एनडीए–नेपाल अर्थोपेडिक अस्पताललाई हिमालय एअरलाइन्स्को सहयोग

Image
काठमाडौं - हिमालय एअरलाइन्स् प्रालिले सामाजिक उत्तरदायित्वको आफ्नो मुख्य उद्देश्य पूरा गर्न स्वास्थ्य सेवा क्षेत्रमा सहयोग शुरू गरेको छ । आइतवार भएको हस्तान्तरण समारोहमा एअरलाइन्स्का अध्यक्ष झोउ एन्योङ्गले एनडीए–नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल डाइरेक्टर डा.कैलाश कुमार भण्डारीलाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण गरे । अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको बताइएको छ । उक्त सहयोगले खाँचोमा परेका बिरामीले सस्तो सेवा शुल्कमा गुणस्तरीय अर्थोपेडिक सेवा पाउने बताइएको छ । वार्डले कम आर्थिक अवस्था भएका बिरामीलाई सेवा दिँदै आएको र एअरलाइन्स्को सहयोगले राम्रो कामको लागि अनुकूल वातावरण सिर्जना गर्न वातानुकूलित सेवा प्रदान गर्ने बताइएको छ । अस्पताल परिसरमा आयोजित हस्तान्तरण समारोहपछि एअरलाइन्स्का अध्यक्ष एन्योङ्गले सगरमाथा जनरल वार्डको भ्रमण गरी त्यहाँको अवस्था अवलोकन गरेका थिए । उनले हिमालय एअरलाइन्स्को लक्ष्य नेपालको उड्डयन क्षेत्रमा प्रगतिशील वृद्धि गर्ने मात्रै नभई सामाजिक उत्तरदायित्व प्रतिको आफ्नो जिम्मेवारीलाई पूरा गर्न सक्दो प्रयास गर्ने योजना पनि राखेको बताए । ‘म आशा गर्दछु कि हाम्रो सानो योगदानले नेपाल अर्थोपेडिक अस्पतालको गुणस्तरीय हेरचाहका साथ खाँचोमा परेका मानिसहरूको सेवा गर्ने प्रयासलाई बलियो बनाउन मद्दत गर्नेछ,’ उनले भने । उनले नेपाल अपाङ्ग संघका पदाधिकारीहरूद्वारा हेरचाह गर्ने बालबालिकाको अनाथ आश्रमलाई सहयोग गर्न एअरलाइन्स्को इन्फ्लाइट पत्रिकाको नाफाबाट आउने केही अंश सहयोग गर्ने बताए । डा कैलाश कुमार भण्डारीले हिमालयको यो मानवीय र उदार कार्यको उच्च प्रशंसा र कदर गर्ने र नेपाल अर्थोपेडिक अस्पतालसँगको सहकार्य सुरुवातको लागि हिमालय एयरलाइन्स प्रति हामी आभारी रहेको बताए । एअरलाइन्स्ले कोभिड–१९ महामारीको चुनौतीपूर्ण अवधिमा भेरो सेल भ्याक्सिन, कोभिड–१९ अत्यावश्यक चिकित्सा उपकरण र भेन्टिलेटर, पीसीआर परीक्षण मेसिन, इन्फ्रारेड थर्मोमिटर , पीपीई, र सर्जिकल मास्क आदि उपलब्ध गराएको स्मरण गरेको छ ।
Tags: