डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ

Image
काठमाडौं–डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपालको अध्यक्षमा सुयोग श्रेष्ठ निर्वाचित भएका छन् । सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका श्रेष्ठ एशोसिएशनको अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् । एशोसियशनका अन्य पदाधिकारी पनि सर्वसम्मतिमा चुनिएको बताइएको छ । एशोसियसनको शुक्रवार चितवनमा सम्पन्न १७औं वार्षिक साधारणसभाले अध्यक्षमा श्रेष्ठसहित उपाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, सचिवमा सिन्धु बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी र कोषाध्यक्षमा लुम्विनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा निर्वाचित भएका छन् । त्यस्तै सदस्यमा साइन रेसुंगा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, र एक्सल डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत डा.इन्द्र कट्टेल चुनिएका छन् । नवनियुक्त कार्य समितिका पदाधिकारीहरुको सपथ ग्रहण समेत सम्पन्न भएको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष प्रद्युमन पोखरेलले कोभिड १९, रुस युक्रेन युद्घ, बढ्दो मुद्रास्फिति लगाएतका कारणले अहिले बैंकिङ् क्षेत्रलाई निकै नै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको बताए । तथापि, सबै सदस्य बैंकहरुलाई जोखिम व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन र ग्राहक सेवालाई अझ चुस्त बनाउन अनुरोध गरे । नवनिर्वाचित अध्यक्ष सुयोग श्रेष्ठले आफुलाई अध्यक्ष पदमा निर्वाचित गर्नु भएको धन्यवाद ज्ञापन गर्दै सबैको सहयोगबाट बिकास बैंकहरुको हक र हितका लागि कार्य गर्न लागि पर्ने प्रतिबद्धता जनाए । ९० वटा विकास बैंक घटेर १७ मा आइपुग्दा पनि बजार हिस्साका हिसाबले पहिले जति नै कायम राख्नु सक्नु आजका विकास बैंकको उपलब्धि भएको उनको भनाइ छ ।  
Tags: