पोखरा सडक महोत्सव हुँदै

Image
काठमाडौं– अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसर पारेर पुस १३ देखि १७ सम्म पोखरामा ‘२४औँ पोखरा सडक महोत्सव’ आयोजना हुने भएको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ रेस्टुराँ एण्ड बार एशोसियशन (रेवान) पोखराको आयोजनामा पाँचदिने महोत्सव हुन लागेको हो । रेवान पोखराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि पोखराको लेकसाइडस्थित तीन किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए। महोत्सव फिस्टेल गेटदेखि खहरे चोक हुँदै जरेवर लेकसाइडसम्म हुनेछ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटररेसलगायतका कार्यक्रम हुनेछन् । मुलुकको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्राआर्जन, रोजगारी सिर्जना, समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुर्‍याउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । पोखरा र गण्डकी प्रदेशभित्रको लुकेको संस्कृतिलाई सडक महोत्सवमार्फत् उजागर गर्न खोजिएको रेवान पोखराका पूर्व अध्यक्ष एवं पोखरा पर्यटन परिषद्को पूर्व अध्यक्ष गोपी भट्टराईले बताए। सडक महोत्सवमा पाँच लाख दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ भने महोत्सव आयोजनामा रु ७० लाख खर्च हुने उनको भनाइ छ । महोत्सवमा सङ्घीय राजधानी काठमाडौँसहित चितवन, बीरगञ्ज, विराटनगर, नेपालगञ्जलगायतका स्थानबाट आन्तरिक पर्यटकको सहभागिता रहने आयोजकले विश्वास लिएको छ । रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले निजी क्षेत्रले गरेको सबैभन्दा ठूलो सडक महोत्सव भएकाले यसलाई सफल बनाउन सबै क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । रेवान पोखरा अध्यक्ष भट्टराईले पोखराका होटलले दैनिक ४० हजार पर्यटकलाई सेवा दिन सक्ने बताए । नेपाल आउने कूल पर्यटकमध्ये ४० प्रतिशत पोखरा घुम्न जाने उनको भनाइ छ । साथै महोत्सवको अवसरमा होटलहरुले रुममा २० प्रतिशत छुट दिइएको उनले जानकारी दिए । महोत्सवमा सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको उनले बताए । “आयोजकका तर्फबाट दुई वटा निजी कम्पनीलाई सुरक्षाको जिम्मेवारी दिएका छौं”, उनले भने, “त्यसबाहेक सरकारले पनि विगतमा जस्तै सुरक्षा प्रदान गर्नेछ ।” उनले पार्किङका लागि पनि पर्यटन बसपार्क, शहीद चोकलगायतका स्थानमा व्यवस्था गरिएको उनले बताए । महोत्सवमा बसुन्धारा पार्कभित्र १६ वटा स्टल र बाहिर सडकमा निःशुल्क एक सयभन्दा बढी स्टल रहने उहाँले जानकार दिनुभयो । उहाँले नेपाल पर्यटन बोर्डको सहकार्यमा बाँकी छ वटै प्रदेशबाट पनि महोत्सवमा सहभागिता रहने बताए ।
Tags: