Image
काठमाडौं - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको लाइभ गर्ने भएको छ। कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाले सोमबारको पदाधिकारी बैठकमा फेसबुक लाइभ गर्ने प्रस्ताव पेश गरेका थिए। सोही अनुसार आज पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेदेखि सुरु हुने बैठकको लाइभ गर्ने तयारी गरेको हो। पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गर्ने तयारी भइरहेको छ। करिब एक वर्ष पछि बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्न पदाधिकारी बैठकले हिजो १० बुँदे कार्यसूची तयार पारेको छ। पदाधिकारी बैठकले समसामयिक राजनीतिक विषय, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णयहरू अनुमोदनका लागि पेश गर्ने, साङ्गठनिक कार्ययोजना र कार्यतालिकासम्बन्धी प्रस्ताव, नीति अधिवेशन सम्बन्धमा छलफल गरी मिति र स्थान तय गर्ने, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची तय गरेको छ। त्यस्तै विभाग गठनसम्बन्धी, पार्टीको राष्ट्रिय अभियान घोषणासम्बन्धी प्रस्ताव, अनुशासन समितिको प्रतिवेदनसम्बन्धी, प्रतिनिधिसभा बैठकमा पार्टीको भूमिका, सरकारमा पार्टीको भूमिका विषयको कार्यसूची तय गरेको छ।
Tags: