निर्माण उद्योगका समस्या समाधान गरिदिन ऊर्जामन्त्रीसँग व्यवसायीको माग

Image
काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटी निर्माण उद्योगको विद्यमान समस्या र समाधानका उपायबारे अवगत गराएको छ । महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री बस्नेत समक्ष निर्माण उद्योगको समस्या समाधान गरिदिन आग्रह समेत गरेको थियो । महासंघका अध्यक्ष सिंहले व्यवसायीले राज्यबाट पाउनुपर्ने अर्बौं रुपैयाँ भुक्तान भएमा अर्थतन्त्र चलायमान भई राज्यलाई नै फाइदा पुग्ने बताएका थिए । भुक्तानी अभाव, नदी तथा खानीजन्य सामग्रीको उत्खनन्मा भएको अवरोध, निर्वाचन लगायतले समयमै निर्माण हुन नसकेको भन्दै उनले सबै आयोजनाको म्याद २०८१ असार मसान्तसम्म थप गर्न सझाए । उनले मूल्य समायोजनसहित सार्वजनिक खरीद ऐनअनुसार बीस प्रतिशत मोबिलाइजेशन पेश्की पाउनुपर्ने माग मन्त्री बस्नेत समक्ष राखेका थिए । महासंघका मुख्य मागलाई सार्वजनिक खरीद नियमावलीको १३औंं संशोधनमार्फत सम्बोधन गरिदिन अध्यक्ष सिंहले आग्रह गरे । जवाफमा मन्त्री बस्नेतले महासंघले उठान गरेका विषय समय सान्दर्भिक रहेको बताए । उनले निर्माण व्यवसायीका समस्या क्रमशः समाधान हुँदै जाने प्रतिबद्धता पनि व्यक्त गरेका थिए । भेटमा महासंघका महासचिव रोशन दाहाल र कार्यालय प्रमुख प्रेमसिंह ऐर समेत सहभागी थिए ।
Tags: