बजेट निर्माणमा सुझाव संकलन गर्न गण्डकी गाउँपालिकाको काठमाडौंमा अन्तरक्रिया

Image
काठमाडौं–गोरखाको गण्डकी गाउँपालिकाको आयोजनामा एकदिने सल्लाह सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम शनिवार काठमाडौंमा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०÷८१ को बजेटको प्रभावकारी कार्यान्वयन कसरी गर्ने र पालिकाको विकास समृद्धिमा पालिकावासीको भूमिकालाई कसरी समेट्ने भन्ने बोरेमा छलफल भएको हो । साथै अन्य संघ सस्थासँग कस्तो सहकार्य गर्न सकिन्छ भन्ने उद्धेश्यका लागि गण्डकी गाउँपालिका गोरखाले काठमाडौँमा बृहत अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रमको आयोजना गरेको हो कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले पालिकाले काठमाडौंमै आएर संघसस्था तथा पालीकाबासी सल्लाह सुझाव तथा अन्तरक्रिया आयोजना गरेकोमा पालिकाको प्रसंशा गर्दै कार्यक्रमबाट आएका सुझावको उचित कार्यन्वयन गर्ने समेत पालिकालाई आग्रह गरे । साथै उनले जनप्रतिनिधिको ध्यान बजेटमा मात्रै केन्द्रित भएकोमा असन्तुष्टि व्यक्त गरे । स्थानीय सरकारको ध्यान निरन्तरताभन्दा पनि क्रम भंगतातिर जानुपर्ने उनले बताए । स्थानीय सरकारले अब बजेट विनियोजन गर्दा मेघा प्रोजेक्टमा लगानी गर्नुपर्नेमा धितालले जोड दिए । उनले बढ्दै गएको बसाइँसराइलाई रोक्ने गरी नीति तथा बजेट आउनुपर्ने उनको भनाइ थियो । पालिकाभित्र भएको प्राकृतिक स्रोतको उचित व्यवस्थापन र बजारीकरण गरी त्यसबाट लाभ लिन सकिने गरी कार्यक्रम अघि सार्न पालिकालाई धितालले सुझाव दिए । यसैगरी उक्त कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य कमला पन्तले उपयुक्त समयमा कार्यक्रम राखेकोमा धन्यवाद दिइन् । साथै पन्तले आगामी दिनमा यो कार्यक्रमलाई निरन्तरता दिन समेत आग्रह गरिन् । पन्तले स्थानीय सरकारको पालिकाभित्र उत्पादन भएका वस्तुहरुको बजारीकरणमा ध्यान दिए उत्पादनमा वृद्धि हुने जिकिर गर्दै पालिकाको अबको त्यसतर्फ ध्यान जानुपर्ने बताइन्। उनले भनिन्, ‘अहिले सिङ्गो मुलुकमा चुनौती भनेको ग्रामीण क्षेत्रबाट हुने गरेको बसाइँसराइ हो । यसलाई रोक्न स्थानीय सरकारले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुपर्छ । साथै पर्यटन गोरखाको आर्थिक समृद्धिको मेरुदण्ड भएको र पर्यटन क्षेत्रको विकास र प्रचारप्रसारमा समेत ध्यान दिनुपर्ने आएको आवश्यकता भएको छ ।’ उनले नीति कार्यक्रम तथा बजेट निर्माण गर्दा पार्टीभन्दा माथि उठेर जनताको आवश्यकतालाई प्राथमिकतामा राख्नेतर्फ ध्यान दिन जनप्रतिनिधिलाई सुझाव दिँदै अब पालिकालाई सामुदायिक खेतीतर्फ लगानी बढाउन पनि आग्रह गरिन् । यता प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाँईले नेपालमा सबैभन्दा ठूलो चुनौती भनेको स्थानीय उत्पादनको बजारीकरण र आयात प्रतिस्थापन गर्नु रहेको बताए । गाउँघरमा बढ्दै गएको बसाईंसराईं रोक्नु स्थानीय सरकारको चुनौती रहेको समेत उनले बताए । कार्यक्रमका सभापति तथा गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले गाउँपालिकाले पालिकाको समग्र विकासमा सहयोग पुग्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको र कार्यक्रमबाट आएको सल्लाह सुझावलाई पालिकाले गम्भीरताका साथ कार्यन्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘पालिकाले पूर्वाधार विकास र सामाजिक विकास तथा कृषिको विकासलाई प्राथमिकतामा राखेर कार्य सम्पादन गर्दै आएको छ ।’ उनले यसलाई गाउँसभाको रूपमा बुझ्न् समेत आग्रह गरे । पालिकालाई एउटा सुन्दर पालिकाको रूपमा विकास गर्ने सम्पूर्ण जनप्रतिनिधिको ध्यान केन्द्रिय रहेको उनले बताए । कार्यक्रमबाट आएको महत्वपूर्ण सल्लाह सुझाव पालिकाले आत्मसात् गरेर अधि बढ्न आफू प्रतिबद्ध रहेको उनले बताए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै पालिकाकी उपाध्यक्ष ललिता अधिकारीले पालिकाको समृद्धिका लागि सम्पूर्ण जनप्रतिनिधिको ध्यान केन्द्रिय रहेको निर्वाचित भएको एक वर्षभित्रमा अपेक्षाकृत काम गरिएको र यो कार्यक्रमले पालिकको समृद्धिका लागि कोशे ढुंगा सावित हुने बताइन् । कार्यक्रममा विविध संघ संस्थाहरुले पालिकाभित्र संचालन गर्न सकिने शैक्षिक, पूर्वाधार, सामाजिक विकास, पर्यटन पूर्वाधार कृषिको उत्पादन तथा बजारीकरण लगायतका कार्यक्रम तथा योजना प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहभागी पालिका बासीले नीति कार्यक्रम तथा बजेट निर्माण क्रममा रहेको बेला पालिकाले कार्यक्रम आयोजना गरी सल्लाह सुझाव संकलन तथा छलफल आयोजना गरिएकोमा धन्यवाद दिँदै आएको सल्लाह सुझाव उचित कार्यान्वयनका लागि समेत आग्रह गरे । साथै नीति कार्यक्रम तथा बजेट निर्माण गर्दै अल्पकालीन योजनामाभन्दा पनि दीर्घकालीन योजनामा लगानी गर्न सुझाव दिएका थिए । आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरेका थिए । बसंघीय लोकतान्त्रिक व्यवस्थाअनुसार देश संघीयतामा गइसकेपछि संघ सरकारले जेठ १५ गते बजेट निर्माण गर्ने गरेको छ। प्रदेश सरकार असार १ गते र स्थानीय असार १० बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेको छ।
Tags: