खडेरीले धान सुक्यो, चिन्तामा किसान

Image
बाँके - बाँकेमा पर्याप्त वर्षा नहुँदा खेतमा रोपेको धान सुक्न थालेपछि किसान चिन्तित भएका छन् । जानकी गाउँपालिका–१ जोगागाउँकी किसान सरिता जोशीले मोटरबाट पानी तानेर जसोतसो रोपेको धान पानी नपरेपछि सुक्दै गएको र अझै केही दिन पानी नपरे धान बचाउन गाह्रो हुने बताइन् । वर्षभरी खाने धान सुक्दै जाँदा मनमा चिन्ता बढ्दै गएको उनको भनाइ छ । जोशीले खडेरीले गाउँका किसानको रोपेको धान खेतमै सुकेको र रोप्ने तयारी भएको बीउ ब्याडमै सुक्न थालेको बताइन् । पानीको अभावमा धान रोपेको खेत फाट्दै जाँदा किसान चिन्तित भएका छन् । बाँकेमा दुई सातादेखि पानी पर्न सकेको छैन । खडेरीले बाँकेको कृषिमा नराम्रो असर पर्दै गएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख शकिल अहमदले जानकारी दिए । उनले यसपटक पर्याप्त वर्षा नभएकाले बाँकेमा अहिलेसम्म सबैतिर रोपाइँ हुन नसकेको बताए । उनका अनुसार बाँकेमा हालसम्म ७० प्रतिशत रोपाइँ भएको छ । अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा मात्रै रोपाइँ गरिएको छ । हालसम्म सबैभन्दा बढी बैजनाथ, डुडुवा, खजुरा र राप्तीसोनारी गाउँपालिकामा रोपाइँ भएको तथा सबैभन्दा कम नरैनापुर गाउँपालिकामा रोपाइँ भएको छ । बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धान खेती हुने गर्दछ । अधिकांश ठाउँमा आकाशे पानीकै भर पर्नुपर्ने भएकाले धानखेती समयमा हुनसकेको छैन । पछिल्ला वर्ष बाँकेका किसान समयमा पानी नपर्दा उत्पादन घट्ने, पानी परेर समयमै रोपे पनि पछि बाढीले क्षति पु¥याउने, मल अभाव लगायतका समस्यामा पर्दै आएको अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले बताए । ‘सिक्टा सिँचाइ आयोजनाले पश्चिमी र पूर्वी मूल नहरमा पानी छाडेकाले कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा र राप्ती सोनारी गाउँपालिकाका केही भेगका किसानले खेतमा सिँचाइ गर्न पाएका छन्,’ केसीले भने, ‘सिक्टा नहर पूर्णरूपमा सञ्चालन नभएका कारण अधिकांश किसान आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ ।’रासस
Tags: