सात हजार लिटर खानेपानी निःशुल्क र एक लाख बराबरको छोरी बिमा

Image
चितवन– भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकी छन्। महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र एक लाख बराबरको छोरी बिमा कार्यक्रमको निर्णय गरिएको छ। पहिलोपटक प्रमुख हुँदा उनले भरतपुर अस्पतालमा उपचारका लागि आउने महिला र ज्येष्ठ नागरिकका लागि बहिरङ्ग सेवा टिकट निःशुल्कको निर्णय गरेकी थिइन्। दाहालले यो निर्णयले महानगरवासी लाभान्वित हुने बताईन्। महानगरभित्रका झण्डै ५२ प्रतिशत जनताले आजैदेखि निःशुल्क खानेपानी पाउने भएका छन्। यसका लागि वार्षिक दुई करोड ५० लाख हाराहारी खर्च हुने महानगरको अनुमान छ। महानगरभित्र खानेपानी व्यवस्थापन बोर्ड र उपभोक्ता समितिमार्फत खानेपानी वितरण गरिँदै आएको छ। बोर्डका ३५ ग्राहक हजार छन्। बोर्डका प्रमुख प्रजापति दाहालका अनुसार २५ भन्दा बढी उपभोक्ता समितिमार्फत महानगरमा खानेपानी वितरण गरिँदै आएको छ। महानगरका ९० प्रतिशत जनताले सरकारी निकायबाट वितरण गरिएको स्वच्छ खानेपानी उपभोग गर्दै आएका छन्। पदभार ग्रहणसँगै दाहालले महानगरवासीले आफ्नो अघिल्लो कार्यकालका कामलाई अनुमोदन गरेको भन्दै पहिलो प्राथामिकतामा अधुरा काम रहेको बताइन्। उनले भनिन्, 'भरतपुर महानगरपालिकालाई देशका अन्य पालिकाले सिको गर्ने बनाउँछौं।' महानगरवासीलाई निरास हुन नदिने भन्दै उनले सबैको राय–सुझाव लिएर काम गर्ने बताइन्। महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले महानगरवासीका आवश्यकता आफूहरूले बुझेको उल्लेख गर्दै सोहीअनुरुपका योजना अघि बढाइने बताए। उनले भने, 'अबको पाँच वर्षमा भरतपुरलाई देशकै सुन्दर सहर बनाइने छ।' रासस
Tags: