सडक हिलाम्मे भएपछि धान रोपेर विरोध

Image
राज्यश्वोर मल्ल मुगु –वर्षातको मौसममा धान रोप्नु नौलो होइन तर, रोपाईं भइरहेको यो क्षेत्र खेत होइन, गाडी गुड्ने सडकमा हो । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने ‘नाग्म–गमगढी सडक’अन्तर्गतपर्ने मुगुको सदरमुकाम गमगढी न्युरोड सडक हिलाम्मे स्थानीयले विरोध स्वरुप धान रोपेका छन् । स्थानीयले आवतजावतमा समस्या भएपछि विरोधमा उत्रिएका हुन् । सडकको स्तरोन्नतिको जिम्मा पाएको विकास श्रेय जेभीले समयमै काम गर्न नसक्दा यो सडक वर्षातमा हिलो हिउँदमा धुलाम्य हुन्छ । पटक पटक सडक निर्माणको काम सक्न ताकेता गरिरहे पनि सम्बन्धित निकायले चासो नदेखाउँदा स्थानीयले विरोध स्वरुप सडकमै धान रोपेका हुन् । स्थानीयले सडक निर्माण गर्ने ठेकेदार र निर्माणको जिम्मा दिएको सडक डिभिजन कार्यालयमा पटक पटक ताकेता गर्दै आएका छन् तर स्थानीयले वर्षैभरी हिलो र धुलोको सामना गर्दै आएका छन् । सडक निर्माणको काम समयमै नहुने र म्याद थपिदै जाने हुँदा सबैलाई सास्ती भएको छ । सडक डिभिजन कार्यालय जुम्लामार्फत ९ करोड ६० लाख २४ हजार ९ सय ५४ रकम विनियोजित गरेर डेढ वर्षभित्र गमगढी बजार न्युरोड सडकको नालासहित स्तरोन्नति गर्न २०७८ साल मंसिरमा विकास श्रेय जेभीलाई आयोजनाको जिम्मा दिएको थियो । तर, पहिलो वर्ष काम नै सुरु हुन सकेन । अहिले म्याद थपेर काम भइरहेको छ । हरेक वर्ष सडक डिभिजन कार्यालय जुम्लाले सडक निमार्णमा करोडौं बजेट विनियोजत गर्ने गरेको छ । करोडौं लगानी हुँदा पनि सडकको अवस्था भने उस्तै छ ।
Tags: