‘संस्थागत रूपमा काम गर्दा प्रभावकारी हुने भएकोले नेतृत्वमा आउन चाहेको छु’ – आरती ह्योल्मो

Image

आरती ह्योल्मो एनआरएनए महिला उपाध्यक्षका उम्मेदवार काठमाडौं– गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको नवौं राष्ट्रिय महाधिवेशन २९ र ३० जुलाईमा सम्पन्न हुँदैछ । महाधिवेशनले नयाँ कार्य समिति पनि चयन गर्दैछ । सन् २०२३–२०२५ का लागि चयन हुने विभिन्न पदका आकांक्षीले आफूलाई पूर्ण रूपमा चुनाव प्रचार प्रसारमा व्यस्त बनाएका छन् । आफूलाई महिला उपाध्यक्षको रूपमा अगाडि सारेकी आरती ह्योल्मोले आफ्नो चुनावी अभियानलाई तिव्रता दिएकी छिन् । पोखरामा जन्मिएर १३ वर्षदेखि दक्षिण कोरियालाई कर्मथलो बनाएकी आफूले कोरियामा रहेका नेपालीको लागि विभिन्न क्षेत्रबाट सहयोग गर्दै आएको बताउँछिन् । कोरियामा रहँदा धेरै अफ्ठ्यारा भोगेको अनुभव रहेकी उनी हरेक नेपाली ती अफ्ठ्याराबाट नगुज्रनका लागि एनआरएनएले काम गर्नुपर्ने बताउँछिन् । आफूले गरेका अनुभव र आकांक्षालाई मुर्त रूप दिनको लागि आफू महिला उपाध्यक्षमा आउनुपर्ने उनको तर्क छ । एनआरएनएलाई नजिकबाट बुझेकी उनले हालसम्म काम गर्नेभन्दा कुरा र योजनामात्र बढी बुन्ने काम भएको भन्दै साँच्चिकै काम गरेर देखाउने व्यक्ति नेतृत्वमा जानुपर्ने बताउँछिन् । उनी भन्छिन्, ‘कतिपय अवस्थामा धेरैको एनआरएनए प्रतिको हेर्ने दृष्टिकोण नै बदलिएर गएको छ, किन एनआरएनएसँग जोडिने, किन भोट हाल्ने भन्ने मान्यताको समेत विकास भएको छ, कुनै समय म पनि त्यही अवस्थाबाट गुज्रिएकी थिएँ ।’ ह्योल्मो कोरियामा धेरै नेपाली समस्यामा रहेको र उनीहरूलाई अभिभावकत्व प्रदान गर्न कै लागि भएपनि संस्था जोगिनुपर्ने र व्यवस्थित हुनुपर्ने बताउँछिन् । कोरियन नागरिक बनिसकेकी ह्योल्मो एनसीसीको वर्तमान वरिष्ठ उपाध्यक्ष तथा कास्की परिवार दक्षिण कोरियाकी निवर्तमान अध्यक्ष पनि हुन् । त्यस्तै विभिन्न सामाजिक संस्थाहरूमा आवद्द भई सेवा गरेकी उनी बोल्नभन्दा पनि काम गर्न मनपर्ने बताउँछिन् । बाहिरी समाज वा सामाजिक सञ्जालमा चर्चा कमाउनुभन्दा अप्ठ्यारोमा परेकालाई सहयोग गर्दा मन आनन्दित हुने बताउने उनले विभिन्न समयमा भाषा अनुवाददेखि लिएर परामर्श लगाएत आवश्यक परेको अवस्थामा विभिन्न तवरले कोरियामा रहेका नेपालीलाई सहयोग गरिरहेको बताउँछिन् । तर्क बितर्क गर्ने, भाषण गर्ने भन्दा पनि काम गर्ने बानी भएको बताउने ह्योल्मो धेरै भन्दा धेरैलाई रोजगारी दिन चाहन्छिन् । त्यसो त उनले नेपालमा पनि दिपाङ्ग हिल रिसोर्ट खोलेर आफ्नो व्यावसायिक दैनिकी अगाडि बढाउँदै आएकी छिन् । उनले सार्वजनिक गरेका आफ्ना निति र चुनावी एजेन्डाहरु मध्ये सबैभन्दा महत्वपूर्ण एजेण्डा पारदर्शी भएर काम गर्ने र सम्पूर्णले महसुस गर्न सक्ने एनआरएन बनाउनु पर्ने बताउँछिन् । उनले आफूले निर्वाचनलाई सामान्य प्रकृयाको रूपमा लिएको र हार जित जे भएपनि सामाजिक सेवामा क्रियाशिल हुने बताउँछिन् । संस्थागत रूपमा सेवा गर्ने वातावरण बनाउनको लागि उनले आफूलाई जिताउन सबैसँग अपिल गरेकी छिन् ।

Tags: