इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ माघ १४ देखि

Image
काठमाडौं–कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा आउदो माघ २४ देखि २९ सम्म भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २८औँ संस्करणको क्यान इन्फोटेक मेला गर्ने भएको छ ।सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी र यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माण तथा सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले मेला आयोजना गर्न लागेको आयोजकले जनाएको छ । बिहीबार पत्रकार भेटघाटको आयोजना गरी मुलुककै ठूलो सूचना प्रविधिसम्बन्धी प्रदर्शनी क्यान इन्फोटेक २०२३ को तयारी अन्तिम चरणमा पुगेको महासंघका अध्यक्ष रणजीत पोदारले बताए । ‘क्यान इन्फोटेकमा सूचना सञ्चार प्रविधि क्षेत्रका भित्रिएका नवीनतम प्रविधि तथा सेवाको विशेष प्रदर्शनी तथा सरोकारवालाहरुबीच गहन छलफल हुनेछ,’ उनले भने । २८औँ क्यान इन्फोटेकको टाइटल स्पोन्सरमा इन्फोडेभलपर्स प्रालि र एसोसिएट स्पोन्सरमा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) रहेका छन् । प्पत्रकार सम्मेलनमा बोल्दै इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशीले नेपालको सफ्टवेयर उद्योगलाई चिनाउन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न क्यान इन्फोटेकमा शीर्ष प्रायोजन गरिएको भनाइ राखे । ‘क्यान मेलालाई यसअघि हार्डवेयर क्षेत्रले बढी प्रतिनिधित्व गर्थ्यो ,’ उनले भने, ‘स्वदेशकै सफ्टवेयर र सोलुसन्सको बजार निर्माण गर्न यसबाट सहयोग पुग्ने विश्वास लिएका छौं ।’ क्यान इन्फोटेकको अवलोकनका लागि सर्वासाधारणलाई रु १०० र विद्यार्थीलाई रु ५० शुल्क निर्धारण गरिएको छ । इन्फोटेकको टिकेटिङ पार्टनर पेवेलको मोबाइल एप डाउनलोड गरी एपबाटै रु। २५ मा टिकेट खरिद गर्न सकिने व्यवस्था ल्याइएको छ । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने छ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् । आयोजकले राजधानीमा माघ २४ देखि ६ दिनसम्म देशकै ठूलो सूचना प्रविधि प्रदर्शनीको समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला हुने जानकारी गराएको छ । यसअन्तर्गत मधेश प्रदेशमा फागुन ५ देखि फागुन ९ गतेसम्म, सुदूरपश्चिम प्रदेशमा फागुन १३ देखि फागुन १७ गतेसम्म, गण्डकी प्रदेशमा फागुन २६ देखि फागुन ३० गतेसम्म र बागमती प्रदेशमा चैत २ देखि चैत ६ गतेसम्म क्यान इन्फोटेक हुनेछ । प्रदेश १, कर्णाली र लुम्बिनी प्रदेशमा पनि चाँडै नै क्यान इन्फोटेकको आयोजना मिति घोषणा हुने जनाएको छ ।  
Tags: