छत्रपाटी निःशुल्क चिकित्सालयलाई मोडुलर ओटीसहितको देशकै अत्याधुनिक अस्पताल बनाइने

Image
काठमाडौं । छत्रपाटी निःशुल्क चिकित्सालयका नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । डा. मनोजमान श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन भएको थियो । दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएसँगै डा. श्रेष्ठले छत्रपाटी निःशुल्क चिकित्सालयलाई देशकै अत्याधुनिक र मोडुलर ओटीसहितको सुविधा सम्पन्न अस्पताल बनाउने घोषणा गरेका छन् । अस्पालको उपाध्यक्षमा कुमारदेव मानन्धर, महासचिवमा कृष्टिना श्रेष्ठ, सचिवमा जगदिश माली, कोषाध्यक्षमा लहना श्रेष्ठ, सह–कोषाध्यक्षमा कृष्ण प्रसाद मानन्धर र सदस्यहरुमा निरन महर्जन, सुमनकृष्ण श्रेष्ठ, जुजुकाजी महर्जन, सुरज श्रेष्ठ र डिएलचन्द्र मानन्धर निर्विरोध निर्वाचित भएका छन् । नव निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई शनिवार प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं महानगरपालिका वडा नं १७ का अध्यक्ष नविन मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्वाचन समितिद्धारा निर्विरोध घोषणा गरिएका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरेको छ । २०१३ सालमा स्थापना भएयता छत्रपाटी निःशुल्क चिकित्सालयमा निर्विरोध कार्य समिति चयन भएको यो पहिलो पटक हो । प्रमाणपत्र वितरण कार्यक्रमपछि सम्बोधन गर्दै काठमाडौं महानगरपालिकाका प्रबक्ता तथा १७ नं वडा अध्यक्ष मानन्धरले छत्रपाटी निःशुल्क चिकित्सालय आगामी दिनमा राष्ट्रिय अस्पतालको रुपमा परिचय बनाउने बताउँदै अस्पतालले पुर्याउँदै आएको गुणस्तरीय स्वास्थ सेवाबाट शहरी क्षेत्रका जनताले राम्रो लाभ पाएको बताए । नव निर्वाचित अध्यक्ष डा. श्रेष्ठले छत्रपाटी निःशुल्क चिकित्सालय अब नेपालकै अत्याधुनिक अस्पताल बन्ने अभियानमा रहेको बताए । अध्यक्ष डा. श्रेष्ठले नयाँ बन्दै गरेको माउबद्री भवनमा अत्याधुनिक मोडुलर अप्रेशन थ्रिएटरसहितको अस्पताल निर्माण भइरहेको बताए । हालको पुरानो भवनलाई गणेशमान सिंह भवनको रुपमा नयाँ भवन बनाएर छत्रपाटी अस्पताल देशकै गौरव योग्य बनाएरै छोड्ने प्रतिबद्धता जनाएका छन् । नव निर्वाचित उपाध्यक्ष कुमारदेव मानन्धरले गरिब, असहाय जनतालाई निःशुल्क उपचार गर्ने परिचय बनाएको अस्पतालले आगामी दिनमा सुविधा सम्पन्न स्वास्थ्य संस्थामा उपचार गर्न वडाबासी तथा अन्य नागरिकले पाउने बताए ।
Tags: