तलब भत्ता गरिब परिवारलाई खर्चिने ३२ वर्षे नगरप्रमुखको प्रतिवद्धता

मुगु –मुगुको छायाँनाथ रारा नगरपालिकाका नवनिर्वाचित प्रमुख विष्णु कुमार भामले आफूले सरकारी कोषबाट पाउने तलब, भत्ता सबै निम्न आय भएका गरिब परिवारका सदस्यलाई विभिन्न कार्यक्रम मार्फत खर्च गर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसबाट नगर प्रमुखको रुपमा निर्वाचित हुनुभएका कर्णाली कै कान्छा नगरप्रमुख ३२ वर्षीय भामले भ्रखर सम्पन्न स्थानीय तहको निर्वाचनमा ४ हजार ५९९ मत प्राप्त गरी विजयी हुनुभएको थियो ।
२०७४ को स्थानीय निर्वाचनमा भाम छायाँनाथ रारा नगरपालिका वडा नं ४ भामवाडा गाउँ बाट वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँले वडा अध्यक्ष को कार्यकालमा समेत आफ्नो तलब भत्ताबाट सामाजिक काम गर्नुभएको थियो ।
नगरप्रमुखमा निर्वाचित भएपछि भामले आफ्नो ५ बर्ष कार्यकालको योजना तयारी गरेको बताउनुभएको छ । गमगढी बजारमा आउँजाउ गर्न सहजका लागि कालोपत्रे गर्ने, गाउँ घरका कृषकको उत्पादनमा प्रवद्वन गर्नका लागि कृषि बजारीकरण मा समन्वय गरि बजारी करणको व्याबस्था गर्ने र गरिबी न्युनिकरण गर्नलाई गरिबसँग नगर प्रमुख रोजगार कार्यक्रम बाट आत्म निर्भर कार्यक्रम संचालन गरि रोजगारमा टेवा पुराउने योजना रहेको उहाँको भनाइ छ ।
छायाँनाथ रारा नगरपालिकालाई समृद्ध नगरको रूपमा विकास गर्न लागि पर्ने प्रतिबद्धता जनाउँदै उहाँले नगरका सबै बस्तीमा सडक संजालले छोएको हुँदा नगर बसको व्यवस्थापन गर्ने प्रतिवद्वता जनाउनुभयो ।
“सबै पक्षको साथ र सहयोगमा नयाँ नेतृत्व अघि बढ्नेछ,” प्रमुख भामले भन्नुभयो,– “योजनाबद्ध विकास गरि छायाँनाथ रारा नगरलाई नमुना योग्य बनाउँने छौँ ।