पैठारीको नयाँ व्यवस्थामा नाडाको चासो

Image
काठमाडौं - नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधि मण्डलले शुक्रवार भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलसँग भेट गरेको छ । नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वको प्रतिनिधिमण्डलले महानिर्देशक पौडेलसँग भेटगरी वीरगञ्ज भन्सार कार्यालय, पर्साले साउन १ गते लागु गर्न लागेकने नयाँ व्यवस्थाले पार्ने समस्याका विषयमा छलफल गरेको हो । पैठारी हुने तयारी मालवस्तु बजारमा विक्री वितरणका लागि पठाउनुअघि प्याकिङमा आयातकर्ता र बजार वितरकको पूरा विवरण सहितको लेवल लगाउन भन्सारले निर्देशन दिएको छ । नाडाका अध्यक्ष थापाले उल्लेखित विषय कुन क्षेत्रमा लागु गर्ने भनिएको हो प्रष्ट नभएको र अटोमोबाइल स्पेयर पार्टसका कतिपय वस्तुमा यस्तो व्यवस्था लागु गर्न कठिनाई हुने राय दिएका थिए । सो छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले त्यसको कार्यान्वयमा आउने व्यवहारिक समस्या र अप्ठ्याराबारे जिज्ञासा राखेका थिए । सो छलफलमा महानिर्देशक पौडेलले विदेशबाट धेरै नक्कली सामान पैठारी भई आउने भएकोले बैध व्यवसायलाई प्रोत्साहन गर्न र तस्करी तथा चोरी पैठारीलाई निरुत्साहित गर्न यस्तो व्यवस्था गर्न लागिएको भन्दै अटोमोबाइल स्पेयर पार्टसको आयातमा पनि यो व्यवस्था लागु हुने बताएका थिए । यसै क्रममा उनले अटोमोबाइल स्पेयर पार्टसका केही वस्तुमा कठिनाई भए विभागले छिट्टै कार्यविधि समेत जारी गर्ने र सोहीमार्फत समस्या सम्बोधन गर्ने बताए ।
Tags: