नवजीवन सहकारीलाई ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार २०७९’ प्रदान

Image
काठमाडौं – कैलालीको धनगढीमा रहेको नवजीवन सहकारी संस्थालाई ‘कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार २०७९’ प्रदान गरिएको छ । सहकारीको माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याए वापत २०७९ सालको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार नवजीवन सहकारी संस्थालाई प्रदान गरिएको हो । नवजीवन सहकारीले प्राप्त गरेको उक्त पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ । कमलमणि स्मृति साझा सेवा सहकारीको ३८ औं साधारण सभाको अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नवजीवन सहकारीका अध्यक्ष देब बहादुर बमलाई नगदसहित सम्मानपत्र हस्तान्तरण गरेका हुन् । सहकारीको माध्यमबाट सुदूरपश्चिम लगायत राष्ट्रिय अर्थतन्त्रमा समेत योगादन गरेवापत नवजीजन सहकारी संस्थालाई नगद पुरस्कार सहित सम्मान गरेको नवजीवन सहकारी संस्थाका अध्यक्ष बमले बताए । सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघको सिफारिसमा उक्त पुरस्कार नवजीवनले प्राप्त गरेको उनको भनाइ छ । अब अन्तर्राष्ट्रिय स्तरमा जानको लागि समेत बाटो खुला भएको अध्यक्ष बमले बताए । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले साझा सेवाले पुरस्कारको माध्यमबाट सहकारीको प्रवद्र्धनमा ठूलो भूमिका निर्वाह गरेको बताए । साथै उक्त पुरस्कारले सहकारीहरुको उत्थान र विकासमा थप टेवा पुग्ने समेत उनको भनाइ छ । कमलमणि स्मृति साझा सेवा सहकारी संस्थाले वि.सं.२०७५ सालदेखि सहकारीका माध्यमबाट अर्थतन्त्रमा योगादन पुर्याए वापत सहकारी संस्थाहरुलाई पुरस्कार प्रदान गर्दै आएको संस्थाका अध्यक्ष शङ्करप्रसाद पाण्डे जानकारी दिए । स्व. कमलमणि दीक्षितले संस्थाका लागि गरेको योगदानमा उक्त पुरस्कारको स्थापना गरिएको हो । नवजीवन सहकारी संस्थाको चुक्ता पूँजी ६ अर्ब ७० करोड रुपैयाँ रहेको छ । सहकारीले सुदूरश्चिम र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा १० वटा शाखा कार्यालय मार्फत् सेवा प्रदान गरिरहेको छ । उक्त सहकारी संस्थामा ३१ हजार भन्दा बढी ग्राहक सदस्य रहेका छन् । सहकारीले काठमाडौंमा पनि शाखा कार्यालय सञ्चालन गर्न अनुमति प्राप्त गरिसकेको छ । ६ महिनाभित्र काठमाडौंमा पनि शाखा विस्तार गर्ने अध्यक्ष बमले जानकारी दिए ।
Tags: