‘नेपालीका समस्या समाधान र संस्थागत सक्रियताका लागि मेरो नेतृत्व’

Image

बुद्धी गुरुङ एनआरएनए–कोरिया अध्यक्षका उम्मेदवार काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको नवौं राष्ट्रिय सम्मेलन २९ र ३० जुलाईमा सम्पन्न हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ । नयाँ नेतृत्वका लागि कोरियामा रहेको नेपाली माझ लोकप्रिय बुद्धि गुरुङले उम्मेदवारी दिएका छन् । ३३ वर्षदेखि कोरियामा बस्दै आएका गुरुङ आफू कोरियामा लामो समय व्यतित मात्र गरेको नभई कोरियामा रहेको नेपाली, कोरियासँगको सम्बन्ध र कोरिया–नेपालसम्बन्धमा समेत योगदान दिएको दावी गर्छन् । आफूले कोरियामा रहेका नेपालीको समस्या समाधानका लागि काम गर्दै आएका बताए । आफूले सरकारको प्रतिनिधित्व गरेर बसेको राजदुतावासलाई थप जवाफदेही र जिम्मेवार बन्नको लागि आवश्यक सहयोग गर्ने बताए । सबल नेपालसँग कुरा गर्दै उनले भने, ‘हरेक शनिवार र आइतवार तथा सार्वजनिक विदामा राजदुतावास खोल्ने काम भएकोछैन, त्यो समयमा पनि खोल्न पहल गरी नागरिकका समस्या सहजीकरणमा सहयोग गर्नुपर्नेछ ’ । उनले धेरै नेपाली विभिन्न कारणले गैरकानूनी भएर बस्नुपरेको तथ्य रहेको भन्दै त्यसलाई एनआरएनएले सहजीकरण गर्नुपर्ने बताउँछन् । ‘भिसा अवधि सकिएर बसेका नेपालीको पासपोर्टको म्याद थपगरी पासपोर्ट बनाउन पाउने नियमका लागि पहल गर्ने, नेपाली भाषामैत्री विद्यालय स्थापनार्थ सम्बन्धित निकायसँग समन्वय गर्नेलगायतका मेरा एजेण्डा छन् ।’ उनले कोरियामा रहेका नेपाली आफ्नो काममा व्यस्त हुने परिपाटी रहेकोले कोरियाको कानून बारे अद्यावधि नभएर दुःख पाएको बताउँछन् । ‘कोरियामा बेलाबखतमा हुने गरेका नियम कानून परिवर्तनका बारेमा नेपालीमा नै यथासिघ्र जानकारी गराउने, नेपाली विद्यार्थीहरुको उच्च शिक्षाका लागि आकर्षक गन्तव्य बनिरहेको कोरियामा उनीहरुको समस्या पहिचान गरी समस्या समाधानका लागि मेरो नेतृत्वको कार्य समितिले काम गर्छ, ’ उनले भने । अध्यक्षका उम्मेदवार गुरुङले कोरियामा बसेपनि नेपाल प्रति चासो चिन्ता गर्दै आएको बताउँछन् । विदेशमा रहेका नेपालीले आफ्नो मुलुकको हितको लागि कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरामा संस्थागत रूपमा चिन्ता गर्नुपर्ने बेला भएको उनको भनाई छ । ‘ नेपाल प्राकृतिक तथा सांस्कृतिक पर्यटनको उच्च सम्भावना रहेको र नेपाल घुम्नैपर्ने उत्कृष्ट गन्तव्यको रूपमा विश्वलाई चिनाउनु छ, ’ उनले भने,‘ कोरियामा विभिन्न कार्यक्रमको पहल गर्ने, कोरियामा रहेका विभिन्न नेपाली संघ संस्थाहरुसँग समन्वय गर्दै विभिन्न सांस्कृतिक प्रर्वद्धनका लागि नेपाल सांस्कृतिक केन्द्रको स्थापना गर्ने लगायतका काम गर्न सकिन्छ ।’ उनले नेपालमा कृषि तथा औधोगिक क्षेत्रमा आधुनिककीकरण तथा लगानीमा वृद्धि गरी राष्ट्रको अर्थतन्त्र तथा रोजगारीको सृजनामा विशेष पहल गर्नुपर्ने बताउँछन् । उच्च हवाइ भाडादरले श्रमिक तथा विद्यार्थी वर्गमा पर्न गएको आर्थिक भारलाई ध्यानमा राख्दै नेपाली ध्वाजावाहक सिधा उडानको लागि सम्बन्धित निकायमा विशेष पहल गर्न आफ्नो नेतृत्वले पहल गर्ने उनको भनाइ छ । उनले भाषागत समस्या, कानूनी परामर्श एवं नेपाली श्रमिकसँग सम्बन्धित समस्याको समाधानका लागि क्षेत्रीय संस्थासँग सहकार्य गरी अनलाइन हेल्पडेस्कको स्थापना गर्ने र खेलकुद विभाग स्थापना गर्ने र त्यसअन्र्तगत पर्ने सबै खालका खेलकुद समेट्ने हरेक खेलको एनआरएनए टिम तयार गरी खेलकुद कार्यक्रम तथा विशेष तालिमको व्यवस्था गर्ने साथै नेपाल सरकारको मातहतमा आयोजा हुने प्रतियोगितामा खेलाडीलाई कोरियाबाट सहभागिता गराउन पहल गरिने बताए । आफ्नो लामो योगदान र एजेण्डाका कारण आफूले निर्वाचनमा जित हासिल गर्ने उनको दावी छ ।

Tags: