गैरआवासीय नेपाली संघको अबको एजेन्डा : संस्थागत सुधार र एकता अपरिहार्य

Image
सुमन पौडेल अहिले विश्वभरि गैरआवासीय संघको राष्ट्रिय समन्वय परिषद्को नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । कुनै पनि राजनीतिक दल, संघ–संस्था र संगठनको नयाँ कार्यसमिति चयनको प्रक्रिया र प्रवृत्ति जसरी नेपालमा देखिन्छ, त्यही प्रक्रियाको संस्कार र रौनकता नेपाली आफू जहाँ पुग्छन्, त्यहाँ पुर्‍याएको पाइन्छ । विदेशमा रहेका नेपालीका राजनीतिक दलहरू निकट भ्रातृ संगठन र संस्थाले संस्थागत रूपमै निर्णय गरेर उम्मेदवारहरू छनोट गरिरहेका छन् । समर्थन प्राप्त सम्भावित उम्मेदवारले आफ्नो निकटका गैरआवासीय नेपाली मतदातालाई गैरआवासीय संघको सदस्यता लिन आग्रह गर्दै आफ्नै खर्चमा सदस्यता नवीकरण शुल्क तिरेर समेत मतदाता नामावालीमा नाम अध्यावधि गरिरहेका छन् । जसबाट आफूले बनाएका मतदाताबाट चुनावको भोट प्राप्त गरेर संघको नेतृत्वमा पुग्ने हिसाब गरिरहेका छन् । हुन त उम्मेदवारले चुनावी अभियानका बेला गरिने पुरानै संस्कार र अभ्यासको निरन्तरता र पुनवरावृत्ति हो । विदेशमा बस्ने अधिकांश गैरआवासीय नेपाली शिक्षित वर्ग, बुद्धिजीवी, पेसाकर्मी, उद्यमी र व्यवसायीमा गैरआवासीय संघप्रति चरम वितृष्णा बढिरहेको पाइन्छ । त्यसैले पनि बेलाबखत यस्ता वितृष्णा, असन्तुष्टि र गुनासाका खबर बाहिर सुन्नमा आउँछ । जसकारण कोही पनि यसको सदस्य हुन स्वस्फूर्त तयार रहेको पाइँदैन । यस कुराको पुष्टि गैरआवासीय नेपाली संघमा भएको कुल सदस्यतालाई हेर्दा हुन्छ । गैरआवासीय संघले दाबी गरेको तथ्यांक अनुसार विश्वभरि करिब ८० लाख गैरआवासीय नेपाली बसोबास गरिरहेका छन्, जबकि संघले आफ्ना संस्थागत सदस्यको संख्या करिब एक लाख मात्र भएको उल्लेख गर्ने गरेको छ । जुन करिब कुल गैरआवासीय नेपालीको एक प्रतिशत मात्र हुन आउँछ । यो संख्या पनि सदस्यले स्वतस्फूर्त सदस्यता लिएर भएको नभई कृत्रिम रूपमा उम्मेदवारले नै आफ्नो खर्चमा आफ्नो निजी स्वार्थका लागि बनाएको सदस्यहरूको संख्या हो । तथ्याङ्क विश्लेषण गर्दा गैरआवासीय नेपाली संघमा गैरआवासीय नेपालीको चासोे, आकर्षण र भरोसा रतिभर देखिँदैन । यसो हुनुको पछाडिको कारण हो, संघले आफ्नो उद्देश्यअनुरूप गैरआवासीय नेपालीको हकहितमा काम गर्न नसक्नु र यसका क्रियाकलापले गैरआवासीय नेपालीलाई छुन नसक्नु । स्वघोषित कांग्रेस र कम्युनिस्ट गुट–उपगुटको राजनीतीकरण र यसको नेतृत्व पंक्तिले निजी तथा व्यावसायिक स्वार्थका लागि संघलाई प्रयोग गर्न खोज्नु अर्को कारण हो । आफूले पैसा खर्च गरेर निर्वाचनमा जित हासिल गरेपछि राष्ट्रिय समन्वय परिषद्को तर्पmबाट सिफारिस भएका महाधिवेशन प्रतिनिधिले पुनः संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्कोे चुनावमा केन्द्रीय तहको नेतृत्वका लागि पैसाको बार्गेनिङ गर्ने तथा संघभित्र अनावश्यक राजनीतिक हस्तक्षेपका लागि मलजल गर्ने गरेको तथ्य छर्लंगै हुन्छ । संघको अन्तर्राष्ट्रिय परिषद्को केन्द्रीय नेतृत्वका आकांक्षीले पनि राष्ट्रिय समन्वय परिषद्हरूमा आफ्नो अनुकूल नेतृत्व स्थापित गर्न पैसा र पावर खोलो बगाउने गरेका अनेकौँ दृष्टान्त छन् । अहिले संघभित्र भइरहेको विकृत अभ्यास, गैरआवासीय संघको नेतृत्वहरूमा देखिएको विवाद र विभाजनको मूल जरो यही हुनुपर्दछ । विशुद्ध सामाजिक उद्देश्यले गैरआवासीय नेपालीको हकहितको सवालमा खोलिएको गैरआवासीय नेपाली संघ ९एनआरएनए०मा यस्तो गलत अभ्यास र चरम राजनीतिक हस्तक्षेप हुनु अत्यन्तै दुखद् हो । फलस्वरूप संस्थाको नेतृत्व मूल उद्देश्यमा काम गर्न असफल भइरहेको र गैरअवासीय नेपालीको साझा अभियान र सामाजिक आन्दोलनलाई यसले कमजोर तुल्याएको छ । सायद गैरआवासीय नेपालीले बसोबास गर्दैै आएका देशमा बिरलै मात्र समस्या नभोगेका होलान्, तर गैरआवासीय नेपालीले सम्बन्धित देशमा फरक–फरक प्रकृतिका समस्यासँग जुध्दै आएका छन् । कुनै पनि देशहरूमा गैरआवासीय नेपालीले भोग्दै आएका समस्याको समाधानका लागि सम्बन्धित देशको नेपाली दूतावास र सरकारी निकायसँग आवश्यक समन्वय र पहल गरिदिने प्रमुख जिम्मेवारी गैरआवासीय नेपाली संघको हुने गर्दछ । यसका लागि सम्बन्धित देशका एनआरएनएले पर्याप्त पहल गर्नमा संघ चुकेको छ । सम्बन्धित देशका सरकारसँग एनआरएनका मुद्दामा समन्वय गर्न संघको नेतृत्व असफल भएको देखिन्छ । सम्भवतः छिटै गैरआवासीय नेपाली संघले आफनो स्थापनाकालको रजत जयन्ती मनाउने तयारी गरेको हुनुपर्दछ । कुनै पनि संस्थाको जीवनमा दुई दशकभन्दा लामो समय संस्थागत विकासका लागि पर्याप्त र परिपक्व समय हो, तर एनसीसीहरूको संस्थागत विकासको पाटो हेर्दा अधिकांश देशहरू त्यसमा पनि युरोप, अमेरिका, क्यानडा जस्ता देशमा समेत यसको आफ्नो कार्यालय भएको पाइँदैन । प्रायः देशको राष्ट्रिय समन्वय परिषद्हरूको नेतृत्व संस्थागत पूर्वाधार विकास गर्न चुकेको देखिन्छ । अन्तर्राष्ट्रिय समन्वय परिषद् पनि यस्तो अवस्था सिर्जना हुनमा धेरै हदसम्म जिम्मेवार छ । संघका केन्द्रीय तहको नेतृत्वले एनसीसीहरूको संस्थागत विकास र मार्गदर्शन गर्नमा पर्याप्त नेतृत्वदायी भूमिका खेलेको देखिँदैन । यसको अभावमा पीडित गैरआवासीय नेपालीले आफ्ना समस्या राख्ने थलो समेत नपाएको जनगुनासो नवआगन्तुक, यात्रु, विद्यार्थीलाई चाहिने आवश्यक पूर्वसूचनाहरू तथा जानकारी दिने प्रभावकारी माध्यम एनआरएनमा, नहुँदा सम्बन्धित देशमा नेपालीले दुःख भोग्नुपरेका थुप्रै उदाहरण छन् । नेपाली समाज विविधतामा आधारित समाज हो । विदेशमा पनि नेपाली कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्दै सबै जातजाति भाषाभाषीलाई एकाकार गर्ने दायित्व पनि एनआरएनको हो, तर संघले यससम्बन्धी पहलकदमी लिएको र गैरआवासीय नेपाली समुदायलाई अपनत्व दिलाएको पटक्कै आभास हुँदैन । बरु स्थानीय संस्थाले आ–आफ्नै पहलमा कला र संस्कृतिलाई संरक्षण र जर्गेना गर्न योगदान पु¥याउँदै आएका छन् । गैरआवासीय नेपाली संघले अभिभावक संस्थाको भूमिका खेल्दै विदेशमा पनि नेपाली समाजको विविधतालाई सम्मान गर्दै सम्पूर्ण गैरआवासीय नेपालीको अभियानलाई जोड्ने भूमिका खेल्नुपर्ने कुरामा अपवादबाहेक हरेक देशमा संघ करिब करिब निष्क्रियजस्तै भइरहेको देखिन्छ । अहिले गैरआवासीय संघको अन्तर्राष्ट्रिय समन्वय परिषद् संस्थागत रूपमा दुई धारमा विभाजित छ । यसरी गैरआवासीय नेपालीको साझा अभियान विभाजन हुनु किमार्थ सही हुन सक्दैन । एकतामा बल हुन्छ भन्ने उक्तिलाई तोडिदिएको छ । जसले गर्दा साझा मुद्दा कमजोर हुँदै गएको छ । विभाजनको असर विश्वभरि नै राष्ट्रिय समन्वय परिषद्हरूमा पनि परेको प्रस्ट रूपमा देख्न सकिन्छ । जसले गैरआवासीय नेपालीको सामाजिक आन्दोलनलाई कमजोर बनाएको छ । यसबाट के कुरा प्रस्ट हुन्छ भने गैरआवासीय संघभित्र गम्भीर समस्या छ । संघको एकताको विषय अहिलेको प्रमुख सवाल हो । एकताको विकल्प छैन । यद्यपि संघलाई विधानसम्मत चलाउन संघभित्र विद्यमान थुप्रै समस्यामा चिरफार गर्न अपरिहार्य छ । गैरआवासीय नेपाली संघको आसन्न ११औँ महाधिवेशन निकट भविष्यमा हुँदै छ । यो महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन विशेषगरी दुवै पक्ष लचिलो हुन आवश्यक छ । विवादको चुरो कारण पत्ता लगाई व्यक्ति केन्द्रित नभई, सवाल केन्द्रित समस्याको दीर्घकालीन समस्या खोज्नुपर्दछ । संस्थालाई विधिसम्मत चलाउने र राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने पहिलो सर्त हुनुपर्दछ । गैरआवासीय संघले संस्था प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि विकसित देशहरूले अनुशरण गरेका असल अभ्यासलाई संस्थागत रूपमा लागू गरेर एउटा रोलमोडल संस्थाका रूपमा स्थापित गन जरुरी छ, न कि नेपालमा संस्थागत सुशासनको मूल्य–मान्यता विपरीत राजनीतिक दलहरूबाट अवलम्बन गरिएका गलत अभ्यास एनआरएनभित्र लाद्ने प्रयासहरू कुनै पनि हालतमा गर्नु गलत र निन्दनीय हुन्छ । एनआरएनको एकताको सवाललाई अगाडि बढाउँदै गर्दा तलदेखि माथिसम्म सुधार गरेर जानुपर्ने सवालहरूको दीर्घकालीन समाधानको उपायको खोजी गरेर निष्कर्षमा पुग्न जरुरी छ । गैरआवासीय संघका संस्थापक, पूर्वनेतृत्व, संरक्षक, सल्लाहकारहरूले अब गैरअवासीय नेपाली संघलाई एकाकार बनाउन तथा संस्थाभित्रका विकृति विसंगतिलाई सम्बोधन गरी सांगठनिक रूपले बलियो एनआरएन बनाउन अभिभावकीय भूमिका खेल्न जरुरी छ । गैरआवासीय संघको एकताको सवाललाई निष्कर्षमा पु¥याउन निष्पक्ष रूपमा तेस्रो मध्यस्थकर्ता आवश्यक भएमा पनि एनआरएनएका दुवै पक्षका नेतृत्व उदार हुन आवश्यक छ । एउटा बलियो र सशक्त एनआरएनएबाट मात्र समग्र गैरआवासीय नेपालीको हित र मातृभुमिको विकास र समृद्धिमा टेवा पु¥याउन सकिन्छ । (लेखक ग्लोबल एनआरएनए क्यानडाका उपाध्यक्ष तथा गैरआवासीय नेपाली सामाजिक अभियन्ता हुन् ।) रातोपाटीबाट साभार
Tags: