तेस्रो रारा ट्रेल रनको उपाधि शेर बहादुरलाई, बाँकी उपाधि पनि जुम्लाका खेलाडीलाई

Image
राज्यशोर मल्ल मुगु – पर्यटन प्रवद्र्धन र राराको प्रचारप्रसारका लागि विगत तीन वर्षदेखि आयोजना गरिँदै आएको ‘रारा ट्रेल रन’को उपाधि जुम्लाका शेरबहादुर अधिकारीले हात पारेका छन् । रारा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री बक्स गुल्म र छायाँनाथ रारा नगरपालिकाले संयुक्त आयोजनामा सम्पन्न तेस्रो रारा ट्रेल रनको उपाधि जुम्लाको हिमा गाउँपालिका— ६ पातरखोलाका अधिकारीले रारा ताल वरिपरी १६ किलो मिटर दौड ५९ मिनेट २० सेकेन्डमा पार गरी प्रथम उपाधि हासिल गरेका हुन् । उक्त प्रतियोगितामा २२२ जना खेलाडी सहभागी रहेको श्री बक्स गुल्म हुटु राराका गुल्मपति डोलराज श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा जुम्ला कनकासुन्दरी गाउँपालिका—३ का शेरबहादुर बुढाले १ घण्टा १२ सेकेन्डमा पार गरी द्रोस्रो र तेस्रो उपाधी जुम्लाकै पातारासी गाउँपालिका —५ का दिपेन्द्र बोहोराले हात पारेका छन् । बोहोराले १ घण्टा १ मिनेट २१ सेकेन्डमा पार गरेको श्री दल गुल्मले जानकारी दिएको छ । त्यसैगरी महिलातर्फ जुम्लाको गुठिचौर गाउँपालिका— ३ की राज्यलक्ष्मी रावलले पहिलो उपाधी हात पारिन् । १६ किलो मिटर रावलले १ घण्टा १३ मिनेट ५२ सेकेन्डमा उनले पार गरेकी थिइन् । यस्तै दोश्रो स्थानमा जुम्लाकै तिला गाउँपालिक—९ की अनिता बुढा रहेकी छन् । उनले १ घण्टा १४ मिनेट २१ सेकेन्डमा लगाइने तेस्रो स्थानमा जुम्लाकै पातारासी गाउँपालिका— २ की समिता बुढाले १ घण्टा १६ मिनेट ३७ सेकेन्डमा पार गरेकी थिइन् । बिजेता पुरुष तथा महिला खेलाडीलाई प्रथम, दोस्रो र तेस्रोलाई क्रमश ४० हजार, ३० हजार र २० हजार रुपैयाँ रकम पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जानकारी दिएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र र कर्णाली प्रदेशका अन्य खेलाडी गरी २२२ जना सहभागीमध्ये पहिलो दोस्रो र तेस्रो पुरुष तथा महिला उपाधि सबै जुम्ला जिल्लाका खेलाडीले हात पारेका छन् ।
Tags: