जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम

Image
काठमाडौं– मधेश प्रदेशको जनकपुरधाम र सिमरामा नेपाल टेलिकमको सेवा सम्बन्धी जानकारी एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रवार जनकपुरधाम र शनिवार सिमरामा सो कार्यक्रम सम्पन्न भएको नेपाल टेलिकम प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । उक्त अवसरमा मधेस प्रदेशमा नेपाल टेलिकमको सेवा सम्बन्धी संघ, प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिहरुसँग विभिन्न विषयमा छलफल भएको थियो । कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्रदेशमा प्रभावकारी र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउनका लागि जनप्रतिनिधिसँग आवश्यक सहकार्य गर्न आग्रह गर्नुभयो । यसका लागि आवश्यक योजना बनाउन र डिजिटल डिभाइडलाई न्यूनीकरण गर्नका लागि निर्देशन दिइन् । सरकारले प्रत्येक प्रदेशका कम्तीमा दुई जिल्लालाई पूर्ण दूर सञ्चारयुक्त जिल्ला बनाउने योजनाका साथ कार्य गरिरहेको र क्रमशः सबै जिल्लालाई पूर्ण दूर सञ्चारयुक्त बनाइने उनले बताइन् । मधेश प्रदेशका पर्यटन मन्त्री सुनिता यादवले सरकारी निकायले नै सबै क्षेत्रमा सेवा पुर्‍याउनु पर्छ भन्ने मान्यता जनतामा रहेको र यसका लागि छिटो छरितो रुपमा सेवा उपलब्ध गराउनु पर्ने बताइन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं कम्पनी सञ्चालक समितिका निमित्त अध्यक्ष बाबुराम भण्डारीले नेपाल टेलिकमलाई कस्तो बनाउने र कता लैजाने भन्ने विषयमा महत्वपूर्ण सुझाव प्राप्त गरेको बताउँदै सुझाव र निर्देशनका लागि आभार व्यक्त गरे । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवाको उपभोग गर्न पाउनु सबैको अधिकार भएको र यसका लागि समन्वयको भूमिकामा प्राधिकरण रहेको भन्दै मधेश प्रदेशका राजमार्ग लगायतका स्थानमा टावर लगायतका संरचना निर्माणमा समन्वय गरि दिनका लागि जनप्रतिनिधिहरुको भूमिका हुने बताए। नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीले भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्न यस आर्थिक वर्ष २०८०÷८१ मा मर्मत सम्भार कार्यलाई विशेष सेवाको रुपमा विकास गर्न आवश्यक रणनीति तथा कार्यक्रमहरु तयार गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताए । मधेश प्रदेशका कुल ५५० भन्दा बढी स्थानबाट कम्पनीले जीएसएम प्रविधिको सेवा उपलब्ध गराइरहेको र ३० भन्दा बढी स्थानबाट एफटीटीएच वितरण गरिरहेको जानकारी दिए। मधेश प्रदेशमा जनसंख्या धेरै भएको र यसको अनुपातमा कम्पनीका प्रयोगकर्ता समेत बढाउनका लागि आवश्यक सहकार्य गर्न उनलेआग्रह गरे । नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय मधेश प्रदेशका निर्देशक अमुल प्रधानले कम्पनीले सो प्रदेशमा उपलब्ध गराइरहेको सेवा र आगामी योजनाका वारेमा जानकारी दिनुभयो । आगामी दिनमा ग्राहकको सबै गुनासो प्रदेश स्तरमै समाधान गर्ने लक्ष्यका साथ कार्य भइरहेको बताउँदै उहाँले आगामी दिनमा ग्राहक सेवा केन्द्रलाई चुस्त दुरुस्त बनाई अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक अर्जुन घिमिरेले आम उपभोक्ताले प्रयोग गर्ने दूरसञ्चार सेवा गुणस्तरीय बनाउनु कम्पनीको दायित्व भएको र यसका लागि प्राधिकरणले नियामकको रुपमा सधै सहयोग गर्ने बताउनु भयो । सो अवसरमा कम्पनीले उपलब्ध गराइरहेका विभिन्न सेवाहरुको वारेमा उप–प्रबन्धक नवल चौधरी र ब।ई। बन्टी श्रेष्ठ, कम्पनीका सेवाहरु विदेशमा समेत प्रयोग गर्न सकिने रोमिङ सेवाको वारेमा उप–प्रबन्धक समिर बहादुर श्रेष्ठ र मधेश प्रदेशमा नेपाल टेलिकमको सेवाको अवस्था वारेमा उप–प्रबन्धक निरञ्जन घिमिरेले प्रस्तुतिकरण गर्नुभएको थियो । अन्तरक्रियाको अवसरमा जनप्रतिनिधिहरुले नेपाल टेलिकमको सेवा वारेमा आफ्नो धारणा व्यक्त गर्नुका साथै यसलाई प्रभावकारी बनाउने वारेमा आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो । जनप्रतिनिधिहरुले राखेका विभिन्न जिज्ञासाको वारेमा मन्त्रीका साथै कम्पनीका प्रबन्ध निर्देशक सुनिल पौडेल तथा प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी, प्रमुख सञ्चालन अधिकृत झविन्द्र लाल उपाध्याय, वायरलेस सेवा निर्देशनालय निर्देशक मिनु प्रधान लगायतले स्पष्ट पार्नुभएको थियो । कार्यक्रममा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ र ज्वालाकुमारी साह, संघ र प्रदेशका सांसदहरु, स्थानीय निकायका प्रमुखहरु र अन्य क्षेत्रका व्यक्तित्वहरूको समेत सहभागिता रहेको थियो ।
Tags: