नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी

Image
काठमाडौं–प्रधान सेनापति प्रभुराम शर्माले सेना दिवस २०७९ को अवसरमा आयोजित नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी को जंगी अड्डामा आयोजित विशेष समारोहका बीच शुक्रबार समुद्घाटन गरेकाछन् । नेपाली सेनाः इतिहासदेखि वर्तमानसम्म थिम रहेको उक्त प्रदर्शनी मिति २०७९ माघ ०६ गतेदेखि ०९ गतेसम्म जंगी अड्डा परिसरमा संचालन हुनेछ । नेपाली सेनाको गौरवमय इतिहास तथा वर्तमानमा नेपाली सेनाले गरेका उल्लेखनीय कार्यहरु, ऐतिहासिक हातहतियार तथा उपकरणहरु, सैनिक पोशाक, सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरु लगायतको विविध सामाग्री तथा फोटोहरु उक्त प्रदर्शनीमा समावेश गरिएको नेपाली सेनाले जनाएको छ । आम नागरिकलाई नेपाली सेनाको विविध गतिविधिहरु नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरुलाई सहज होस् भन्ने हेतुले नेपाली सेनाका विभिन्न गतिविधिहरुको छुट्टाछुट्टै स्टल बनाई जानकारी गराउने व्यवस्था मिलाईएको नेपाली सेनाले विज्ञप्ति मार्फत जनाएको छ । प्रदर्शनीको समुद्घाटन कार्यक्रममा प्रधान सेनापति महारथी शर्माले नेपाली सेना फोटो प्रतियोगिता २०७९ का विजेताहरु (गैर सैनिक, सैनिक) लाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । समारोहमा नेपाली सेनाका पूर्व प्रधान सेनापतिहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु, इतिहासविद्, नेपाल स्थित विभिन्न राजदूतावासका सैनिक सहचारीहरु, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु लगायत संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
Tags: