सार्वजनिक सडक , दशक देखि तिरो तिर्दै स्थानीय

Image
राज्यश्वोर मल्ल मुगु – मुगुको छायाँनाथ रारानगरपालिका–२ की नन्दकला मल्लको नाग्मगमगढी सडकअन्तर्गत गमगढी बजारको न्यूरोडमा जग्गा छ । एक दशकअघि नाग्म गमगढी सडक बन्ने भएपछि उनले आफ्नो जग्गा सडकलाई दिइन् तर, सम्बन्धित निकायले जग्गाको लगत कट्टा नगर्दा उनले सडकको समेत कर (तिरो) तिर्दै आएकी छिन् । आफ्नो ठाउँ सडक सञ्जालमा जोडिन लागेसँगै मुगु र जुम्लाबासीले नाग्म गमगढी सडक निर्माणका लागि खुशी हुँदै जग्गा दिए । जग्गा दिएको एक दशक बितिसकेको छ तर अहिलेसम्म पनि सडकको लगत कट्टा नहुँदा भने मुगुको बासिन्दा सडकले ओगटेको जग्गाकोसमेत कर तिर्दै आएका छन् । नाग्म गमगढी सडकको निर्माणसँगै २०६९ साल पुस १ गतेबाट मुगु जिल्ला सडक सञ्जालमा जोडिएको हो तर नाग्म गमगढी सडकको लगत कट्टा गर्न भने सम्बन्धित निकायले अहिलेसम्म चासो नदेखाएको स्थानीयकोे गुनासो छ । सडकखण्डको ९५ किलोमिटर सडक डिभिजन कार्यालय जुम्ला मातहतमा पर्छ । तर डिभिजन कार्यलय जुम्लाले लगत कट्टाको विषयमा कुनै पहल गरेको छैन । आफ्नो गाउँठाउँमा सडक सञ्जाल पुग्दा मुगुका नागरिकमा खुसीको सीमा थिएन । दशकौसम्म पनि त्यहि सडकको कर तिरिरहनु पर्ने बाध्यताका कारण भने सडक नै बेखुसीको कारण बनेको छ ।
Tags: