गाउँपालिका र विद्यालयबीच करार सम्झौता

Image
दाङ– राप्ती गाउँपालिकाले विद्यालयको गुणस्तर सुधार गर्न विद्यालयसँग करार सम्झौता गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षालाई स्थायित्व गर्नका लागि सबै विद्यालयका प्रधानाध्यापकसँग कार्य सम्पादन करार सम्झौता गरेको जानकारी दिए । “हामी शिक्षा क्षेत्रमा आमूल परिवर्तन चाहान्छौँ, सामुदायिक विद्यालयप्रति अभिभावकको घट्दो विश्वासलाई आत्मसात् गर्दै सामुदायिक विद्यालयमा पनि गुणस्तरीय पढाइ हुन्छ भनेर स–प्रमाण नतिजा देखाउन चाहान्छौँ”, उनले भने । विभिन्न सूचकका आधारमा ती विद्यालयले पठनपाठन गराउनु पर्नेछ र त्यही आधारमा प्रधानाध्यापक तथा अन्य शिक्षकको मूल्याङ्कन हुने अध्यक्ष विष्टको भनाइ छ । शिक्षक सेवा आयोगबाट नियुक्ति भएर आएकाबाहेक खाली भएका विद्यालयमा शिक्षक व्यवस्थापन भएको छ । त्यस्तै भौतिक पूर्वाधार, सूचना प्रविधि, शिक्षकहरुको क्षमता विकासका लागि तालिम, विभिन्न जिल्लामा अब्बल रहेका विद्यालयको निरन्तर अवलोकन गराउँदै आएको छ । राप्ती गाउँपालिकाले यस आर्थिक वर्षदेखि कक्षा १० सम्म निःशुल्क भर्ना गर्ने अभियान नै सञ्चालन गरेको छ । यो चालू आर्थिक वर्षमा मात्र करिब एक हजार आठ सय विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुन आएको पालिकामा तथ्याङ्क भएको शिक्षा अधिकृत विश्वास विश्वकर्माले जानकारी दिए । विपन्न वर्गका विद्यार्थीलाई सङ्घीय सरकारबाट प्राप्त हुने सुविधाबाहेक पालिका तहबाट पनि एक वर्षभरि पुग्ने स्टेसनरीका सामग्री प्रदान गर्दै आएको अधिकृत विश्वकर्माले बताए । गाउँपालिकामा माध्यमिक तहका विद्यालय सात, आधारभूत तहका विद्यालय आठ र प्राथमिकतर्फ १६ सामुदायिक विद्यालय रहेका छन् । बालबालिकाको पठनपाठनमा कुनै कमी नहोस्, शिक्षकको अभाव नहोस् भनेर गाउँपालिकाका तर्फबाट सेवा सुविधा दिने गरी ६५ शिक्षक करारमा पदपूर्ति गरिएको थियो । त्यो सङ्ख्याले अपुग भएपछि पालिकाले पुनः ५० शिक्षकलाई करारमा नियुक्ति गरी पठनपाठन गराइरहेको पालिकाले जनाएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि गरेको प्रयास अत्यन्तै सराहनीय भएको ज्ञानोदय मावि पत्थरगढवाका प्रधानाध्यापक इन्द्रदेव चौधरीले बताए। पालिकाले करारमा पठाएका शिक्षकहरुमा मैले केही नयाँ प्रविधि तरिकाले पठनपाठन गराउन खोज्ने जोसजाँगर भएका पाएको छु”, उनले भने । इन्टरनेट, स्मार्ट बोर्ड, ई–लाइब्रेरी र प्रयोगशालाको पहुँच हुन थालेपछि निजी विद्यालयका विद्यार्थीहरु सामुदायिक विद्यालयतर्फ आकर्षित हुन थालेको प्रअ चौधरीको भनाइ रहेको छ ।
Tags: