सेवा वितरणमा विभेद नहोस् : मन्त्री मोदी

Image
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सेवाग्राहीका रूपमा आउने कर्मचारीलाई विभेदरहित ढंगले सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । मन्त्री मोदीले बिहीवार राष्ट्रिय किताबखाना (निजामती)को आकस्मिक अनुगमन गर्दै सेवा वितरणमा विभेद गर्ने र जनतालाई दुःख दिने कर्मचारीलाई कारबाही गरिने बताए । उनले भने, ‘सेवाग्राहीका रूपमा आउने सरकारी कर्मचारीलाई समेत विभेदरहित ढंगले सेवा प्रवाह गर्नुपर्छ, सेवा वितरणमा विभेद गर्नेलाई कारबाही हुन्छ ।’ सोही अनुगमनका क्रममा मन्त्री मोदीले सेवाग्राहीका रूपमा किताबखानामा आएका कर्मचारीलाई सेवा वितरणमा गुनासो भए त्यसको जानकारी आफूलाई गराउन आग्रह गरेका थिए । कर्मचारी समयमै कार्यालयमा नआउने र पूरा समय कार्यालयमा नबस्ने गुनासो आएपछि आफूले आकस्मिक निरीक्षण गरेको बताउँदै मन्त्री मोदीले शहरमा र सुविधायुक्त ठाउँमा मात्र रहेका कर्मचारीलाई आलोपालो दुर्गम क्षेत्रमा पनि सरुवा गरिने बताए । मन्त्री मोदीले सामान्य प्रशासन मन्त्रालयअन्तर्गतका निजामती अस्पताल, राष्ट्रिय किताबखानाको नियमित छड्के अनुगमन गर्दै आएका छन् । किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेले मन्त्री मोदीलाई किताबखानाबाट धेरैजसो सेवा अनलाइनमा वितरण हुने गरेको जानकारी दिए । उनले कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाह जटिल भएको जानकारी गराएका थिए । किताबखानाले निजामती कर्मचारीको सिटरोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक, पेन्सनपट्टा बनाउने र सम्पत्ति विवरण लिने काम गर्दै आएको छ । रासस
Tags: