परिवर्तनकारी शक्तिबीच वृहत मोर्चा आवश्यकः देव गुरुङ

Image
काठमाडौं– नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले परितर्वनकारी शक्ति मिल्नुको विकल्प नभएको बताएका छन् । साम्राज्यवादी देशले युद्ध र समाजवादी देशले शान्तिको नीति अख्तियार गरेको उनले बताए । ‘विश्व एक ध्रुवबाट दुई ध्रुवमा विभाजित हुन पुगेको छ । साम्राज्यवादी शक्ति तथा देशले युद्धको नीति अख्तियार गरेका छन् भने सामाजवादी देशहरु शान्तिको, परिवर्तनकारी शक्तिबीच वृहत मोर्चाबन्दी आवश्यक भएको छ, अहिलेको आवश्यकता कम्युनिस्टहरूबीच एकता हो’ गुरुङले भने । ‘नेपाल जुछे विचार प्रतिष्ठान’ले सोमवार संवाद डबलीमा कोरियाको ७० औं विजय दिवसको वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रममा बोल्दै गुरुङले प्रजातान्त्रिक जनवादी कोरिया उत्पीडित राष्ट्रको लागि प्रेरणा बनेको बताए । अहिलेको विश्वको प्रमुख अन्तरविरोध उत्पीडित राष्ट्र र साम्राज्यवादबीच भएको बताउँदै गुरुङले जनतालाई सर्वेसर्वा भन्ने किम इल सुङको जुछे विचार वैज्ञानिक भएको बताए । उत्पीडित राष्ट्र र जनताले साम्राज्यवादी शक्तिसँग लड्न जुछे विचार आत्मसात गर्न आवश्यक रहेको गुरुङले बताए । देश स्वाधिन र आत्मनिर्भर हुन कोरियाबाट सिक्नुपर्ने समेत उनले बताए । कार्यक्रममा नेपालको लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले जनताको शक्तिकै आधारमा आफ्नो देश विजयी भएको बताए । मानले आफ्नो देश जनतासँग एकाकार भएर अगाडि बढेको बताउँदै जनताको शक्तिले नै कोरिया विदेशी हस्तक्षेबाट मुक्त भएर प्रगतिमा अगाडि बढेको बताए । माओवादी केन्द्रका युवा नेता रामदीप आचार्यले जनता एकजुट भए ठूला विजय प्राप्त हुने र देश आत्मनिर्भर हुन्छन् भन्ने कुरा कोरियालीबाट सिक्नुपर्ने बताए । उत्पीडित र बाह्य हस्तक्षेपबाट मुक्त हुन कोरियाली जनताको संघर्ष प्रेरणादायी भएको बताए । कार्यक्रममा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बास्कोटा, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का अध्यक्ष सिताराम तामाङ, अखिल नेपाल किसान युनियनका इन्चार्ज लोकनारायण सुवेदी, किसान नेता दुर्गाप्रसाद जैसी, बलराम बास्कोटालगायतको उपस्थिति रहेको थियो । नेपाल जुछे विचारका अध्यक्ष नहेन्द्र खड्काको अध्यक्षमा सम्पन्न कार्यक्रमको सञ्चालन शिवहरी खनालले गरेका थिए ।
Tags: