नेपाली भान्साको पोषण माहात्म्य

Image
डा. अरुणा उप्रेती भलाकुसारी गर्दा ‘भात खानुभयो ?’ भनेर सोधिन्छ । नेपाल र भारतका कति ठाउँमा दाल–भात दैनिक रूपमै खाइन्छ । कतिले दाल–भातले स्वास्थ्य राम्रो गर्दैन भन्छन् । तर, सादा दालभात तरकारी वैदिककालदेखि नै पूर्वीय खानपिन संस्कृतिको सदावहार परिकार हो । सन् २०१९, सेप्टेम्बर १० मा विश्व प्रसिद्ध बेलायती ‘नेचर जर्नल’मा दाल, भात, रोटी, सब्जी र भान्सामा दैनिक रूपमा प्रयोग गरिने मसलाका बारेमा महŒवपूर्ण अनुसन्धान प्रकाशित भयो । दालभातको सट्टा छोडेर पत्रु परिकार बर्गर, पिज्जा, स्यान्डविच, चाउमिन, चाउचाउ खाँदा मुटुरोग, मधुमेह रोग एवं वंशाणुगत रोग हुन्छ भन्नेबारे यस अनुसन्धानमा विशेष चर्चा गरिएको छ । चारजना विशेषज्ञ वैज्ञानिकले २ वर्षको समय लगाएर गरेको अनुसन्धानमा परम्परागत दाल भात र पत्रु खानाको तुलनात्मक अनुसन्धानले देखाएको छ, दाल भात उत्तम खाना हो । नेपालमा धानको भातको साथै अन्य अन्न, जस्तै– कोदो, फापर, गहुँ आदि पनि खाइन्छ । पहिले यस्तो अन्नको वास्ता गरिन्नथ्यो । बालबालिकालाई पनि जाउलो र खिचडी (अर्थात दाल र भात मिसाएर पकाएको) खुवाउने चलन समाजमा छ, जसको षियमा पनि एकमुस्ट रूपमा यस अनुसन्धानले विश्लेषण गरेको छ । दालमा (प्रोटिनयुक्त) र सब्जी (भिटामिन र मिनिरल्सयुक्त) सबैसँगै खाँदा सेवनले शरीरलाई सञ्चो गर्छ । अतः ‘भात खानु भयो ?’ भनेर सोध्नुको अर्थ ‘सञ्चो हुनुहुन्छ’ नि, भन्नु हो । भात खाएको छैन भन्नुको अर्थ ‘सञ्चो छैन’ भन्ने पनि बुझिन्छ । किनकी, भातजस्तो सादा वा सस्तो चिज पनि खान नसकेको वा खान नपाउनु भनेको उसको शरीरमा वा जीवनमा समस्या छ भन्ने संकेत हो । चामल सहज रूपमा उपलब्ध नहुने ठाउँमा पनि त्यसको विकल्पमा अन्य अनाज धन बाहेक अन्य अन्न र स्थानीय रूपमा फल्ने गेडागुडीलाई दालको परिकार बनाएर खाने गरिन्छ । जर्मनीको ल्युबेक युनिभर्सिटीका प्राध्यापक राँल्फ लुडविजको नेतृत्वमा भारती डा. यास्क गुप्ता र उनका २ जना वैज्ञानिक साथीको समूहले मिलेर गरेको उक्त अनुसन्धानबाट नेपाल र भारतको भान्सामा पाक्ने दाल भात र तरकारीको परिकारलाई स्वस्थकर रहेको पुष्टि गरेको थियो । मौलिक पकाउने शैली, तरकारीको विविधता, मसलाको औषधीय गुण, ताजा अचार आदिले खाना सन्तुलित एवं दाल– भातलाई रुचिकर बनाउँछ । यसरी पाकेको खानाले शरीरलाई स्वस्थ बनाउँछ । स्वस्थ भोजनले मानव शरीरका खर्बौं खर्ब कोषहरुलाई लगातार उर्जा सञ्चार गर्छ । कोष थाक्न दिँदैन फलतः शरीर थाक्न पाउँदैन । यस्तो खान छाडेर मानिस प्रोटिन, क्याल्सियमको चक्की खान्छन् । हिजोआज पोषणको कुरा गर्दा ‘प्रोटिन’ ‘क्याल्सियम’ ‘आइरन’ ‘जिंक’, आदि क्याप्सुलका रूपमा दिए मात्र स्वास्थ्य राम्रो हुन्छ भन्ने भ्रमपूर्ण धारणा छ ।अहिलेचाहिँ थालमा भात खाने परम्परागत चलनलाई व्यापारीले थाली भनेर पस्कन्छन् । महंगो पैसा लिन्छन् । अहिले नेपाली खानाको रूपमा सबै भात, दाल, तरकारी, अचार, दही, कढी, पापड हुन्छ । गुन्द्रुक, गोलभेडा र टिमुरको अचार पनि हुन्छ । अर्थात वैज्ञानिकरूपमा हेर्दा त्यस व्यञ्जनमा शरीरलाई आवश्यक ‘सूक्ष्म पोषक’ तत्व भरिपूर्ण हुन्छन् । दाल भात मिलाएर खाए पेटमा शोषण पनि राम्रोसँग हुन्छ । सदावहार स्वास्थ्यको रहस्य सादा दाल, भात र तरकारीमा छ । विभिन्न अन्नबाट बनेका भात, रोटी र दाल गेडागुडीसँगै खाँदा रोगसँग लड्ने शक्ति बढ्छ भन्ने बुझ्नुपर्छ ।
Tags: