‘श्रमिकको साथी श्रमिक नै हुनुपर्ने’ एजेण्डा सहित महासचिवमा सन्तोष खड्काको उम्मेदवारी

Image

काठमाडाैं–गैर आवासीय नेपाली संघ र अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको चुनाव नजिकिँदै छ । निर्वाचनमा उम्मेदवारी दिँदै विभिन्न आकांक्षीले आफूले जित्ने दावी गर्दै चुनावी प्रतिस्पर्धामा होमिएका छन् । यसैबीच महासचिव पदमा उम्मेदवारी दिएका कोरियामा चिरपरिचित सन्तोष खड्काले मतदाताको आकर्षणको केन्द्र आफूरहेको दावी गर्छन् । रामेछापमा जन्मिएर कोरियालाई कर्मभूमि बनाएका सक्रिय सामाजिक अभियन्ता एवं सञ्चारकर्मी खड्का विद्यार्थी र श्रमिकको प्रतिनिधित्व गर्दै एनआरएनए २०२३–२०२५ का लागि महासचिव पदमा उम्मेदवारी दिएको बताउँछन् । नेपाली समाजमा निकै परिचित उनी हाल नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका वरिष्ठ उपाध्यक्ष, रामेछाप सम्पर्क समिति दक्षिण कोरिया , नेपाल तराई समाज दक्षिण कोरिया लगायत आधा दर्जन संघसंस्थाका सल्लाहकार समेत रहेका छन् । ‘कामदार दैनिक’का सम्पादकसमेत रहेका उनी सेवा प्रवाह, मकै हाउस अनलाइन लगायत आधादर्जन भन्दा बढी प्रतिष्ठित सञ्चार गृहमा अतिथि सम्पादकको रूपमा समेत कार्यरत छन् । ‘मोटिभेशनल स्पिकर’को रूपमा समेत आफ्नो छुट्टै पहिचान बनाएका खड्काले भारत, थाइल्यान्ड, कम्बोडिया, लाओस्, दक्षिण कोरिया, फिलिपिन्स लगायत विभिन्न देशमा ‘मोटिभेशनल स्पिकर’का ’ रूपमा आफ्नो प्रस्तुति दिइसकेका छन् । कोरियाको प्रतिष्ठित हान्याङ विश्वविद्यालयबाट अन्तरराष्ट्रिय अध्ययनमा स्नातकोत्तर गरेका उनी हाल विद्या वारिधि अध्ययनरत् छन् । विभिन्न सम्मेलनमा धेरैपटक कोरिया आइसकेका उनी निरन्तर रूपमा भने अध्ययनको सिलसिलामा २०१३ देखि स्थायी रूपमा कोरियामा बसोबास गरिरहेका छन् । आफू विद्यार्थी र श्रमिक दुबै भएकोले विद्यार्थी र श्रमिकको हकहितको लागि काम गर्ने उनी बताउँछन् । आफ्नो कार्यकालमा नारामा हैन साँच्चिकै एनआरएनए विद्यार्थी र श्रमिकमैत्री हुने उनको भनाइ छ । यस्ता छन् खड्काका नीति र चुनावी एजेन्डा – महिनाको चारओटै आइतवार र अन्य सार्वजनिक विदामा पनि नेपाली राजदुतावासको सेवा दिनको लागि पहल गर्ने । – नेपाली राजदुतावास र एनआरएनए को संयुक्त आयोजनामा भइरहेको पासपोर्ट नवीकरण र अन्य विविध सेवासहितको घुम्ती सेवालाई निरन्तरता दिई अझ प्रभावकारी र सबैको पहुँचमा पुर्याउने । – महङ्गो भाडा दरको स्थायी समाधानको लागि सम्बन्धित पक्षसँग छलफल गरि राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई कोरियादेखि नेपालसम्म सिधा उडानको लागि सम्बन्धित निकायसँग पहल गर्ने । – कोरियामा नेपाली भाषा, संस्कृति एवं रितिरिवाजको प्रवद्र्धनका निमित्त कोरियाली विद्यालयमा नेपाली भाषा, संस्कृति एवं रितिरिवाज सम्बन्धि कक्षा सञ्चालनको लागि सम्बन्धित पक्षसँग पहल गर्ने । –यस्तै कोरियामा उच्च शिक्षाका लागि आउने नेपाली विद्यार्थीका समस्या समाधान, भाषागत तथा कानूनी परामर्श सम्बन्धी समस्या समाधानका लागि विगतमा पनि प्रयास रहेको र आफू महासचिव पदमा निर्वाचित भए आफूले गरेका यी सबै वाचा पूरा गर्ने ।

Tags: