमतालाई कदर गरेर देशमै केही गर्ने वातावरण बनाइदिनुपर्छ । युवा विदेश पलायन हुनुको कारण बलियो विकल्प अरू नभएर पनि हो । विदेश जाने कुरामा एउटा ह्वीम नै चलेको पनि छ । युवालाई उत्पादनमूलक क्षेत्रमा लगाउन सक्नुपर्छ । जुन देशको उत्पादन क्षेत्र कमजोर हुन्छ, त्यस्तो देशमा युवा पलायन हुने प्रवृत्ति बढी हुन्छ, हाम्रोमा पनि भएको त्यही हो । अहिले धेरै लगानी गर्न नसक्ने र कमजोर पहुँच भएका व्यक्ति खाडीमा गएका छन् । सक्नेहरू युरोप, अष्ट्रेलिया अमेरिका तिर पलायन भएका छन् । युवालाई आफ्नो देशमा थामेर राख्न नसक्नु अहिलेको मुख्य समस्या हो । युवालाई कसरी क्रियटिभ बनाउन सकिन्छ ? अहिले मुलकको नेतृत्वले युवाको पक्षमा काम गरेमात्रै पनि धेरै कुरामा सुधार हुन्छ । युवा धेरै सृजनशील छन् तर त्यसको सही परिचालनको वातावरण भएन । जोश र जाँगर युवामा नै हुन्छ । नेपाली युवामा भएको कला र क्षमतालाई अहिलेकै अवस्थामा सक्रिय गराउँदा पनि धेरै कुरा सुधार हुन्छ । युवाको परिचालनका लागि महŒवपूर्ण कुरा त उत्पादनशील कुरामा लगानी बढाउनु , नेतृत्वमा युवालाईसँगै लैजानु, उद्यमशीलता, डिप्लोमेसीमा युवा सहभागिता बढाउनु अहिलेको प्राथमिकताका काम हुन् । अबका योजना के छन् ? अहिले म युएईमा छु । मैले नेतृत्व गरेको संस्था एटुजे डकुमेन्ट क्लियरिङ सर्भिस हो । आइटी सम्बद्ध संस्थामा पनि जोडिएको छु । अहिले युएई कार्यक्षेत्र भएपनि मैले लामो समय नेपाललाई कार्यक्षेत्र बनाएर काम गरेको छु । ग्लोबल युथ पार्लियमेन्टको अबको सम्मेलन अमेरिकाको न्युयोर्कमा हुँदैछ । त्यसमा आफूलाई कसरी प्रस्तुत गर्ने भन्ने कुरा मेरो चुनौतीको विषय पनि हो । यो अन्तरराष्ट्रिय प्लेटफर्म पनि भएकोले अब मेरा एजेण्डा भनेको युवाको विश्वव्यापी समस्यामा केन्द्रित रहनु नै हो । त्यो भनेको विश्वका हरेक देशका युवाबीच सद्भाव कायम गर्दै एकअर्काका समस्या समाधानको लागि पहल कदमी अगाडि बढाउनु हो । नेतृत्वले चेनको रूपमा काम गरेको हुन्छ, जुन निरन्तर आइरहन्छ । मेरो प्राथमिकता नेतृत्वमा हरेक युवालाई पुर्याउने र नेतृत्व हस्तान्तरणको संस्कार कायम गर्नु हो । अर्को कुरा विश्व शान्तिको एजेण्डालाई अगाडि बढाउने मेरो योजना छ । मैले युवका क्षेत्रमा काम गरेको स्वरूप ‘वल्र्ड डिप्लोमेसी अवार्ड’ पाएको छु । दुबईमा ‘द लिडर अवार्ड’ पनि पाएको थिएँ । वल्र्ड पुलिस समिटमा डेलिगेटको रूपमा काम गरेको छु । अन्तरराष्ट्रिय फोरमहरूमा म सन् २०१५ देखि नै सहभागी हुँदै आएको छु ।

Tags: