अरेबियन स्वाद चखाउँदै ‘द ब्ल्याक गोल्ड हलाल रेष्टुरेन्ट’

Image

–दीपा रेग्मी/काठमाडौं मानिस हरेक स्वादको पारखी छ । त्यसलाई फरक कल्चर र परिभेषको खानाले झन् छुट्टै अर्थ राख्छ । यीनै स्वादको विविधतालाई पूरा गर्न अरेबियन खानाको स्वाद पस्किँदै आएको छ, ‘द ब्ल्याक गोल्ड हलाल रेष्टुरेन्ट’ ले । प्रेस्टिजिओ होल्डिङ्स ग्रुपले व्यवस्थापन गरेको यो रेष्टुरेन्ट काठमाडौंको दरवार मार्गमा अवस्थित छ । यो रेष्टुरेन्ट गत फेब्रुअरीदेखि सञ्चालनमा आएको हो । मुस्लिम समुदाय पयर्टक लक्षित रेष्टुरेन्टको सञ्चालक मध्येका एक बालकृष्ण श्रेष्ठ ‘द ब्ल्याक गोल्ड हलाल रेष्टुरेन्ट’ अरेवियन स्वाद चाख्न चाहने सबै पारखीलाई उत्तिकै प्रिय लाग्ने बताउँछन् । तथापि रेष्टुरेन्ट विशेष गरि मुस्लिम समुदाय त्यसमा पनि मुस्लिम समुदायका पर्यटकलाई लक्षित गरेर खोलिएको हो । नेपालमा आउने पर्यटकको ३० देखि ४० प्रतिशत मुस्लिम समुदायका पर्यटक आउने अनुमान छ तर उनीहरूले विशेष गरी खाने हलाल खानालाई प्राथमिकता दिएर रेष्टुरेन्ट खुलेका छैनन् , सञ्चालक श्रेष्ठ यही अभाव टार्न हलाल रेष्टुरेन्ट खुलेको बताउँछन् । ‘हलाल प्रतिको आममान्यता नै गलत छ । हलाललाई गाई काटेर खाने भन्ने गलत बुझाई छ , हलाल भनेको पशु काट्नुभन्दा अगाडि भगवानको नाम लिएर (जवा गरेर) काट्ने गरिन्छ , यस्तो चलन हाम्रो हिन्दु संस्कृतिमा पनि विद्यमान छ, ’ श्रेष्ठ भन्छन्, ‘पशुपन्छी मार्दा यसको जानकारी उसले पाउनुपर्र्छ भन्ने मुस्लिमको मान्यता छ, यसको लागि पहिला नशा काटेर रगत फालिन्छ,यसलाई वैज्ञानिक दृष्टिले पनि उत्तम मानिन्छ ।’ उनी नेपाल घुम्न आएका मुस्लिम पर्यटक आफूले चाहेको र आफ्नो कल्चर अनुसार खान नपाउने अवस्था हटाउनको लागि ‘हलाल रेष्टुरेन्ट’ को अवधारणा ल्याएको बताउँछन् । रेष्टुरेन्ट प्रतिको आम प्रतिकृया सकारात्मक रहेको सञ्चालकहरू बताउँछन् । सञ्चालक श्रेष्ठ भन्छन्, ‘धेरैले गुगल म्यापमा खोज्दै पनि आउनुभएको छ, हामीले दिने सेवा, खानाको गुणस्तर, सरसफाइ र अन्तरराष्ट्रियस्तरको पहिचानले धेरै पर्यटक आउने गर्नुभएको छ,त्यसमा पनि धेरैजसो अन्तरराष्ट्रिय पर्यटक नै बढी हुनुहुन्छ ।’ रेष्टुरेन्टमा आन्तरिक पर्यटकको भने त्यति बढी आकर्षण छैन, किन त ? श्रेष्ठ भन्छन, ‘अहिले आर्थिक रूपमा सहज वातावरण छैन भने धेरै नेपाली मुस्लिम समुदायका व्यक्तिहरू यसरी रेष्टुरेन्टमा गएर खाने संस्कृति पनि छैन ।’ मुस्लिम समुदायलाई लक्षित गरी खोलिएको रेष्टुरेन्ट भएकाले रेष्टुरेन्टमा अरब, मलेसिया, चाइना, पाकिस्तान, बंगलादेश ग्राहक आउने गरेका छन् । ‘अहिले बजारमा हलालमैत्री रेष्टुरेन्ट र होटलमा मदिरा चल्ने तर उहाँहरूले मदिरा नखाने भएकोले त्यस्तोमा जान हिच्किचाउने गरेको पाइन्छ, हाम्रोमा त्यो नभएर पनि केही आकर्षण बढ्दो छ, ’ श्रेष्ठ भन्छन्, ‘हामीले पूर्णरूपमा हलाल अवधारणामा काम गरेका छौं, रक्सी र पोर्क पूर्णरूपमा बन्देज गरिएको छ श्रेष्ठ वैदेशिक रोजगार व्यवसायमा पनि आबद्ध छु । नेपालबाट वैदेशिक रोजगारीमा जाने भनेकै अधिकांश अरब र मलेसिया रहको र ती देशमा कामदार छनोट गर्दा आउने समूह धेरै मुस्लिम समुदायका नै हुने हुँदा कम्तीमा त्यो समूहका लागि मात्रैभएपनि सेवा दिने लक्ष्यका साथ रेष्टुरेन्ट सञ्चालनमा ल्याएको उनी बताउँछन् । ‘अर्को पर्यटन बोर्डको तथ्यांक हेर्दा पनि मुस्लिम पर्यटकको फ्लो बढ्दो देखिन्छ ,यसले पनि हामीलाई यसतर्फ प्रेरित गरेको हो,’ उनी भन्छन्, ‘विश्वमै पनि मुस्लिम समुदायको तथ्यांक बढ्दोछ, विभिन्न सम्भाव्यता अध्ययनमा पनि त्यस्तो देखिए पनि हामीले हलाल रेष्टुरेन्ट शुरूवात गरेका हौं ।’ उनी आफूहरू योजना अनुसार नै अगाडि बढिरहेको बताउँछन् र ग्राहक पनि त्यसै अनुसार नै बढ्दै आइरहेको उनको भनाइ छ । कस्तो छ मूल्य ? इन्टरनेशनल स्ट्रिटको रूपमा रहेको दरवार मार्गको लोकेशनमा रहेको कारण लागतका हिसाबले पनि महंगो ठाउँमा भएपनि ग्राहकले औसत मूल्यमा सेवा पाउने सञ्चालकको भनाइ छ । ‘ हामी उच्च गुणस्तर तर मध्यम मूल्यमा सेवा दिँदै आएका छौं ,जसकै कारण कुनै पनि ग्राहकले खानमा कञ्जुस्याँई गरेको देखिन्न, ’ सञ्चालक श्रेष्ठ भन्छन्, ‘ग्राहकले यो मूल्य प्रति सन्तुष्ट हुनुहुन्छ, उहाँहरूको भनाइ सुन्दा पनि यो मूल्य ग्राहकमैत्री छ ।’ राज्यको सहयोग सञ्चालक श्रेष्ठ राज्य व्यवासयमैत्री नभएको बताउँछन् । ‘सरकारको कामै कर उठाउने हो जस्तो लाग्छ, त्यसभन्दा बढी सरकारले गर्ने सहयोग देखिन्न ,हाम्रो व्यवसाय मात्र होइन अन्य कुनै पनि व्यवसायमा सरकारको सहयोग छैन र सरकार व्यवसायीमैत्री छैन भन्ने कुरामा स्पष्ट छ , ’ उनी भन्छन् । राज्यले चाहे व्यवसाय शुरुवात गर्दा सहुलियत दिन सक्ने भएपनि राज्यको नीति त्यसतर्फ नगएको उनको गुनासो छ। ‘नेपाल मात्र यस्तो देश हो जहाँ निजी क्षेत्रले सरकारलाई पालिररहेकोछ, एउटा व्यवसायीले कति ठाउँमा कर तिर्ने ? एउटा परिवार पाल्न सामान्यतया १ लाख रुपैयाँले खर्च पुग्दैन तर सरकारले १ लाख कमाउनले लाई २५ प्रतिशत कर असुल्छ ,’ उनी भन्छन् । नयाँ व्यवसायीले जोखिम मोलेर व्यवसाय शुरु गर्ने तर संघ देखि स्थानीय तहसम्मले कर असुल्ने प्रवृत्तिले व्यवसायीमा उत्साह नभएको उनको भनाइ छ । केही गर्ने उत्साह नयाँ प्रकृतिको व्यवसाय त्यसमा पनि देखिएका विभिन्न अवरोधका बीच सञ्चालकहरू विचलित भने छैनन् । ‘अफ्ठ्यारा धेरै छन् तर हाम्रो टिमले तमाम अबरोधका बीच पनि व्यवसायलाई सकारात्मक भएर भोलि केही सुधार होला भनेर काम गरिरेका छौं, ’ सञ्चालक श्रेष्ठ भन्छन् । रेष्टुरेन्टमा बिहान ११ बजेदेखि राती १० बजेसम्म सेवा दिइने गरेको छ । रेष्टुरेन्टले डेलिभरी सेवा दिँदै आएको उनीहरूको भनाइ छ । अहिले डिप्लोम्याट र अन्तरराष्ट्रिय ग्राहकले धेरै डेलिभरी सुविधा लिँदै आएका छन् । ग्राहकले धेरै आइटम खोज्ने भएपनि रेष्टुरेन्टले सबै अर्डर पूरा गर्न सकेको छैन । ‘हाम्रो मेनुको बेसमा सेवा दिएका छौं, कतिपय अवस्थामा उहाँहरूको अर्डरका आधारमा खाना दिन्छौं, हमुस,फटुस, बाबा गनुस सलादको पाइन्छ भने मेन कोर्सको रूपमा मन्डी सर्भ गर्छौं ।’ रेष्टुरेन्ट विभिन्न अवसरमा हलाल क्याटेरिङको सेवा दिने योजनामा छ । नेपालमा विभिन्न मुलुकबाट आएर बसोबास गर्दै आएका मुस्लिम समुदायको लागि क्याटेरिङ सर्भिसले मद्धत गर्ने उनीहरूको अपेक्षा छ । गुणस्तरमा प्रतिबद्ध सञ्चालक श्रेष्ठ अहिलेका मूख्य चुनौती भनेकै लक्षित समूहसम्म पुग्नुमा रहेको बताउँछन् । ‘उनीहरूको विश्वास कसरी जित्ने भन्ने नै चुनौती हो, हामीले नाम मात्रको हलाल रेष्टुरेन्ट खोलेका छैनौं , हामी प्रिन्सिपल्ली राइट छौं, कुनै पनि कुरा दिँदा त्यसमा शुद्धता हुनुपर्छ, ’ उनी भन्छन्,‘शुद्धता नभए ग्राहकको विश्वास जित्न गाह्रो हुन्छ ।’ रेष्टुरेन्टले आवश्यक मसला दुबई, साउदीबाट ल्याउने गरेकोछ । हलाल मासुको हकमा विशुद्ध हलाल स्टोरबाट मात्र मासु ल्याउने गरेको श्रेष्ठ बताउँछन् । ‘हामीले हरेक मासु स्टान्र्डर्ड मूल्य तिरेर ल्याउने गरेका हुन्छौ , हलाल मासु नपाउँदा दुबईबाट समेत ल्याउने गरेका छौं , ग्राहकले हामीलाई विश्वास गर्नु भएको छ भने हामीले उहाँहरूको इमोसनसँग खेल्न मिल्दैन,’ उनी भन्छन् । नेपाली मुस्लिम समुदायलाई आकर्षण गर्ने योजनामा रहेको सञ्चालक श्रेष्ठ बताउँछन् । ‘मुस्लिम समुदायमा रेष्टुरेन्टमा खाने चलन कम छ यसको कारण उहाँहरूको संस्कृतिमैत्री रेष्टुरेन्ट नभएर पनि हो । अब विस्तारै उहाँहरू पनि आउँदै हुुनुहुन्छ, अहिलेलाई विदेशी पर्यटकको पहिलो रोजाईमा हामी छौं । ’

Tags: